दशैंका महत्त्वपूर्ण चार दिन

Share News
महाष्टमी महाअष्टमीको दिन मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवताको पूजा गरेर बलि दिन्छन् । शाकाहारीहरूले बलिस्वरूप नरिवल, कुभिण्डो, केरा, घिरौंला, आदि फल चढाउँछन् भने मांसाहारीले बोका, राँगा, हाँसलगायतको बलि दिन्छन् । काठमाडौंको तलेजु भवानीको मन्दिर यस दिन सर्वसाधारणका लागि खुला गरिन्छ । महाअष्टमीको दिन नेवार समुदायले साँझ कुछिभ्वे (दुईमाना चिउरासहितको भोज) खाने गर्छन् । केराको पातमा खाइने यो कुछिभ्वेलाई कुलभोज पनि भनिन्छ । यो भोज गोप्य हुने भएकाले घरका परिवारबाहेक अन्यले हेर्न बन्देज गरिएको हुन्छ । त्यसैले, यो भोज परिवारपिच्छे फरक हुन्छ । यद्यपि, भोज शुरू हुनुअघि घरको नाइकेले भोजको पूजा गरेपछि घरकी मुलीले अण्डा माछा सगुन दिएपछि विधिवत् रूपमा भोज खाने प्रचलन भने एकैथरीको हुन्छ । यसै दिन देशभरका विभिन्न ठाउँमा रहेका तलेजु भवानीलाई राँगा र बोका बलि दिइन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । महानवमी महानवमीको बिहान कलपुर्जा, हातहतियार तथा सवारीसाधन आदिको पूजा गर्ने÷बलि दिने गरिन्छ । यस दिन विशेषगरी घटस्थापना गरी उमारेको जमराले ढुकुटीको पूजा गरिन्छ । नेवारहरूले यही दिन ढुकुटीमा हाँस, कुखुरा, बोकाको बलि दिने गर्दछन् । बलिसँगै काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपटको पनि नाश होस् भन्ने कामना गरिन्छ । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रको प्रवृत्तिस्वरूप मानवमा सांसारिक सुखको मोह, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारजस्ता दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावना नवदुर्गाको मन्दिरमा लगेर बिसाउने शास्त्रीय मान्यता छ ।

विजयादशमी बडादशैंको दशौं दिनलाई विजयादशमी पनि भनिन्छ । सबै देवताहरूको शक्ति एकै ठाउँमा सञ्चय भएर ब्रह्मायणी, माहेश्वरी, कुमारी, वैष्णवी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी रूपी दुर्गाको रूपमा नवदुर्गा उत्पन्न भएर असुरमाथि विजय हासिल भएकाले यो दिनलाई एकताको विजय भएको दिन पनि भनिन्छ । विभिन्न शक्तिशाली देवगणले दीक्षा दिएका मातृशक्ति असत्यमाथि विजयी भएकाले यो दिन विशेषगरी मातृशक्तिको रूपमा दुर्गा भवानीको पूजाअर्चना गरिन्छ । यो दिन भगवतीको प्रसादस्वरूप परिवारका ठूलाबडाले अबीर र दहीमा मुछेको चामलको टीका निधारमा र जमरा टाउकोमा लगाइदिन्छन् । साथै, आशीर्वाद र दक्षिणासमेत दिने चलन छ । यसपछि नातेदार तथा मान्यवरकहाँ दशैंको टीका थाप्न जाने क्रम धेरै नेपाली समुदायमा पूर्णिमासम्म चल्छ । पूर्णिमाको दिन जमरा जलाशयमा विसर्जन गरेपछि बडादशैं विधिवत् रूपमा सम्पन्न हुन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।