फूलपातीको इतिहास

Share News
निर्भीक रायमाझी प्रत्येक वर्ष असोज शुक्ल सप्तमीको दिन शास्त्रीय विधिअनुसार फूलपाती घरघरमा भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गर्दै पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा सप्तमीको बेलुका फूलपाती भित्र्याउने प्रचलन छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती ९ देवीको प्रतीकका रूपमा भित्र्याएर शक्तिको आराधना गरिन्छ । गोरखा दरबारबाट मगर समुदायका पाँचजनाले बोकी ल्याएको फूलपातीमा एउटा निख्खर कालो बोका र एउटा भेडाको थुमा बलि दिएर अर्चना हुन्छ । काठमाडौंबाट गएको हनुमानढोका र समरजङ टोलीलाई फूलपाती लिई आएका गोरखाका मगरले टीकाप्रसाद लगाइदिएपछि छत्रे देउराली, भीमढुङ्गा र सीतापाइला हुँदै फूलपाती जमलमा ल्याइन्छ । यसैगरी जमलबाट हनुमानढोका दरबारको दशैंघरका पुजारीले पूजाअर्चनासहित फूलपातीलाई जमलमा पर्सने गरिन्छ । फूलपाती पर्सिएपछि १६ जना महिलाको साथमा मालश्री रागसहित फूलपातीलाई हनुमानढोका दरबारस्थित नासलचोकमा ल्याइन्छ । मालश्री राग गाउनेहरू सौभाग्यको प्रतीक रातो पहिरन र रातै शृङ्गारमा झकिझकाउ हुन्छन् । रागिनीका सामुन्ने नासलचोकमा फूलपातीसँगै ल्याइएको कलशमाथि राखिएकी देवीको तस्वीरमा अर्चना गरिन्छ । के के चाहिन्छ फूलपातीमा ? शास्त्रीय मान्यताअनुसार नवरात्रको सातौं दिन ९ थरीका फूलपाती भित्र्याउने गरिएको छ । कदली दाढिमी धान्या हरिद्रा मानकं कचुः । बिल्व शोकौ जयन्ती च विज्ञेया नवपत्रिका ।।अर्थात् नवपत्रिका (फूलपाती)को रूपमा माने, कचू (पिँडालु), हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत दशैं घरमा राख्ने गरिन्छ । यी ९ किसिमका वनस्पतिका क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्र्तिकी देवीलाई आह्वान गरेर पूजा गरिन्छ । पुराणअनुसार इन्द्र, शिव, विष्णु एवम् श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधु–कैटभ तथा रावण वधका लागि क्रमैसँग नवरात्रको व्रत गरेका थिए । यसैगरी फूलपातीकै दिन बिहान विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पूजा गरिन्छ । किसानहरूले पनि फूलपातीकै दिन धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् ।फूलपाती बढाइँ यसैबीच, परम्परागत रूपमा नेपाली सेनाले सैनिकमञ्च, टुँडिखेलमा प्रत्येक वर्ष फूलपाती बढाइँ गर्दछ । फूलपाती बढाइँ अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहित मन्त्री, उच्च सरकारी अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सहभागी हुन्छन् । फूलपाती बढाइँ हेर्न सैनिक मञ्च बाहिर सर्वसाधारणको पनि ठूलो भीड लाग्ने गर्छ । बढाइँका क्रममा नेपाली सेनाले विभिन्न कला, कौशल, कवाज प्रस्तुत गर्दै राष्ट्रप्रमुखलाई सलामी अर्पण गर्दछ । राजतन्त्रको समयमा श्री ५ सरकारबाट अवलोकन हुने फूलपाती बढाइँमा राजपरिवारको प्रत्यक्ष संलग्नतामा विशेष पूजाआजासमेत हुने गर्दथ्यो । त्यसबेला राजा स्वयम् उपस्थित भएर हनुमानढोका दरबार र दशैंघरमा पूजाआजा गर्ने प्रचलन थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।