पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माण तीव्र

Share News
कास्की । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको यस विमानस्थलको निर्माण शुरू भएको करीब १ वर्षमा १७ प्रतिशत काम सम्पन्न भइसकेको छ । बेलाबेलामा विवादित बन्ने गरेको यस विमानस्थलमा टर्मिनल भवनको फाउण्डेशनको काम सकिएर जग उठाउने प्रक्रिया शुरू भएको छ । विमानस्थलका इञ्जिनीयर कृष्ण पौडेलका अनुसार विमानस्थल क्षेत्रमा पहिलो चरणअन्तर्गत विमानस्थलले ओगट्ने भूभाग सम्याएर रनवे, ट्याक्सी वे, एप्रोनको आधार बनाउने (सवबेस) र नाला निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थलको चिनियाँ निर्माण कम्पनी सीएएमसीले गत वर्षको साउन १८ गतेदेखि निर्माण थालेको थियो । कम्पनीले निर्माण थालेको १५ महीनाको अवधिमा जमीन सम्याउन र प्राविधिक रूपमा पूर्वाधार बनाउन साढे ११ लाख क्युबिक मिटर माटो काट्नेसहित ६५ प्रतिशत काम सकेको छ । बहुप्रतिष्ठित पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया चलिरहेको बेला केही दिनअघि प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको टोली विमानस्थल पुगेर निर्माण प्रक्रियाबारे जानकारी लिएको छ । विमानस्थल निर्माणमा सबैको चासो रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । उनले चिनियाँ निर्माण कम्पनी सीएएमसीका प्रतिनिधिलाई गुणस्तरको कुरामा चुक्न नहुने सुझाव दिए । आयोजनाप्रमुख विनेश मुनाकर्मीले टोलीलाई आयोजनाको अवस्थाबारे जानकारी गराएका थिए । उनले समग्र आयोजनाको काम १७ प्रतिशत र २ अर्बभन्दा बढी वित्तीय प्रगति भएको जानकारी दिए । निर्माणका लागि आवश्यक डोजर, लोडर, टिपरलगायत ८० उपकरणमार्फत साढे २ सय कामदारले दैनिक रूपमा विमानस्थलमा काम गरिरहेको निर्माण कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले बताए । काममा दैनिक ५० प्राविधिक खटिँदै आएका छन् । प्रमुख मुनाकर्मीका अनुसार अबदेखि राति पनि काम गर्ने तयारी भइरहेको छ । सन् २०१९ भित्र रनवे निर्माण सकिनेछ भने टर्मिनल भवन २०२० को जुलाईसम्ममा बनिसक्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।