विदेशका नेपाली भाषीको दशैं

Share News
मलेशियाको पेनाङमा काम गर्दै आएकी ल छ मी प्रधान हरेक वर्षझैं यस वर्ष पनि बर्माको कचिन फर्किने तयारीमा छिन् । अष्ट्रेलियामा रहेकी यदना पन्थी पनि बर्माको शान राज्यमा फर्किन लागेकी छिन् । समयमै नेपाली भाषाको शुद्ध लेखनबारे थाहा नपाएका कारण लक्ष्मीले आफ्नो पासपोर्ट र मापौने (नागरिकता)मा ल छ मी लेख्न पुगिन् । म्यान्मा –बर्मा)मा थर लेख्ने प्रचलन नभएकाले भने उनको आधिकारिक थर प्रधान भए पनि उल्लेख गरेको छैन । यदना पन्थीले पनि लेख्दा रत्ना लेखे पनि उनको नाम बर्मेली शैलीमा यदना हुन पुग्यो । देशअनुसार नाममा फरकपन आए पनि म्यान्मामा रहेका २ लाख नेपालीले नेपालमा जस्तै धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वका साथ दशैं मनाउँदै आएका छन् । लक्ष्मीले भनिन्, ‘नेपालको पहाड घर कता हो भनेर त थाहा पाएनौं । त्यसैले आफू जन्मेको घर घुस्नुपर्छ भन्ने मान्यता भएकाले बर्मा फर्किन लागेका हौं ।’ बाजेबराजु बर्मामा आएपछि यातायातको समस्या र बाटो पहिल्याउन नसकेका कारण यतै बसेको बताउने यदना पनि घरपरिवार भेट्न पाइने भो भन्दै उत्साहपूर्वक घर फर्किन लागेकी छिन् । फेसबूकमा भेटिएका यी बर्मेली नेपालीले भनिन्, ‘नेपालमा जसरी मनाइन्छ, त्योभन्दा उत्साहपूर्वक हामी बर्मामा दशैं मनाउँछौं । नेपालमा रातो टीका हुँदो रहेछ, तर यता अबिर नपाइने भएकाले रङ लगाइँदैन ।’ बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको म्यान्मामा नेपालीको चाडपर्व भनेपछि बर्मेली पनि रमाइलो गर्दै सहभागी हुने रहेछ । सरकार र स्थानीयलाई नपचेपछि अनि धर्मले पनि काटमार नगर भनेकाले बर्मामा पशुबलीको भने प्रायः अन्त्य भइसकेको छ । कहीँ कतै नेपालीको मात्रै बाक्लो बस्ती भएको ठाउँमा भने आकलझुकल बाँकी रहेको बताइन्छ ।दशैंको बेला पिङ हाल्ने, लिङ्गो पूजा गर्ने, काली मन्दिरमा पूजा गर्ने, आफन्तको टीका लगाउन जाने परम्परा छ । यो बेला म्यान्मामा रहेका सबै दुर्गा तथा कालीमन्दिरमा विशेष पूजाआजा गरिन्छ । याङ्गुनको दुर्गाबाडीमा त झन् ठूलो मेला नै लाग्ने गर्दछ ।बर्मापछि नेपालीको अलि बढी सङ्ख्या रहेको थाइल्याण्डमा पनि विशेष उल्लासका साथ दशैं मनाइन्छ । ५० हजारको हाराहारीमा रहेका थाई नेपालीले भने आ–आफ्नै घरमा दशैं मनाउने गरिन्छ । बैङ्कक, पटाया, फुकेट, चेङमाईमा रहेका नेपालीको आफ्नै आँगन नहुने भएकाले घरमै मनाउन बाध्य छन् । यद्यपि, कालीमन्दिरमा गएर दैनिक पूजाआजा गर्ने र टीका लगाउने परम्परा भने नेपालमा जस्तै हुने गर्दछ । दशैंमा बैङ्ककको सियाममा रहेको कालीमन्दिरमा भीड हुने गर्दछ ।वास्तवमा बडा दशैं त्यहाँ उत्साहपूर्वक मनाइन्छ, जहाँ नेपालीको बसोवास छ । नेपालपछि सबैभन्दा बढी नेपालीहरू आधिकारिक रूपमा बसेको देश भारत हो । भारतका विभिन्न प्रान्तमध्ये नेपाली अधिक रहेका सिक्किम, आसाम, मणिपुर, उत्तराखण्ड, देहरादुन, दार्जिलिङमा यो पर्व नेपालमा जस्तै मनाउने गरिन्छ ।सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजया दशमी आदि धूमधामसित मनाइन्छ, नेपालमा जस्तै दशैं मनाउने गरिन्छ । भुटानमा पनि नेपालीले नेपालमा जस्तै घटस्थापनादेखि पूर्णिमासम्म नै दशैं मनाउने प्रचलन छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।