नेपालीको मौलिक संवत् नेपाल संवत्

Share News
नेपाल संवतको नयाँ वर्ष शुरू हुने दिन नै नेवारहरूको म्हः पूजा गर्ने भएकाले धेरैजसोलाई यो नेवारहरूको संवत् भन्ने भ्रम छ । तर, नेपाल संवत् शुरू भएको भोलि कात्तिक २२ गते ११३८ वर्ष पूरा हुन्छ भने नेवारहरूले म्हः पूजा गर्न शुरू गरेको ११८७ वर्ष भइसकेको छ । म्हः पूजा शुरू गरिँदा यहाँ लिच्छवि राजा जयदेव द्वितीयले शासन गरेका थिए । पश्चिम भारतबाट आएका लिच्छविहरूले यहाँ शासन गरेपछि आफ्नै लिच्छवि संवत् चलाएका थिए । नेपाल संवत् जस्तै लिच्छवि संवत् पनि चन्द्रमासको आधारमा थियो । चन्द्रमासअनुसार असोज शुक्ल प्रतिपदा एवम् कछलागा प्रतिपदाका दिन नेपाल संवत् को नयाँ वर्ष शुरू हुन्छ । यहाँ नेपाल संवत् शुरू हुँदा लिच्छवि संवत् ८०२ रहेको इतिहासविद्हरू बताउँछन् । ऐतिहासिक पृष्ठभूमि नेपाली इतिहासको लिच्छवि कालको सामन्ती युग जर्जर अवस्थामा रहेको बेला नेपाल संवत् प्रचलनमा आएको थियो । त्यसबेला देशका धेरै मानिसको आर्थिक स्थिति राम्रो थिएन । धेरैजसो जनता ऋणमा डुबेका थिए । ‘ज्यापु पञ्चः नेपाल संवत् र शङ्खधर साख्वा, केही विवेचना’ विषयक एक लेखका अनुसार सामन्ती शोषणका कारण त्यसबेला राज्यमा विद्रोहको स्थिति थियो । नेपाल संवत् बारे इतिहासकार हरिराम जोशी भन्छन्, ‘लिच्छविहरूको शक्ति शिथिल भएको बेला शङ्खधर नामका एक साहूले देशको विकट स्थितिमाथि काबु गरी देशलाई स्थायित्व प्रदान गरेका थिए ।’ शङ्खधर नेपाल संवत्का प्रवर्तक हुन् । नेपालमा संवत् फेर्न मुलुकका सबै ऋणीहरूको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो । यसै मान्यताअनुरूप शङ्खधरले ऋणीहरूको ऋण तिरी नेपाल संवत् चलाएका थिए । यसबाट के स्पष्ट हुन्छ भने उत्तर लिच्छवि कालमा मानिसको आर्थिक स्थिति राम्रो थिएन । यसै पृष्ठभूमिमा ऋणबाट थिचिएका आम जनतालाई ऋणबाट मुक्ति दिलाउन शङ्खधर साख्वाले नेपाल संवत् चलाएको देखिन्छ । नेपालको मौलिक संवत् नेपाल संवत् शङ्खधरले राजा राघवदेव र आनन्ददेवको पालामा यो संवत् चलाए पनि यसको नाम नेपाल संवत् रहेकाले यो हाम्रो स्वाभिमानको प्रतीक हो । यसलाई कदर गर्दै नेसं ११२८ अर्थात् विसं २०६५ सालमा सरकारले यस नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरेको छ । व्यावहारिक संवत् अधिकांश नेपालीको जन्मदेखि मृत्युसम्मका सबैजसो कर्मकाण्ड चन्द्रमासको तिथिबाट गरिन्छ । दशैं, तिहार, छठ, जनैपूर्णिमा, बुद्ध पूर्णिमा, रामनवमी, कृष्णाष्टमी, तीजलगायत अधिकांश चाडपर्व चन्द्रमास पात्रोअनुसार मनाइन्छ । अधिकांश सरकारी बिदा पनि चन्द्रमासकै गणनाअनुसार दिइन्छ । हाम्रा चाडपर्व रीतिरिवाज चन्द्रमासअनुरूप चल्ने नेपाल संवत् अनुसार नै व्यवहारमा प्रयोग गरिँदै आएको छ । नेपाल संवत््को ११३८ वर्षको इतिहासमा ९ सय वर्षसम्म नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गरिएको थियो । विसं १९६० मा चन्द्रशम्शेरले जागीरदारलाई तलब दिन अप्ठ्यारो र दिनगन्ती असजिलो भयो भनी नेपाल संवत् हटाएका थिए । यद्यपि, अहिलेसम्म जनतामाझ यो संवत्् प्रचलनमा छ । नेपाल संवत् नेवारहरूको संवतमात्र भनेर भ्रम छरिरहँदा भक्तपुरको प्रमुख जात्राको रूपमा रहेकोे बिस्केट जात्रा विक्रम संवतअनुसार प्रत्येक वैशाख १ गते मनाइन्छ । घिउचाकु सङ्क्रान्ति, नवदुर्गा जात्रा विक्रम संवत््अनुसार मनाइन्छ । नेवारहरूले नेपाल संवत््लाई चाडपर्व र संस्कारको प्रमुख संवत्का रूपमा मनाइँदै विक्रम संवत्लाई पनि अँगाल्दै आउँदा सरकारले भने यसलाई व्यवहारमा प्रयोग गर्न कञ्जुस्याइँ गर्दै आएको छ । नेपालमा प्रचलनमा ल्याइएका संवत् हरू नेपाली इतिहासले नेपालमा चारओटा संवत् प्रचलनमा आएको देखाएको छ । शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत् । यी चारओटामध्ये नेपाल संवत् सबैभन्दा चलेको संवत् हो ।नेपाल संवत् १ देखि ८८८ सम्म गरी ८८८ वर्ष र विक्रम संवत् चन्द्रशम्शेरको पालादेखि अहिलेसम्म गरी १०७ वर्षजति प्रचलनमा आइसकेको छ ।सबैभन्दा पहिले प्रचलनमा ल्याइएको देखिएको शक संवत् लिच्छविकालको शुरूमा र पछि पृथ्वीनारायण शाहले पुनः लागू गरेको देखिन्छ । यो संवत् पहिले २०० देखि ५२६ सम्म र पछि १६९० देखि १८२५ सम्म गरी ५ सय वर्ष जति प्रयोगमा रहेको इतिहासविद्हरू बताउँछन् । मानदेव संवत् ३०४ वर्ष चलाइएको पाइन्छ । नेपालको इतिहास हेर्दा ९० प्रतिशतभन्दा बढी अभिलेख नेपाल संवत्मा लेखिएको पाइन्छ ।नेपालको प्रारम्भिक इतिहास अत्यन्त अस्पष्ट र अनुमान तथा किंवदन्तीहरूले भरिएको छ । किरात कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । शक संवत् भारतका शकवंशीय शासकहरूको नामबाट चलाइएको संवत् हो जुन आज पनि भारतमा राष्ट्रिय संवत्को रूपमा प्रचलनमा छ । अहिले शक संवत् १९३४ हो ।महासामन्त अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा मानदेव संवत् चलाए भने राजा राघवदेवको पालामा नेपाल संवत् चलाइयो । नेपाल संवत् ८८८ मा नेपालमाथि विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले शक संवत् र नेपाल संवत्लाई पुनः प्रचलनमा ल्याए । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशम्शेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा विक्रमादित्यको नाममा चलाइएको दाबी गरिएको विक्रम संवत् प्रचलनमा ल्याए, जुन आजसम्म कायमै छ ।नेपाल संवत् यहाँ तत्कालीन समयमा प्रचलित भएको शक संवत्् वा अहिले प्रचलित विक्रम संवतजस्तै बाहिरबाट आयातित विदेशी संवत्् होइन । यस संवत्को प्रचलनलाई रोकिएको पनि छैन । शक संवत्् ४९८ सकिनासाथ मानदेव संवत् शुरू भयो तथा उक्त संवत् सार्वजनिक प्रचलनमा आएन । माथि उल्लेख भएजस्तै नेपालमा अहिले र पहिले प्रचलित सबै संवतमध्ये मानदेव संवत् र नेपाल संवत््मात्र स्वदेशी संवत्् हुन् । मानदेव संवत् ई. ५६६ साल (विसं ६३३, शक सं ८०२) सालमा रोकियो । यसको स्थान नेपाल संवतले लियो र त्यसबेलादेखि अहिलेसम्म एक स्वदेशी संवत् को रूपमा नेपाली इतिहासमा यसको विशेष भूमिका छ ।चीनमा नेपाल संवत् यो संवत्ले छिमेकी देश चीनमा पनि मान्यता पाएको थियो । इतिहासविद् धनवज्र जोशीका अनुसार चीनको मिङवंशी वादशाह पनि नेपालको काभ्रेतिरका सामन्त राजा शक्तिसिंह राव बच्चनलाई लेखेको परवाना पत्रको सकल परराष्ट्र मन्त्रालयमा सुरक्षित छ । रञ्जना लिपि संस्कृत भाषामा लेखिएको उक्त पत्रमा नेपाल संवत् ५३५ अङ्कित छ, जुन रञ्जना लिपिसहित नेपाल संवत्को पनि प्रचलन केही रूपमा चीनमा भइरहेको पुष्टि हुन्छ ।प्रताप सिंह शाहको पालामा तिब्बतसँगको सन्धिमा नेपाल संवत् र नेपाल भाषा प्रयोग गरिएको पाइन्छ । त्यस्तै, अन्य सन्धिसम्झौतामा पनि नेपाल संवत् प्रयोग भएको पाइन्छ ।नेपाल संवतको परिचय नेपाल संवत् चन्द्रमासमा आधारित संवत् हो । मोटामोटी रूपमा चन्द्रवर्ष ३ सय ५४ दिनको हुन्छ र करीब ३ वर्षमा अधिकमास हुन्छ । नेपाल संवत् अनुसार पनि १ वर्षको १२ महीना हुन्छ । तर, हरेक तेस्रो वर्षमा १ वर्षको १३ महीना हुन्छ । नेपाल संवत् अनुसारका महीनाहरू यसप्रकार छन् : १. कछला २. थिङ्ला ३. पोहेला ४. सिल्ला ५. चिल्ला ६. चौला ७. बछला ८. तछला ९. दिल्ला १०. गुँला ११. ञँला १२. कौला उपर्‍युक्त १२ महीनाका अतिरिक्त प्रत्येक ३ वर्षमा आउने अधिकमासलाई ‘अनाला’ (मलमास) भनिन्छ । नेपाल संवत््का महीनालाई शुक्लपक्ष र कृष्णपक्षअनुसार दुई भागमा विभाजन गरिन्छ । शुक्लपक्षलाई बुझाउन महीनाको अन्त्यमा ‘थ्व’ जोडिन्छ । जस्तै– कछलाथ्व, थिँलाथ्व, पोहेलाथ्व, सिलाथ्व इत्यादि । त्यस्तै, कृष्णपक्षलाई बुझाउन महीनाको अन्त्यमा ‘गाः’ जोडिन्छ । जस्तै– चिंल्लागाः, चौलागाः, वछलागाः, अनालागाः इत्यादि ।नेपाल संवत् कात्तिक शुक्लपक्ष प्रतिपदा अर्थात् कछलाथ्व पारुदेखि प्रारम्भ हुन्छ ।नेपाल संवत् प्रयोग गर्ने पात्रो चन्द्रमासमा आधारित छ । यसमा मुसलमानहरूले प्रयोग गर्ने क्यालेण्डरमा जस्तै विशुद्ध चन्द्रमास नभएर दिन र वर्षलाई मात्र सूर्यमासका आधारमा मिलाएर प्रयोगमा ल्याएको देखिन्छ । यस्तै प्रकारले सूर्योदय हुने समयमा कुनै कुनै तिथि परेको देखिन्छ । त्यसै तिथिलाई त्यस दिनको तिथिको रूपमा लिइयो र यसै प्रकारले तिथि दोहोरिने र टुट्ने भइरहेको पाइन्छ । शक संवत् र भारतमा विक्रम संवत््को पनि चन्द्रमास यसरी नै गणना भइरहेको देखिन्छ । यस अर्थले यो पूर्वीय सभ्यताको परम्परा नै हो भन्ने स्पष्ट हुन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।