प्लाष्टिक रिसाइक्लिङ उद्योग तथा नीति आवश्यक छ

Share News
प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा दोस्रो अन्तरराष्ट्रिय प्लाष्ट एक्स्पो २०१८ शुक्रवारदेखि भृकुटीमण्डपमा जारी छ । प्लाष्टिक उत्पादन, यसको पुनः प्रयोग, उपयोगिता आदिबारे जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको संस्थाले बताएको छ । यसै सन्दर्भमा हाल मुलुकमा प्लाष्टिक व्यवसायको अवस्था, उद्योगको सङ्ख्या, यस क्षेत्रका समस्या एवम् चुनौतीलगायत विषयमा प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष शरदकुमार टिवरेवालासँग आर्थिक अभियानका कृष्णा शर्माले गरेको कुराकानी : मेला आयोजनाको मुख्य उद्देश्य के हो ? प्लाष्ट नेपाल फाउण्डेशनले दोस्रो पटक प्लाष्ट एक्स्पोको आयोजना गरेको छ । यो मेला आयोजना गर्नुको मुख्य उद्देश्य स्वदेशी प्लाष्टिक उद्योगको प्रवद्र्धन तथा विकासका लागि टेवा पुर्‍याउनु नै हो । नेपालमा अहिले थुप्रै किसिमका प्लाष्टिकका सामग्री उत्पादन भइरहेको छ । तर, सबैको जानकारी भने उपभोक्तालाई छैन । मेलामार्फत हामी उपभोक्तालाई प्लाष्टिकका उत्पादनबारे समेत जानकारी गराउँछौं । अहिले नेपालमा प्लाष्टिक उद्योग स्थापना हुने क्रम बढिरहेको छ । यो अवस्थामा नयाँ उद्योगी/व्यवसायी, जो यस क्षेत्रमा आउन चाहन्छन्, उनीहरूलाई यससँग सम्बन्धित नयाँ नयाँ प्रविधि, कच्चापदार्थको उपलब्धतालगायत विषयमा जानकारी गराउन पनि मेला अयोजना गरेका हौं । पछिल्लो समय प्लाष्टिकले वातावरणमा नराम्रो असर पारिरहेको भन्ने निकै चर्चा छ, तर त्यसो होइन । आम उपभोक्ता, सरकार तथा सरोकारवाला निकायलाई प्लाष्टिक के हो, कसरी उत्पादन हुन्छ, यसको प्रयोग तथा रिसाइकल कसरी गर्न सकिन्छ भन्ने जस्ता विषयमा जानकारी दिनु पनि मेलाको उद्देश्य हो । प्लाष्टिक उद्योगले अर्थतन्त्रमा कस्तो टेवा दिएको छ ? रू. ५० अर्ब लगानी रहेको यस क्षेत्रमा अहिले १ हजारभन्दा बढी उद्योग छन् । हामी सरकारलाई वार्षिक १० अर्ब राजस्व तिर्दै आएका छौं । प्लाष्टिक उद्योगमा १ लाख जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । त्यस्तै, अप्रत्यक्ष रूपमा पनि यस क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ । अहिले निर्माण कार्यदेखि अन्य हरेक ठाउँमा प्लाष्टिकको प्रयोग भइरहेको छ । प्लाष्टिकको व्यापार तथा उत्पादनको अवस्था के छ ? हाम्रो आन्तरिक उत्पादनको अवस्था धेरै राम्रो छ । वार्षिक १५ प्रतिशतको दरले उत्पादन वृद्धि बढेको छ । हामी प्लाष्टिक वस्तु, जस्तै– पाइपमा करीब आत्मनिर्भर छौं । तर, यस्ता अन्य वस्तुहरूको आयात भइरहेको छ । यसो भन्दैमा आयात धेरै नै रहेको भने होइन । हामी केही परिमाणमा प्लाष्टिक वस्तु आयात गरिरहेका छौं । चाँडै हामी यस क्षेत्रमा आत्मनिर्भर बन्न सक्छौं । नेपालमा यसको बजार पनि बढेको छ । शीप र प्रविधिको विकास औद्योगिक प्रवद्र्धनका मुख्य आधार मानिन्छ । त्यसलाई कत्तिको प्राथमिकता दिनुभएको छ ? अवश्य पनि औद्योगिक प्रवद्र्धनका लागि शीप र प्रविधिे अत्यावश्यक हुन्छ । हामीले विगतमा यससम्बन्धी थुप्रै तालीम प्रदान गरेका छौं । तर, त्यो त्यति सजिलो भने छैन । यसका लागि त सर्वप्रथम हामीलाई दक्ष प्रशिक्षक आवश्यक छ । त्यस्तै, तालीम केन्द्रको पनि उत्तिकै आवश्यकता पर्दछ । यी सबका लागि मुख्य आर्थिक व्यवस्था हो । भारतको सेण्टर इन्ष्टिच्युट अफ प्लाष्टिक एण्ड इञ्जिनीयरिङ टेक्नोलोजी नामक एक संस्था छ, जुन भारत सरकारसँग आबद्ध छ । हामीले उक्त संस्थासँगको सहकार्यमा यहाँ एउटा यस्तै संस्था सञ्चालनको तयारी गरिरहेका छौं । प्लाष्ट नेपालले भारत तथा नेपाल सरकार दुवैसँग आर्थिक सहयोगका लागि माग पनि गरेको छ । यो तालीम केन्द्र सञ्चालन भए हामी यहीँ दक्ष जनशक्ति तयार गर्न सक्छौं । अहिले विभिन्न प्लाष्टिक कम्पनीले आफ्ना कर्मचारीलाई छोटो समयका लागि नै भए पनि केही तालीम दिने गरेका छन् । नेपालमा प्लाष्टिक उद्योगको सम्भावना र चुनौती के छ ? हामीले शुरूमा प्लाष्टिकका ग्राहक को हुन् भन्ने बुझ्नुपर्छ । यस्तो कुनै वस्तु वा सामान छैन, जसमा प्लाष्टिक प्रयोग नगरिएको होस् । भान्छामा प्रयोग गरिने राइसकुकर, कुकरदेखि जुत्ता, लुगा, ब्याग, कलम, मोटरसाइकल, कार वा हवाईजहाजमा समेत प्लाष्टिकको प्रयोग गरिन्छ । जुन रूपमा मानव सभ्यताको विकास भइरहेको छ, सोहीअनुसार प्लाष्टिकको प्रयोग पनि बढिरहेको छ । अति विकसित देशहरूमा अहिले प्रतिव्यक्ति प्लाष्टिक खपत वार्षिक १ सय किलोसम्म छ । त्यस्तै, अन्य देशमा पनि वार्षिक खपत प्रतिव्यक्ति १५ केजीसम्म छ । जब कि, हामीकहाँ अहिले पनि बढीमा ५–६ केजीमै सीमित छ । यो हिसाबले हेर्दा नेपालमा यसको ठूलो सम्भावना छ । यसको चुनौती भनेको चाहिँ पुनः प्रयोग नै हो । उपभोक्ताले प्लाष्टिकको महत्त्व बुझ्नुपर्‍यो र यसलाई कसरी प्रयोग गर्ने भन्नेमा ध्यान दिनुपर्‍यो । प्लाष्टिकका एउटै सामान कसरी पुनः प्रयोग गर्न सकिन्छ, त्यसबारे जान्नुपर्छ । मुलुकमा वार्षिक ५ लाख टन फोहोर उत्पादन हुन्छ, जसमा १६ प्रतिशत प्लाष्टिक हुन्छ । त्यसलाई कसरी पुनः प्रयोग गर्ने भन्नेमा सरोकारवालाले ध्यान दिनुपर्छ । यसका लागि उद्योगी, नगरपालिका र सरकारको उत्तिकै भूमिका रहन्छ । नगरपालिकाले रिसाइक्लिङ उद्योगका लागि फोहोर प्लाष्टिक सङ्कलन गरेर दिनुपर्‍यो । यस्तो प्लाष्टिक त प्याकेजिङदेखि अन्य विविध कामका लागि प्रयोग हुन्छ । यद्यपि, रिसाइकल गरिएको प्लाष्टिक औषधि, खाद्यवस्तु आदि प्याक गर्न उपयुक्त छ/छैन, त्यसको परीक्षण गर्नुपर्ने हुन्छ । नेपालमा प्लाष्टिक रिसाइक्लिङ उद्योगको के व्यवस्था छ ? पछिल्लो समय मुलुकमा प्लाष्टिक पुनः प्रयोगका लागि केही उद्योग खुल्न थालेका छन् । केही खुलेका पनि छन् । तर, ती उद्योग त्यति ठूला भने छैनन् । उक्त उद्योगको कुनै मापदण्ड छ/छैन, त्यो पनि यकिनका साथ भन्न सकिँदैन । विदेशबाट हामीले आयात गर्ने प्लाष्टिक सामानमा फूड एण्ड ड्रग्स एप्रुभ्ड भएको हुन्छ । तर, हामीकहाँ त्यो छैन । यसतर्फ रिसाइक्लिङ उद्योगले ध्यान दिनुप¥यो । यसमा हामी मिलेर अघि बढ्न सक्छौं ।अहिले सरकारी नीति प्लाष्टिक उद्योगका लागि त्यति अनुकूल छैन भनिन्छ । प्लाष्टिक र पोलिथिनबीचको भिन्नतालाई सरकारले बुझ्न नसकेको जस्तो पनि देखिएको छ । यो बुझाइमा कसरी परिवर्तन ल्याउन सकिएला ? प्लाष्टिक व्यवसायका लागि सरकारी नीति अनुकूल नरहेको भन्ने विषय म मान्दिनँ । यस्ता उद्योगलाई पनि सरकारले अन्य क्षेत्रलाई जस्तै हेरेको छ । कमजोरी हामी उद्योगी आफैमा छ । हामीले कहिले पनि सरकारसमक्ष गएर प्लाष्टिक र पोलिथिनबीचको भिन्नता बुझाउने प्रयास गरेकै छैनौं । तर, विगत ४ वर्षमा प्लाष्ट नेपाल फाउण्डेशनले त्यो कुरा बुझाउन प्रयास गरेको छ र बुझाइरहेको छ । अहिले सरकारले यो दुईबीचको भिन्नता बुझेको पनि छ । अहिले पोलिथिनमा के समस्या भइरहेको छ भने, सरकारले एक निश्चित मापदण्ड अर्थात् ४० माइक्रोनभन्दा पातलो पोलिथिन उत्पादन गर्न दिएको छैन । यो एकदमै ठीक हो । तर, अहिले पनि मुलुकमा थुप्रै अनधिकृत रूपमा सञ्चालित त्यस्ता थुप्रै उद्योग छन्, जसले यो मापदण्डमा रहेर उत्पादन गरेका छैनन् । यसले के स्पष्ट पार्दछ भने हामी उद्योगी आफै जिम्मेवार भएका छैनौं । त्यस्तै अर्को, नेपालमा उद्योगीले उत्पादनसम्बन्धी निश्चित मापदण्ड बनाएका छैनन् भने भारत, चीनलगायतबाट पनि तोकिएको मापदण्डभन्दा कमको प्लाष्टिक झोला आदि आयात भइरहेको छ । भन्सारमा समेत उक्त वस्तुको आयात रोकिँदैन । सरकार आफैले एक निश्चित मापदण्ड तोकिदिएको भए तापनि त्यसको नियन्त्रणका लागि कुनै कदम चालेको देखिँदैन ।के छन् त प्लाष्टिकका फाइदा ? प्लाष्टिकका धेरै फाइदा छन् । प्लाष्टिकलाई हामी जस्तो पनि आकारमा परिणत गर्न सक्छौं । त्यस्तै, अर्को भन्नुपर्दा प्लाष्टिक निकै शक्तिशाली हुन्छ । हामीमा अहिले फलाम मात्रै सबैभन्दा बलियो वस्तु हो भन्ने मान्यता छ तर, त्यसो होइन । प्लाष्टिक पनि फलामजत्तिकै बलियो वा शक्तिशाली हुन्छ । प्लाष्टिकको वस्तुमा स्पष्टता हुन्छ । केही खाद्यवस्तु वा अन्य कुनै वस्तु खरीद गर्दा कागज वा टिनको बट्टामा भन्दा प्लाष्टिकको बट्टा वा भाँडामा बाहिरबाट सजिलै देख्न सक्छौं । त्यस्तै, यो निकै लामो समयसम्म टिकाउ, हल्का हुन्छ र खियाप्रतिरोधक पनि हुन्छ । हल्का हुने र आयतन निकै कम हुने भएकाले यसको ढुवानी पनि सहज हुन्छ । यसले इन्धनको खपत घटाउँछ । त्यस्तै, फुट्ने डर पनि हुन्न । यसलाई अन्य वस्तुलाई भन्दा कम विद्युत् खपतमै पगाल्न सकिन्छ ।प्लाष्ट नेपालका योजना के के छन् ? हामी प्लाष्टिक उद्योगको दिगो वृद्धि चाहन्छौं । त्यस्तै, प्लाष्टिक पुनः प्रयोगका लागि सरकारसँग सहकार्य गर्न तयार छौं । सरकारले हामीलाई सजिलो हुने नीति बनाइदेओस् । प्लाष्टिक तथा यस्ता उत्पादनको गुणस्तर जाँच गर्न स्तरीय ल्याब स्थापना गर्ने हाम्रो योजना छ, जुन छिट्टै पूरा हुनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।