तरकारी खेती नेपाली कृषकहरूको आम्दानीको मुख्य स्रोत हो । मौसमी तथा बेमौसमी दुवै किसिमका तरकारी उत्पादन गर्न कृषकहरू बीउको प्रयोग गर्छन् । अझै अहिले त केहीका लागि बीउ विक्री गर्ने काम नै व्यवसाय बनेको छ । तर, बीउको सही प्रयोग गर्न सकिएन भने यसको प्रतिफल राम्रो नहुन सक्छ । बीउबाट गुणस्तरीय तरकारी उत्पादन गर्न यसलाई सफा गर्ने काम गरिन्छ । तर, अहिले कृषकहरूले यसका लागि जुन पद्धति अपनाएका छन्, त्यो निकै झन्झटिलो छ । प्रायः किसानहरूले बीउ सफा गर्दा यसलाई नाङ्लो (सुपो)मा राखी केलाउने गर्छन् । यसो गर्दा १ केजी मूलाको बीउ केलाउन करीब दुई घण्टा लाग्छ । यसरी केलाएको बीउमा १० प्रतिशतसम्म खेर जाने एस एन भी २०११ को अध्ययनले देखाएको छ । बीउ सफा गर्ने काममा नेपालमा महिलाको सहभागिता नै बढी हुन्छ । बसेर निहुरिँदै लामो समयसम्म बीउ सफा गर्दा उनीहरूको स्वास्थ्यमा पनि असर पुग्न सक्छ ।
नेपालको खेतीयोग्य जमीनको कुल २ लाख २५ हजार हेक्टरमा तरकारी खेती गरिन्छ । यसको उत्पादकत्व १२ दशमलव ७७ टन प्रतिहेक्टर छ । तरकारी खेतीका कारण बीउको माग पनि वृद्धि हुन थालेको छ । अहिले वार्षिक करीब २ हजार मेट्रिक टन बीउको माग छ, जसमध्ये करीब ९ सय ५० मेट्रिक टन नेपालमै उत्पादन हुन्छ । बाँकी विदेशबाट आयात गरिन्छ । नेपालमा बीउको माग बढ्दै गएकाले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत कृषि इञ्जिनीयरिङ महाशाखाले यसलाई सफा गर्ने मेशिनको निर्माण गरेको छ । यो मेशिनले गुणस्तरीय बीउ उत्पादन गर्ने महाशाखाका प्रमुख इञ्जिनीयर श्रीमत श्रेष्ठले बताए ।
नार्कले गतवर्ष मात्रै उक्त मेशिनको निर्माण गरेको हो । अहिले नार्कले देशका विभिन्न ठाउँमा यसको प्रयोग गरिसकेको छ । मेशिनबाट रायो, मूला, केराउ, रामतोरिया, भटमास, सिमीको बीउ आदि सफा गर्न सकिन्छ । मेशिनले बीउको अवस्थाअुनसार प्रतिघण्टा ६० केजीदेखि ८५ केजी सफा गर्न सक्छ । दुईपटक यस मेशिनमा राखेर बत्ताउँदा ९९ प्रतिशतभन्दा बढी बीउ सफा हुन्छ । अर्थात्, मेशिनबाट बीउ सफा गर्दा १ प्रतिशतभन्दा कम मात्र नोक्सानी हुन्छ । नेपालमा यसको विक्रीवितरणको कार्य जेन्युन इञ्जिनीयरिङ कम्पनीले गर्दै आएको छ । यसको बजारमूल्य १६ हजार रुपैयाँ रहेको छ ।
मेशिन प्रयोग गर्ने तरीका
- सफा गर्ने बीउलाई मेशिनको सोलीमा राख्ने
- बीउ झर्ने प्वाल नोब नं १ घुमाएर ठिक्क मात्रामा झर्ने बनाउने
- सानो बीउ भए नोब नं २ माथि सारेर ब्लोअरको प्वाल सानो बनाउने र ठूलो बीउ भए प्वाल ठूलो बनाउने
- ह्याण्डललाई प्रतिमिनेट ४० देखि ५० पटकको बेगमा घुमाउने
- पहिलो मुखमा कति पोटिलो बीउ आवश्यक हो त्यसलाई नोब नं ३ लाई चलाई मिलाउन सकिन्छ
- पछाडिबाट बीउ उडेर गएको छ भने नोब नं ४ लाई चलाएर ठाडो पार्ने
- कहिलेकाहीँ सोलीमा बीउ जाम भएर बस्न सक्छ । त्यसबेला सोलीस“गैको लाठी चलाइदिने
- यसरी एकप्रकारको बीउलाई कण्ट्रोल नोबहरू (१, २, ३ र ४) लाई मिलाइसकेपछि निरन्तर रूपमा बीउ सफा गर्न सकिन्छ
ध्यान दिनुपर्ने विषयहरू :
- घिर्नीको बेल्ट निकै कसिएको छ वा खुकुलो छ हेर्ने, घिर्नी सारेर ठिक्क बनाउने
- नोबहरू चलाएर गुणस्तरको बीउ पहिलो मुखबाट कम गुणस्तरको बीउ दोस्रो मुखबाट थैलामा जम्मा गर्न सकिन्छ
- एकपटक सफा गरेको बीउलाई मेशिनमा दोहोराएर सफा गर्दा गुणस्तरमा ढुक्क हुन सकिन्छ
- मेशिनबाट बीउको तौलअनुसार मात्रा छुट्टयाउने हुँदा यसपछि जालीले बीउलाई ग्रेडिङ गर्न सकिन्छ
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।