म्हः पूजा नेवारी संस्कृतिको पहिचान र विशेषता बोकेको पर्व हो । कात्तिक शुक्ल प्रतिपदा अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट म्हः पूजा गरिन्छ । आफ्नो शरीरको हेरचाहमा ध्यान दिनुपर्ने सन्देश यो दिनले दिएको छ । विश्वभरका नेवारले अन्य पर्वको तुलनामा म्हः पूजालाई विशेष महŒव दिने गरेका छन् । म्हः पूजालाई आत्मपूजा पनि भन्ने गरिन्छ । नेवारी भाषामा म्हःको अर्थ शरीर हो । त्यसैले, समग्रमा म्हः पूजाको अर्थ शरीरको पूजा हो । नेवारी समाजमा जेष्ठ महिला नै घरको मुली हुने गर्छन् । यस कारण परिवारका ज्येष्ठ महिला, जसलाई परिवारले नकिं (महिला नेतृ) मानेको हुन्छ, उनले म्हः पूजा गर्ने चलन छ । म्हः पूजा गर्नुपूर्व परिवारका प्रत्येक सदस्यको नाममा मण्डप (मण्डला) बनाइन्छ । मण्डपमा खाने तेलको सानो घेरालाई बीचमा पारेर क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रङ्गाएको चामलको धूलो, त्यसपछि पानी र रङ्गीबिरङ्गी फूलका घेरा हालिन्छ । उमेर र मर्यादाक्रमअनुसार परिवारका सदस्यहरू मण्डलाको अगाडि लस्करै बसेर यो पूजा गरिन्छ । पूजामा विभिन्न प्रकारका फूल, धूप, फलफूल, अक्षता, मिठाई आदिको प्रयोग हुन्छ । मण्डपमा दियो बाल्न नकिंले निर्देश गरेपछि म्हः पूजा शुरू हुन्छ । नकिंले मुटुमरी (इँट आकारको चामलको पीठोको बफेको रोटी), फूल, अक्षता र ओखरलाई बाँस वा काठको मानोमा राखेर प्रत्येक व्यक्तिको टाउकाबाट तीन–तीन पटक खन्याइन्छ । टाउकोमा तेल मालिस गर्ने, पूजा गर्ने, टीका लगाइदिने कार्य सकिएपछि माला लगाइदिइन्छ । मखमली फूलको माला र धागोबाट बनाएको नेवारी माला लगाइदिएपछि पहिलो चरणको म्हः पूजा सकिन्छ । पहिलो चरणको पूजा सकेपछि मण्डपलाई फूलको गुच्छाले बढारिन्छ । दोस्रो चरणमा सगुनका रूपमा रक्सी, अण्डा, माछा, फलफूल आदि दिइन्छ । म्हः पूजा पनि नेवार समुदायका विभिन्न जातिले विभिन्न प्रकारले गर्छन् । कतिपय समुदायमा म्हः पूजा गर्दा कुचो, खुकुरी आदिको पनि पूजा गर्ने चलन छ । म्हः पूजा प्रायः बेलुका गर्ने चलन छ । भाँडाकुँडाको पूजा आफ्नो शरीरलाई जस्तै दैनिक प्रयोगमा आउने सरसामानको पनि पूजा गर्ने प्रचलन नेवार समुदायमा छ । चम्चादेखि फ्रिजसम्मको सरसफाइ गरी सामानको पूजा गर्ने प्रचलन अद्यावधि छ । अरू बेला नाङ्लो र कुचोलाई छुवाउनै नहुने मान्यता राख्ने यो जातिले त्यो दिन नयाँ कुचो र नाङ्लो सँगै राखेर पूजा गर्छन् । पानी राख्ने गाग्री, करुवा, सिलौटो सफा गरी तान्त्रिक रूपमा पुज्ने प्रचलन यस समुदायमा छ । घरका सम्पूर्ण सामग्रीको पूजा गरिसकेपछि मात्रै म्हः पूजा गरिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।