दशैंतिहारमा सुरक्षा व्यवस्थामा कडाइ

Share News
कास्की । बढ्दो आपराधिक क्रियाकलाप र चाडपर्वलाई ध्यानमा राखी प्रहरीले कास्कीको सुरक्षा व्यवस्था कडा बनाएको छ । पर्यटकीय शहर पोखरासँगै जिल्लाका ग्रामीण भेगलाई समेत समेटेर १७ थरीका कमाण्ड बनाई प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको कास्की प्रहरीले जानकारी दिएको छ । जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न प्रहरीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित ‘चाडपर्व विशेष सुरक्षा योजना–२०७५’ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक घटना तथा सवारी दुर्घटनालाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना ल्याएको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम रानाले जानकारी दिए । ‘जिल्लाभरि सम्पूर्ण स्थानमा जम्मा ५ सय ८६ जना प्रहरी परिचालन गरिनेछ,’ उनले भने । प्रहरीले सुरक्षा योजना विशेष निर्देशिका कार्यान्वयनमा ल्याउने एसपी रानाको भनाइ छ । कमाण्डपोष्ट, सीआरभी परिचालन, हाइवे पेट्रोलिङ, मोबाइल गस्ती, मोटरसाइकल गस्ती, वित्तीय क्षेत्र, एम्बुसिङ शहरका मुख्य १९ विशेष स्थानमा, धार्मिक स्थल सुरक्षा तथा सादा पोशाकमा प्रहरी परिचालन गरिने उनले बताए । उनका अनुसार विभिन्न १७ थरीका कमाण्डद्वारा कास्कीलाई सुरक्षा दिइनेछ । जसमा १ कमाण्डपोष्ट र पोखराभित्र ९ ठाउँमा कण्ट्रोल रूम भेहिकल सञ्चालन हुनेछन् भने १० ओटा अस्थायी प्रहरी पोष्ट, १४ ओटा ग्रामीण एकाइ गस्ती, ५ ओटा हाइवे पेट्रोलिङ र ६ ओटा मोबाइल गस्तीको व्यवस्था गरिनेछ । त्यसैगरी बैङ्किङ क्षेत्रलाई लक्षित १६ ओटा मोबाइल गस्ती, ११ ठाउँमा पैदल गस्ती, १९ ओटा एम्बुसिङ (जति बेला जहाँ पनि चेकिङ गर्न सक्ने चेकिङ), १२ ओटा भिगरस चेकिङ, तीनओटा बजार अनुगमन टोलीका रूपमा खटाइनेछ । त्यस्तै, सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीले बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष निर्माण गर्ने भएको छ । ग्रामीण क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न प्रहरीले ग्रामीण सुरक्षा सयन्त्रसमेत निर्माण गर्ने भएको छ । त्यस्तै, लागू औषध कारोबारमा समेत प्रहरीले कोत्रे, गगनगौडा, विजयपुर, तालचोक, याम्दी, हेमजा, कालिमाटी, खाडेखोलासहितका क्षेत्रमा कुकुरसहितको प्रहरी चेकिङ कडाइका साथ लागू गर्ने भएको हो ।नागरिकको आवश्यकताअनुसार कुनै पनि समयमा प्रहरी सेवाबाट वञ्चित नरहने अवस्था निर्माणका लागि कार्यालयले २४सै घण्टा जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरिएको डीएपी एवम् प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।