नेपाली मौलिकताको प्रकृतिपूजा

Share News
काठमाडौं । तिहार दाजुभाइ तथा दिदीबहिनीको सम्बन्ध प्रगाढ बनाउने चाडको रूपमा लोकप्रिय छ । प्रकृति र पशुपक्षीको समेत पूजा गरिने भएकाले समेत यसको छुट्टै महत्त्व छ । नेपालीहरू प्रकृतिका पूजक हुन् । त्यसैले, प्रकृतिको श्रद्धा तथा संरक्षणमा प्रेरित गर्ने पर्व पनि हो तिहार । तिहार नेपालीहरूको साझा पर्व हो । अन्य पर्व भिन्ना भिन्नै रूपमा मनाइए तापनि यो पर्व भने एकै किसिमले मनाउने गरिन्छ । त्यसैले, यो सर्वस्वीकार्य नेपाली चाड हो । यमपञ्चकमा क्रमशः सञ्चारको दूत काग, बफादार जनावर कुकुर, दूधरूपी अमृत दिने गाई, गोरु र दाजुभाइको पूजा गरिन्छ । शरीरलाई पनि उत्तिकै हेरचाह गर्नुपर्छ भनेर तिहारको चौथो दिन नेवार समुदायमा म्हः पूजा पनि गरिन्छ । धार्मिक, सामाजिक र सांस्कृतिक उत्सवको रूपमा मनाइने तिहार दीप प्रज्वलनको पर्व भएकाले यसलाई दीपावली पनि भनिन्छ । नेपाली समाजमा प्रकृति पूजक र पशुपन्छीपूजक समुदाय छन् । नेपाली समाजले आफ्ना प्रमुख चाडबाडमा आफूमात्र रमाइलो गर्दैन, घरपालुवा जनावरको पनि भरपूर सेवा सत्कार गर्छ । यमपञ्चकमा काग, कुकुर, गाई र गोरु जस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु नेपाली मौलिकताको उदाहरण हो । फूलमाला, रङ, झिलिमिली बत्ती र देउसीभैलोले तिहारमा अन्य पर्वको भन्दा बेग्लै रौनक थपेको हुन्छ । त्यसैले, यो बच्चादेखि वृद्धसम्म सबैलाई मन पर्ने हर्षोल्लासको पर्व मानिँदै आएको छ । काग तिहार भूकम्प जान लागेको खबर सर्वप्रथम कागलगायत चराचुरुङ्गीले थाहा पाउँछन् । कागले प्राकृतिक विपत्तिको पूर्वसङ्केत दिन्छ । कागलाई मृत्युको दूत पनि मानिन्छ । कागले मानिसको घरमा सन्देश पुर्‍याउने काम गर्छ भन्ने मान्यता छ । कागले भाग्यको सन्देश ल्याउने विश्वासका कारण तिहारको पहिलो दिन कागको पूजा गरिन्छ ।

कुकुर तिहार कुकुर हाम्रो समाजको रक्षक हो । गल्ली र सडकमा डुल्ने भुस्याहा कुकुरले पनि हाम्रो घरलाई पहरा दिने र चोरको सङ्केत दिने गर्छ । सबैभन्दा बफादार प्राणी कुकुर पनि हाम्रो समाजको अङ्ग हो भनी तिहारको दोस्रो दिन यसलाई पुज्ने गरिन्छ । विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गर्छ । खाने कुरा थोरै पाए पनि सन्तुष्ट हुने, धेरै दिए पनि खाने प्राणी हो कुकुर । कुकुरका यी गुण सम्झँदै यस दिन उसलाई पूजा गरेर मीठो खानेकुरा खान दिइन्छ । घरमा कुकुर नभएकाहरूले पनि विभिन्न परिकार तयार गरेर आफ्नो टोलछिमेकमा भएका कुकुरहरूलाई दिने चलन छ । लक्ष्मीपूजा/गाई तिहार तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको विशेष पूजाअर्चना गरिन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्न रुचाउने देवी भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीसँगै तेल तथा पानीको प्रयोग धेरै हुन्छ । उज्यालो लक्ष्मीको प्रतीक हो । त्यसैले, घर तथा भण्डारमा लक्ष्मी डाक्न बत्तीको प्रयोग बढी हुन्छ । यस दिन बिहान समृद्धि र धनको प्रतीकका रूपमा लिइने गाइको पूजा गरिन्छ भने साँझ दीपावली गर्दै लक्ष्मीको पूजा गरिन्छ । यसै दिन नेवार समुदायमा अन्न पूजा गरिन्छ । कृषिपेशामा संलग्न रहँदै आएका नेवारहरू यस दिन घरमा भित्र्याइएको नयाँ अन्नको पूजा गर्छन् । आफ्नो घरमा अन्न भण्डारण गरिएका जति ठाउँ छन्, ती सबैमा पूजा गर्ने परम्परा छ ।गोवर्द्धन पूजा/म्हःपूजा तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिन्छ । यस दिन बिहान सबेरै गोबरको पूजा गरिन्छ । गाईगोठमा पनि पूजा गर्ने परम्परा रहिआएको छ । साथै, कृषि कार्यमा महत्त्वपूर्ण योगदान दिने गोरुको समेत पूजा गर्ने चलन छ ।यही दिन विभिन्न बाजाका साथ नाच्दै/गाउँदै देउसी खेल्ने गरिन्छ । देउसी खेल्न आएकाहरूलाई पनि सेलरोटी, विभिन्न फलफूल र दक्षिणा दिइन्छ ।नेवार समुदायमा यस दिनको छुट्टै महत्त्व छ । उनीहरू यस दिन ‘म्हः’ अर्थात् आफ्नो शरीरलाई पूजा गर्छन् । वर्षभरि आफ्नो शरीरले साथ दिएको र नयाँ वर्षमा पनि विभिन्न बाधाअड्चन पार गरी पञ्च तत्त्वबाट बनेको आफ्नो शरीर सन्तुलित राख्दै जीवन अगाडि बढाउन सकियोस् भनी म्हःपूजा गरिन्छ । शरीरका अलावा आफ्नो घरमा रहेका कुचो, भाँडाकुडा, नाङ्ला, सिलौटालगायत दैनिक प्रयोगमा आउने सामग्रीलाई पनि उत्तिकै श्रद्धा गर्नुपर्छ भने सन्देश दिन तिहारको चौथो दिन तिनलाई पुज्ने गरिन्छ । यसै दिनदेखि नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् शुरू हुन्छ ।

भाइटीका तिहारको पाँचौं दिन भाइटीका हो । यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई दीर्घायुको कामना गर्दै टीका लगाइदिने गर्छन् । यस दिन यमराज पनि आफ्नी बहिनी यमुनाको हातबाट टीका ग्रहण गर्न जान्छन् भन्ने जनविश्वास छ । कहिल्यै नसुक्ने मखमली फूलको मालासहित जल र तेलले घेरेर दाजुभाइको पूजा गर्दा यमराजका दूतले पनि केही गर्न सक्दैनन् भन्ने विश्वास छ । पञ्चरङ्गी टीकालाई पृथ्वी, वायु, तेज, आकाश र जलको प्रतीकका रूपमा लिइन्छ । टीका र माला ग्रहण गरेपछि दाजुभाईले आफ्ना दिदीबहिनीलाई उपहार दिने प्रचलन छ ।
देउसीभैलो खेल्ने चलन देउसीभैलोमा भनिने एउटा लाइन छ– ‘हामी त्यसै आएनौं, बलि राजाले पठाए ।’ तिहारमा खेलिने देउसीभैलोसँग बली राजाको पनि कथा जोडिएको छ । तर, ती बली राजा भगवान् विष्णुलाई तीन पाउ जमीन दान दिने पौराणिक राजा नभएर नेपालकै राजा हुन् । १ हजार वर्षअघि सिञ्जा (जुम्ला)का बली राजाले यो चलन चलाएका हुन् भन्ने बलियो तर्क छ ।राजा भएपछि उनले राज्य सञ्चालन गर्न, युद्ध लड्न र पुण्यका काम गर्न जनतासँग चन्दा असुल गर्ने राम्रो उपाय निकाले । त्यसबेला देवदास र देवदासीहरूको प्रचलन थियो । तिनै दासदासी र सर्वसाधारणलाई यही यम पञ्चकको समयमा बली राजाले ‘जाओ, तिमीहरू आर्थिक सहायता मागेर ल्याओ’ भनेर आज्ञा दिए । उनीहरूले देउसीभैलो खेलेर अन्न बटुले । देवदासीहरूले भैलो खेले र देवदासहरूले देउसुरे खेले । ‘हामी त्यसै आएनांै, बली राजाले पठाए’ भनेपछि सबैले धान, चामल, रोटी, रक्सी, पैसाआदि जसले जे सक्यो, त्यही दिने गरे । त्यसपछि राम्रो लागेर र पैसाचामल उठाउन पाइने भएर अरूले पनि खेल्न थाले । पश्चिमतिरबाट पूर्व र पूर्वतिर हँुदै सबैतिर फैलियो । विशेषगरी केटाकेटी र महिलाहरू विभिन्न बाजा घन्काउँदै घरघरमा गई देउसीभैलो खेल्ने गर्छन् । उनीहरूलाई घरमूलीले सेलरोटी, फलफूल, दक्षिणा आदि दिने गर्छन् ।सप्तरङ्गी टीका सप्तरङ्गी सूर्यको सात रङको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ । सूर्य सौर्यमण्डलको अधिपति हो । अनि सौर्यशक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीका लागि सप्तरङ्गी टीका लगाइएको हो । सबै शक्ति तिमीमै केन्द्रित होस् भन्ने अर्थमा यस्तो गरिएको हो ।परापूर्वकालमा पहेँलो रङका लागि बेसारको प्रयोग गरिन्थ्यो । हरियो रङका लागि दूबोबाट लेप बनाइन्थ्यो । त्यस्तै, अन्य रङका लागि काफल र विभिन्न फूलहरूको प्रयोग गरिन्थ्यो । यसरी आफ्नै गाउँघरका कुरा प्रयोग गरेर सप्तरङ्गी टीका लगाइन्थ्यो । दशैंतिहार होस् वा कुनै पनि बेला होस्, निधारमा टीका लगाउने प्रचलन हाम्रा ऋषिमुनि (प्राचीन वैज्ञानिक)हरूको महान् आविष्कार हो । निधारमा टीका लगाउनुको पनि वैज्ञानिक महŒव छ । दुई आ“खीभौंबीचको भागमा टीका लगाउनाले आज्ञाचक्र वा पिनियल ग्लैण्ड सक्रिय हुन्छ, जसले गर्दा मस्तिष्क शक्ति तथा चेतना शक्ति बढ्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।