भारतको हिमाञ्चल प्रदेशमा दशैं ‘कुल्लुका दशहरा’ नामले प्रसिद्ध छ । विजयादशमीको दिन यहाँ मानिस आकर्षक पोशाक लगाएर तुरही, बिगुल, ढोल, नगाडा, बाँसुरी लिएर बाहिर निस्कन्छन् । यो दिन देवताको धूमधामसित पूजा गर्दछन् । देवताहरूको मूर्तिलाई आकर्षक पाल्कीमा सुन्दर ढङ्गले सजाइन्छ । साथै, उनीहरू आफ्नो मुख्य देवता रघुनाथजीको पनि पूजा गर्दछन् । यो जुलुसमा प्रशिक्षित नर्तक (नटी) नृत्य गर्दछन् । यस प्रकार जुलुस बनाएर नगरका मुख्य भाग हुँदै नगर परिक्रमा गरिन्छ । र, कुल्लु नगरमा देवता रघुनाथजीको वन्दनासहित दशैं (दशहरा) उत्सवको आरम्भ हुने गर्छ ।
पञ्जावमा दशहरा नवरात्रिका ९ दिनको उपवास बसेर मनाइन्छ । त्यस बेला यहाँ अतिथिहरूको स्वागत पारम्परिक मिठाई र उपहारले गरिन्छ । यहाँ पनि रावण दहनको आयोजना हुन्छ । त्यसपछि मैदानहरूमा मेला लाग्छ ।
बस्तरमा दशहरा मनाउनुको मुख्य कारण रामले रावणमाथि गरेको विजयलाई मानिँदैन । दशैंलाई यहाँका मानिस माँ दन्तेश्वरीको आराधनामा समर्पित पर्व मान्दछन् । दन्तेश्वरी माता बस्तर अञ्चलवासीको आराध्य देवी हुन्, जसलाई दुर्गाको रूप मानिन्छ । यहाँ यो पर्व ७५ दिनसम्म चल्दछ । यहाँ दशहरा साउन महीनाको औंशीदेखि असोजको शुक्ल त्रयोदशीसम्म चल्छ । दशहराको पहिलो दिनप जसलाई काछिन गादि भनिन्छ । यो दिन देवीलाई एउटा गद्दीमा सजाइन्छ । यो समारोह करीब १५औं शताब्दीदेखि शुरू भएको मानिन्छ । यसपछि जोगी–बिठाई कार्यक्रम, त्यसपछि भितर रैनी (विजयादशमी) र बाहर रैनी (रथयात्रा) र अन्तमा मुरिया दरबार उत्सव मनाइन्छ । यो असोज शुक्ल त्रयोदशीमा ओहाडी पर्वसँगै समापन हुन्छ ।
पश्चिम बङ्गालमा यो पर्व दुर्गापूजाको रूपमा मनाइन्छ । यो बङ्गालीको सबैभन्दा महŒवपूर्ण पर्व हो । बङ्गालमा पाँच दिनसम्म यो पर्व मनाइन्छ । यहाँ देवी दुर्गालाई भव्य सुशोभित पण्डालहरूमा सजाइन्छ । देशका नामी कलाकारहरू बोलाएर दुर्गाको मूर्ति तयार गरिन्छ । साथै, अन्य देवीदेवताको पनि मूर्ति बनाइन्छ । पर्वको समयमा शहरका सानातिना पसल पनि मिठाईले भरिन्छन् । यहाँ षष्ठीको दिन दुर्गा देवीको बोधन, आमन्त्रण एवम् प्राणप्रतिष्ठा आदिको आयोजना गरिन्छ । त्यसपछि सप्तमी, अष्टमी एवम् नवमीका दिन प्रातः र सायंकाल मानिस दुर्गाको पूजामा तल्लीन हुन्छन् । दशमीको दिन विशेष पूजाको आयोजन गरिन्छ । प्रसाद चढाइन्छ र वितरण गरिन्छ । पुरुष आपसमा आलिङ्गन गर्दछन्, जसलाई कोलाकुली भनिन्छ । महिलाहरूले देवीको शिरमा सिन्दूर चढाउँछन् र आँशु झार्दै देवीलाई बिदाइ दिन्छन् । साथै, उनीहरू आपसमा पनि सिन्दूर लगाउँछन् र सिन्दूर खेल्छन् । यस दिन यहाँ नीलकण्ठ पक्षीको दर्शन शुभ मानिन्छ । त्यसपछि देवी प्रतिमाहरूलाई ठूला–ठूला ट्रकहरूमा हालेर विसर्जनका लागि लगिन्छ । विसर्जनको यो यात्रा पनि साह्रै शोभनीय र दर्शनीय हुन्छ ।
तमिलनाडु, आन्ध्र प्रदेश र कर्नाटकमा दशहरा ९ दिनसम्म मनाइन्छ, जसमा तीन देवीहरू लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । पहिला तीन दिन लक्ष्मी, धन र समृद्धिकी देवीको पूजन हुन्छ । दोस्रो तीन दिन सरस्वती (कला र विद्या)की देवीको अर्चना गरिन्छ र अन्तिम दिन देवी दुर्गा (शक्तिकी देवीको स्तुति गरिन्छ । पूजन स्थललाई राम्ररी फूलहरूले र दीपकहरूले सजाइन्छ । मानिसहरू एक–अर्कालाई मिठाइ र लुगाहरू आदान–प्रदान गर्दछन् । यहाँ दशहरा नानीहरूका निम्ति शिक्षा या कलासम्बन्धी नयाँ कार्य सिक्न शुभ समय मानिन्छ । कर्नाटकमा मैसूरको दशहरा विशेष उल्लेख्य छ । मैसूरमा दशहराको समय पूरै शहरका गल्लीहरू बत्तीले सजाइन्छ र हात्तीहरूलाई सिँगारेर शहरभरि एक भव्य जुलुस निकालिन्छ । यो बेला प्रसिद्ध मैसूर महललाई दीपमालिकाले सजाइन्छ । साथै, मानिसहरू हातहातमा बत्ती लिएर नाचगान गर्दछन् । यी प्रदेशमा रावणदहनको आयोजना गरिँदैन ।
गुजरातमा माटोका रङ्गीन घडा देवीको प्रतीक मानिन्छ र यसलाई कुमारी केटीहरूले शिरमा राखेर एउटा लोकप्रिय नृत्य गर्छन्, जसलाई गरबा भनिन्छ । गरबा नृत्य यस पर्वको महŒवपूर्ण अङ्ग हो । पुरुष एवम् महिलाहरू दुईओटा सानासाना रङ्गाएका लौरा लिएर सङ्गीतको लयमा आपसमा बजाउँदै घुमेर नृत्य गर्दछन् । यस अवसरमा भक्ति, चलचित्र तथा लोक गीत बजाएर मनोरञ्जन गरिन्छ । पूजा र आरतीपछि डाण्डिया रास रातभरि गरिन्छ । नवरात्रिमा सुन र गहना किन्नु शुभ मानिन्छ ।महाराष्ट्रमा दशैं सिलङ्गणको नामले सामाजिक महोत्सवको रूपमा मनाइन्छ । सायंकालको समयमा सबैजना राम्रा र नयाँ लुगा लगाएर गाउँको सीमा पार गरेर शमी वृक्षको पात लिएर आ–आफ्नो गाउँ फिर्छन् । फेरि त्यस पातलाई परस्परमा आदान–प्रदान गर्दछन् ।महाराष्ट्रमा नवरात्रिका ९ दिन माता दुर्गालाई समर्पित गरिन्छ, जब कि दशौं दिन ज्ञानकी देवी सरस्वतीको वन्दना गरिन्छ । यस दिन विद्यालय जाने बालबालिका आफ्नो पढाइका निम्ति आशीर्वाद माग्न माता सरस्वतीका तान्त्रिक चिह्नहरूको पूजा गर्छन् । कुनै पनि काम विशेषगरी विद्या शुरू गर्न यो दिन अति शुभ मानिन्छ । महाराष्ट्रका मानिस यस दिनलाई विवाह, गृहप्रवेश एवम् नयाँ घर किन्ने शुभ मुहूर्त मान्दछन् ।कश्मीरका अल्पसङ्ख्यक हिन्दू नवरात्रिको पर्वलाई श्रद्धासित मनाउँछन् । परिवारका सबै वयस्क सदस्य ९ दिनसम्म पानीमात्र खाएर उपवास बस्छन् । अत्यन्त पुरानो परम्पराअनुसार ९ दिनसम्म मानिसहरू माता खीर भवानीको दर्शन गर्न जान्छन् । यो मन्दिर एउटा तालको बीचमा बनिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।