पोखरामा पूर्वाधार निर्माण : सुन्दर शहरका लागि दीर्घकालीन सोचमा जोड

Share News
कास्की । पोखरालाई सुन्दर र व्यवस्थित शहर बनाउन दीर्घकालीन सोचका साथ भौगोलिक अध्ययन र भू—उपयोग नीति बनाएर मात्र पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड बनाउन राजनीतिक दलका नेताहरूले सुझाव दिएका छन् । कस्तो पोखरा बनाउने हो भन्ने दीर्घकालीन सोच राखेर मात्र मापदण्ड बनाउन दलका प्रतिनिधिहरूले महानगरपालिकालाई सुझाव दिएका हुन् । महानगरले गठन गरेको विज्ञ समूहले भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन आयोजित छलफलमा मापदण्ड संवेदनशील विषय भएको र यसले दीर्घकालीन असर पार्ने भएकाले पोखराको जग्गाको उपयोग नीति बनाउन सुझाव दिइएको छ । महानगरले मापदण्डको विषयमा यसअघि सांसद तथा अन्य सरोकारवाला निकायको समेत रायसुझाव लिइसकेको छ । छलफलमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले पोखराको भूबनोटको अध्ययन गरेर भार क्षमता र जग्गाको आधरमा भवन तथा पूर्वाधार निर्माण गर्नुपर्ने बताए । ‘अग्ला भवन समयको माग भएकाले जमीनको भार क्षमता अध्ययन गरेर ठाउँअनुसार कति तलासम्म बनाउन मिल्ने हो, त्यसका अधारमा भवन निर्माणको मापदण्ड तोक्नु पर्छ,’ उनले भने । काङ्ग्रेसका पोखरा नगर सभापति बजिरमान श्रेष्ठले भने, ‘पर्यटक अग्ला घर हेर्न आउँदैनन्, त्यसैले लेकसाइड क्षेत्रमा अग्ला घर बनाउन रोक्नु पर्छ ।’ पोखराको भौगोलिक अवस्थालाई ध्यानमा राखेर, विगतका मापदण्डसम्बन्धी प्रतिवेदनलाई समेत अध्ययन गरी वैज्ञानिक ढङ्गबाट नै मापदण्ड तयार पारिएको मापदण्ड निर्धारण सुझाव समितिका सदस्यसचिव तथा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए । महानगरपालिकाले प्राध्यापक डाक्टर भरतराज पहारीको संयोजकत्वमा गठन गरेको मापदण्ड निर्धारण सुझाव समितिले भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ तयार पारेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।