दोस्रो प्लाष्ट नेपाल एक्स्पोबारे बताइदिनुहोस् न !
एक्स्पोको मुख्य उद्देश्य आमउपभोक्तालाई प्लाष्टिकको उपयोगितासम्बन्धी जानकारी दिनु नै हो । प्लाष्टिकको उत्पादन, पुनः प्रयोग र यस्ता उद्योगको वर्तमान अवस्था आदिबारे अवगत गराउन पनि प्रदर्शनीको आयोजना गरेका हौं । यससँगै मेलामार्फत हामी प्लाष्टिकको व्यवस्थापन कसरी गर्ने भन्ने बुझाउनेछौं । मेलामा प्लाष्टिक सामग्रीको विक्रीवितरण भने गरिने छैन । यस किसिमको बृहत् प्रदर्शनी हामी तीन/तीन वर्षमा गर्छौं । पहिलो प्रदर्शनी सन् २०१४ मा गरेका यियौं ।
अहिलेको वैज्ञानिक युगमा प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तुको महत्त्व, यसको बढ्दो प्रयोग, प्लाष्टिकको जीवनचक्र जनसाधारणले बुझ्न आवश्यक छ । यो प्रयोजनमा मेला उपयोगी हुने विश्वास हामीले लिएका छौं ।
नेपालमा प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु उत्पादनको अवस्था कस्तोे छ ?
प्लाष्टिक उद्योगको सङ्ख्या बढेको छ । यससँगै प्लाष्टिकजन्य तयारी सामग्रीको उत्पादनमा पनि वृद्धि भएको छ । अहिले हामी प्लाष्टिकजन्य सामान उत्पादनमा करीब आत्मनिर्भर भइसकेका छौं अर्थात् यस्ता सामग्रीमा ८० प्रतिशत आत्मनिर्भर छौं । प्लाष्टिकका केही विशेष किसिमका सामान मात्र यहाँ बन्दैन, अधिकांश सामान स्वदेशी उद्योगबाटै उत्पादन हुँदै आएको छ । उद्योगहरू बढेको हुँदा ग्राहकले एउटै वस्तु पनि विभिन्न उद्योगका रोजेर किन्न पाउने अवस्था छ । धेरै जनशक्तिले प्लाष्टिक उद्योगमा रोजगारी पाएका छन् । यसले गर्दा स्वदेशमै काम पाउने वातावरण बनेर नागरिकमा विश्वाससमेत बढेको छ ।
नेपालमा प्लाष्टिक उद्योगको शुरुआत र विकास अवस्थाबारे बताइदिनुहोस् न !
नेपालमा प्लाष्टिकको उत्पादन विगत ५०–६० वर्ष अघिदेखि हुँदै आएको छ । यसबीचमा कच्चापदार्थ आउने दरदेखि उपयोग गर्ने र पुनः प्रयोगको सङ्ख्या धेरै बढेको छ । विगत १० वर्षमा यसको गति उच्चदरमा बढेको पाइन्छ । पछिल्लो ५ वर्षमा त झन् उल्लेख्य छ । नेपाली बजारको माग हामी आफ्नै उत्पादनले परिपूर्ति गर्न सक्षम भएका छौँ । म आफूचाहिँ विगत १ दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा छु ।
नेपालमा प्लाष्टिक पुनः उत्पादनको स्थिति कस्तोे छ ?
अहिले धेरै रिसाइकल (पुनः प्रयोग) कम्पनी खुल्ने क्रममा छन् । हेटौंडा, पोखरा, चितवनमा र काठमाडौंमा प्लाष्टिका पुनः उत्पादन गर्ने उद्योगहरू छन् । प्लाष्टिकको पुनः उत्पादनसँगै पुनः प्रयोगको क्रम पनि बढेको पाइन्छ । पुनः उत्पादित सामग्रीमध्ये प्लाष्टिक झोला अग्रस्थानमा छ । प्लाष्टिकका झोला र बोराहरू पटक–पटक विभिन्न काममा प्रयोग गर्न सकिन्छ । प्लाष्टिक उद्योगमा पुनः प्रयोग अनिवार्य बनाउनुपर्छ भन्ने अवधारणा हाम्रो पनि हो । पाइप उद्योग र प्लाटिक उद्योगबाट आएको पदार्थमा पुनः उत्पादन गर्न सकिने धेरै हुन सक्छ । यसैले पुनः उत्पादनको काम पनि सुव्यवस्थित बनाउनुपर्छ । हामी प्लाष्टिकको पुनः उत्पादनबारे चाँडै तथ्याङ्क पनि निकाल्दै छौं ।
प्लाष्टिकको उपयोगिताका क्षेत्र के–के हुन् ?
प्लाष्टिक आज जीवनको अभिन्न अङ्ग बनेको छ । यो सबैतिर आवश्यक र बहुउपयोगी सावित भएको छ । हाम्रै मेलाको स्लोगन पनि ‘आफ्नो प्लाष्टिक चिनौं’ (नो योर प्लाष्टिक) भन्ने छ । वास्तवमा प्लाष्टिकको प्रयोग, व्यवस्थापन र पुनः प्रयोग कसरी गर्ने भन्ने विषय महत्त्वपूर्ण हो । यसकारण प्लाष्टिक आफैमा खराब हुँदै होइन । यसलाई विश्वले अब पन्छाउन सक्दैन । बरु प्लाष्टिकको सही व्यवस्थापन चाहिँ आवश्यक छ । यसको नकारात्मक पक्ष हेरेर बेवास्ता गर्न थालियो भने मानव जीवनको दैनिक कार्य र अन्य समग्र कामकाज असजिलो बन्न पुग्छ । विकल्पमा अन्य जे जस्ता चीज आए पनि प्लाष्टिक विस्थापित हुन असम्भव छ । प्लाष्टिकले त मानिसको जीवन धेरै सहज भएको छ ।उपभोक्तामा प्लाष्टिकको प्रयोगले स्वास्थ्यमा असर गर्छ भन्ने धारणा छ । यसको उपयोगिता साँच्चै हानिकारक हुन्छ ?
अधिकांशमा यस्तो बुझाइ हुन सक्छ । यसमा म के भन्छु भने मुख्य कुरा त मापदण्ड हो । मापदण्ड पूरा गरेर उत्पादित प्लाष्टिक सामग्रीको प्रयोगले हानि पु¥याउँदैन नि । सस्तो काम गरेर, मापदण्ड पूरा नगरी उत्पादित वस्तुले भने स्वास्थ्यलाई हानि गर्छ । विश्वका धेरै विकसित देशमा प्लाष्टिकका सामानमा चिया, खाजा आदि खाइन्छ । त्यहाँको उत्पादनमा विशेष ध्यान पु¥याइएको हुन्छ । यसकारण राज्य र नियमनकारी निकायले सम्बन्धित उद्योगले मापदण्ड पूरा गरे/नगरेको अनुगमन गर्नुप¥यो । पाइप उत्पादनमा पनि त कमसल, कच्चापदार्थ राख्यौं भने त्यो फुट्छ, चाँडै समस्या आउँछ । तर, तोकेको मापदण्ड र गुणस्तर पूरा गरेर उत्पादन गरियो भने समस्या आउँदैन । झन् स्वास्थ्यमा त अत्यन्त सजग हुनैपर्छ । त्यसैले उत्पादनका क्रममा मापदण्ड पूरा गर्न अत्यावश्यक छ ।आम उपभोक्तालाई यस्ता उत्पादनको गुणस्तरबारे कत्तिको थाहा हुन्छ ?
उपभोक्ताले पनि कस्ता सामग्री राम्रो वा नराम्रो भन्नेबारे विस्तारै बुझ्न थालेका छन् । यसको व्यवस्थापन कसरी गर्ने भने चुनौती बढेको छ । यसबारे जनहितमा हामीले सूचना दिएका छौं । प्लाष्ट नेपाल फाउण्डेशनले धेरै क्रार्यक्रम गरेको छ । वास्तवमा प्लाष्टिक खराब होइन । यो बुझाउन विद्यालयमा गएर कक्षाहरू लिएका छौं, डकुमेण्ट्री बनाएका छौं । धेरै सेमिनार र कार्यक्रम गरेका छौं ।प्लाष्टिकको निश्चित मापदण्ड पूरा नगरी उत्पादन ग¥यो भने त्यो खतरनाक हुन्छ । त्यसलाई नियमन गरेर रोक्नुपर्छ । कुन प्रकृतिको सामान प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्छ, त्यसबारे उपभोक्ता आफू पनि सजग भए भने समस्या आउँदैन । राज्यले समेत उपभोक्ताको स्वास्थ्यलाई हितमा ध्यान राखेर उद्योगको नियमन÷अनुमगन गर्नुपर्छ । सबैको प्रयासले मात्र यो क्षेत्रको व्यवस्थापन हुन सक्छ ।नेपालमा प्लाष्टिक उद्योगको सम्भावना र चुनौती कस्तो छ ?
नेपाल विकासशील देश हो । यस्तोमा चुनौती त हुन्छन् नै । झन् प्लाष्टिक जीवनको आवश्यकता भएको छ । दैनिक जीवनका हरेक पक्षमा यसको उपयोग बढेको छ । मेडिकल, यातायात, प्रविधि, सञ्चार सबै क्षेत्रमा यसको माग बढेको छ । यसकारण माग बढेपछि उत्पादन पनि बढ्छ ।चुनौतीको कुरा गर्दा यो क्षेत्रका पनि आफ्नै चुनौती, अफ्ठ्यारा छन् । पहिला ऊर्जा ठूलो समस्या थियो । लोडसेडिङ हट्नाले यो समस्याबाट धेरै राहत मिलेको छ । साथै, ऊर्जाको नियमित प्रवाह हुनुप¥यो, नत्र उद्योगले कसरी काम गर्न सक्छ ? राज्यको नीति, राजनीतिक वातावरण आदिले पनि उद्योग र उत्पादनमामा ठूलो भूमिका निर्वाह गर्छ । राज्यले उचित वातावरण तयार पारिदिनुपर्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।