प्लाष्टिक प्रयोगमा सचेत हुनुपर्छ

Share News
प्लाष्ट नेपाल फाउण्डेशनले आयोजना गरेको दोस्रो प्लाष्ट एक्स्पोको सफलताका लागि शुभकामना व्यक्त गर्दछु । पछिल्लो समय प्लाष्टिकले वातावरणमा नकारात्मक असर पारेको छ । त्यसैले पनि हामीले प्लाष्टिकको प्रयोग जतिसक्दो कम गर्नुपर्छ । वन तथा वातावरण मन्त्रालयले अहिले यो वर्ष ‘नेपाल स्वच्छ वातावरण अभियान’ सञ्चालन गरिरहेको छ । यसमा मुख्यगरी फोहोरमैला व्यवस्थापन, प्रदूषण नियन्त्रण, हरियाली प्रवर्द्धन र जनचेतना कार्यक्रम प्राथमिकताका साथ अघि बढाइएको छ । फोहोरमैला व्यवस्थापन र प्रदूषण नियन्त्रणअन्तर्गत प्लाष्टिक तथा यसबाट हुने प्रदूषण नियन्त्रणका काम सञ्चालन गरिनेछ । यसका लागि प्लाष्टिक प्रयोगसम्बन्धी जनचेतना फैलाउनेदेखि कानूनी व्यवस्था सच्याउने वा मापदण्ड बनाउनेलगायत सबै काम हुनेछन् । कानूनी, नीतिगत वा प्रक्रियागत सबै काम हुन्छन् । यसले उद्योगी व्यवसायीमा अवश्य पनि सकारात्मक असर पुर्‍याउने आशा छ । प्लाष्टिकको एउटै सामान कसरी पुनः प्रयोग गर्न सकिन्छ भन्नेतर्फ सबैले सोच्नुपर्छ । त्यस्तै, एकजनाले एक पटकका लागि मात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिकमा जति सक्दो कमी ल्याउनैपर्छ । यसले प्रदूषण नियन्त्रणमा निकै ठूलो सघाउ पु¥याउँछ । सरकारले पनि अहिले मात्रै प्लाष्टिकका ४० माइक्रोनभन्दा कमका पोलिथिन ब्यागमा प्रतिबन्ध लगाएको हो । अन्य वस्तुमा कुनै प्रतिबन्ध लगाएको छैन । हामीले दैनिक जीवनमा प्रयोग गर्ने सबैजसो वस्तुमा प्लाष्टिक नै हुन्छ । त्यसैले पनि प्रतिबन्धको कुरा अहिले नै सम्भव छैन । यद्यपि, प्लाष्टिकले वातावरणमा नकारात्मक असर पार्ने कुरामा द्विमत छैन । त्यसो हुँदा सबै सरकारी, निजी तथा अन्य सरोकारवाला निकाय मिलेर यसको विकल्प खोज्नु आवश्यक छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।