दशैंको दक्षिणाले बीमा

Share News
पछिल्लो समय बीमाको महत्त्व बढ्दै गएको छ । नयाँ र आधुनिक बीमा पोलिसीहरूले बीमितको सुरक्षणसँगै विविध पक्षमा फाइदा पुर्‍याएको समेत देखिन्छ । तर, आम नेपाली अझै पनि बीमाको दायरामा आउन सकेका छैनन् । करीब ७१ वर्षको इतिहास बोकेको नेपालको बीमाबजारमा हाल १८ जीवन र २० निर्जीवन गरेर ३८ ओटा बीमा कम्पनी सञ्चालनमा छन् । तर, बीमाको पहुँच भने ११ प्रतिशतमा मात्रै सीमित छ । कम्पनीप्रतिको अविश्वास, बीमा बजारकै विविध कमजोरी, गरीबी र बीमा साक्षरताको अभावलगायत कारण मानिस यसको दायरामा आउन सकेका छैनन् । इच्छा हुँदा–हुँदै पनि मानिसहरू यी कारणले बीमासँग जोडिन नसकेको देखिन्छ । यद्यपि, पैसाकै कारण बीमा सेवाबाट वञ्चित हुनुपर्ने अवस्था भने नभएको विज्ञहरू बताउँछन् । हिन्दू परम्पराबाट अभिप्रेरित नेपाली समाजमा दशैंलाई विशेष रूपमा मनाइँदै आएको पाइन्छ । दशैंमा ठूलाबडाको हातबाट टीका लगाएर आशिष लिने प्रचलन पुर्खाैंदेखि चलिआएको छ । साथै, पछिल्लो समय टीका लगाएर दक्षिणा (पैसा) दिने परिपाटीको पनि विकास भएको पाइन्छ, जसअनुसार सीमित वर्ग/समुदायबाहेकका बालबालिकाले दशैंमा उच्च परिमाणमा दक्षिणा सङ्कलन गर्छन् । केही विद्यालयमा गरिएको सर्वेक्षणले एक बच्चाले दशैंमा करीब ५ हजार दक्षिणा सङ्कलन गर्ने देखाएको छ । तर, यसरी अतिरिक्त रूपमा आउने पैसा अनावश्यक क्षेत्रमा खर्च भइरहेको देखिन्छ । शिक्षित परिवारका अभिभावक भने दशैंमा आफ्ना बालबालिकाले पाउने रकम बैङ्कमा जम्मा गरिदिन्छन् । यसै सन्दर्भमा आर्थिक अभियानसँग कुरा गर्दै बीमाविज्ञ तथा अभिकर्ताले दशैंमा दक्षिणामार्फत जम्मा हुने बालबालिकाको रकमले उनीहरूको शैक्षिक बीमा गर्न जोड दिएका छन् । यसरी बीमा गर्दा प्रत्येक दशैंमा दक्षिणामार्फत जम्मा हुने रकमले बीमाशुल्क भुक्तानीमा पनि सहज हुने अभिकर्ताहरूको भनाइ छ । साथै, दक्षिणाबापत आउने पैसा बैङ्कमा जम्मा गर्नुभन्दा बीमा गरेर उज्ज्वल भविष्यको ग्यारेण्टी गर्न विज्ञहरूले सुझाएका छन् ।१५ वर्षे बीमा अवधिमा रू. ६ देखि ७ हजारसम्म वार्षिक बीमाशुल्क बुझाउँदा रू. १ लाख बीमाङ्कबराबरको बीमा गर्न सकिन्छ । उक्त बीमाको समयावधि सकिएपछि बोनससहित करीब रू. २ लाख रकम कम्पनीले बीमितलाई प्रदान गर्छ । उक्त रकमले उच्च शिक्षालगायत आधारभूत आवश्यकता परिपूर्तिमा सघाउने शिक्षाविद्हरू बताउँछन् ।
दशैं र जन्मदिनमा उठ्ने दक्षिणाले बालबालिकाको बीमा गरौं भोजराज शर्मा, बीमाविज्ञसामान्यतया १५/१६ वर्षको उमेरपछि उच्च शिक्षा शुरू गर्ने समय आउँछ । त्यो अवस्थामा विविध कारणवश अभिभावकसँग पढाउने खर्च नहुन सक्छ । यसले गर्दा पैसा अभावकै कारण उनीहरू शिक्षाबाटै वञ्चित हुनुपर्ने अवस्था पनि निम्तन सक्छ । त्यसैले, भविष्यमा हुन सक्ने त्यस्ता जोखीम घटाउन अभिभावकले बच्चाको शैक्षिक बीमा गरिदिनुपर्छ । उक्त अवस्थामा बीमाअवधि समाप्ति भइसक्ने हुनाले बीमालेखअनुसार आउने रकमले निजलाई कलेज भर्ना, पाठ्यपुस्तक खरीद आदिमा टेवा पुग्छ । यसबाट अभिभावकलाई आर्थिक सङ्कट पनि पर्दैन । त्यसैले, यस्ता विषयलाई दृष्टिगत गरेर अभिभावकले आफ्नो दक्षताअनुसार बालबालिकाको शैक्षिक बीमा गर्नुपर्छ । दशैं र जन्मदिन जस्ता उत्सवमा दक्षिणाबापत जम्मा हुने बालबालिकाको रकमले निजको शैक्षिक बीमा गर्न सकिन्छ । यसरी अतिरिक्त रूपमा आउने पैसाले उनीहरूको बीमा गर्दा अभिभावकलाई पैसा कहाँबाट जुटाउने भनेर सोच्नुपर्दैन ।बच्चाको उज्ज्वल भविष्यका लागि शैक्षिक बीमा गरौं ऋषिकेश पोखरेल, बीमा अभिकर्ता (एलआईसी नेपाल)गाउँमा उच्च शिक्षाको पहुँच नहुँदा शहर बस्नुपर्ने बाध्यता छ । कुनै पनि विद्यार्थीलाई उच्च शैक्षिक शुल्क जस्ता कारणले उच्च शिक्षा हासिल गर्न आर्थिक समस्या हुने सम्भावना छ । उक्त अवस्थामा आर्थिक समस्या हुँदा निजको भविष्य नै जोखीममा पर्न सक्छ । साथै, त्यो अवस्थामा बैङ्कबाट कर्जा लिएर अध्ययन गर्दा पनि अस्थिर ब्याजदरका कारण परिवारलाई थप समस्या हुन सक्छ । भविष्यमा हुन सक्ने त्यस्ता समस्याबाट बच्न बच्चाहरूको शैक्षिक बीमा गर्नु उत्तम विकल्प हुन सक्छ । बीमा अवधिको समाप्तिपछि प्राप्त हुने बीमाङ्क र बोनस रकमका कारण निजलाई उच्च शिक्षा हासिल गर्न सघाउ पुग्छ । त्यसैले, चाडपर्वको बेलामा बालबालिकाले पाउने दक्षिणा रकममा आवश्यक रकम थपेर उनीहरूको शैक्षिक बीमा गरि अनावश्यक खर्च कटौती गरौं ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।