स्मार्टफोनको प्रयोग गर्ने प्रचलन बढ्न थालेपछि एप्लिकेशन निर्माणले पनि तीव्रता पाउन थालेको छ । अहिले गूगलको प्लेस्टोरमा मात्र ६० लाखभन्दा बढी एण्ड्रोइड एप्स उपलब्ध छन् । एप्लिकेशन निर्माण गर्न अहिले इण्टरनेटमा ट्युटोरियल्स (कक्षा) पनि उपलब्ध छन् ।
प्रविधिको विकाससँगै विशेषगरी युवापुस्तालाई इण्टरनेटमा अनावश्यक समय गर्ने आरोप लाग्ने गरेको छ । सामाजिक सञ्जालमा युवाले बिताउने समयलाई लिएर यस्तो भनिएको हो । तर, इण्टरनेट आफैमा गलत माध्यम होइन । यदि तपाईंको झुकाव इण्टरनेटमा छ भने त्यो समय उत्पादनमूलक काममा पनि लगाउन सकिन्छ । त्यसपछि इण्टरनेट तपाईंको पैसा कमाउने राम्रो साथी पनि बन्न सक्छ । इण्टरनेटबाट पैसा कमाउने केही तरीका यस्ता छन् :
पुस्तक प्रकाशन
तपाईं पुस्तक लेख्नुहुन्छ । तर, प्रकाशन गर्ने माध्यम पाउनुभएको छैन भने इण्टरनेट खोल्नुहोस् । त्यहाँ तपाईंले एमेजनको किण्डल डाइरेक्ट पब्लिकेशनको प्रयोग गरी पुस्तक प्रकाशन गर्न सक्नुहुन्छ । यति मात्र होइन, त्यहाँ प्रकाशन भएको किताबले विभिन्न सञ्चारमाध्यममा विज्ञापनको अवसर पनि पाउँछ । यो सुविधा निःशुल्क उपलब्ध छ । त्यहाँबाट पुस्तक विक्री भएमा तपाईंले रोयल्टी प्राप्त गर्नुहुन्छ । यदि तपाईंले आफ्नो पुस्तक सबै देशका लागि विक्री खुला गर्नुभएको छ भने ३५ र निश्चित देशमा मात्र खुला छ भने त्यसबापत ७० प्रतिशत रोयल्टी प्राप्त गर्न सक्नुहुन्छ ।
एप्लिकेशन निर्माण तथा विक्री
स्मार्टफोनको प्रयोग गर्ने प्रचलन बढ्न थालेपछि एप्लिकेशन निर्माणले पनि तीव्रता पाउन थालेको छ । अहिले गूगलको प्लेस्टोरमा मात्र ६० लाखभन्दा बढी एण्ड्रोइड एप्स उपलब्ध छन् । एप्लिकेशन निर्माण गर्न अहिले इण्टरनेटमा ट्युटोरियल्स (कक्षा) पनि उपलब्ध छन् । एप्लिकेशन निर्माण गरेर यसलाई तपाईंले एपस्टोरमा उपलब्ध गराउन सक्नुहुन्छ । यस्ता एप्सको विक्रीबाट उठेको रकममा केही शुल्क घटाएर तपाईंले मासिक तलबका रूपमा पैसा आर्जन गर्न सक्नुहुन्छ ।
अनलाइन फोटो विक्री
सटरस्टक डटकम, सटरप्वाइण्ट डटकम, आइस्टकफोटो डटकमलगायतका वेबसाइटले आफ्ना सदस्यका फोटो अनलाइनमा प्रकाशन गर्छन् । यस्ता वेबसाइटमा फोटो राखेर विक्री गर्न सकिन्छ । त्यस्ता फोटो विक्री भएमा नियमअनुसार १५ देखि ८५ प्रतिशतसम्म रोयल्टी प्राप्त गर्न सकिन्छ । जति राम्रा र धेरै फोटा वेबसाइटमा प्रकाशन हुन पाउँछन्, त्यति नै विक्री सङ्ख्या र नाफा पनि बढ्ने सम्भावना हुन्छ । तर, तपाईंले विक्रीका लागि राख्न चाहेका फोटा वेबसाइटका कर्मचारीमार्फत स्वीकृत हुनुपर्छ ।
‘सेकेण्डह्याण्ड’ सामानको विक्री
आफ्ना घरमा रहेका पुराना तथा अनावश्यक सामग्रीको विक्री इण्टरनेटमार्फत गर्न सकिन्छ । यसका लागि ओएलएक्स डटकम डटइन, क्विकर डटकमजस्ता वेबसाइटको प्रयोग गर्न सकिन्छ । तर, यसका लागि भने एकाउण्ट खोलेको हुनुपर्छ । यसमा तपाईंले विक्री गर्न चाहेको सामग्रीको जानकारी, मूल्य र तस्वीरहरू उपलब्ध गराउनुपर्ने हुन्छ । यो सेवा सित्तैमा उपलब्ध छ ।
अनलाइन पसल
तपाईंसँग सृजनशीलता छ भने आफ्नो इच्छा भएको क्षेत्रसँग सम्बन्धित कार्य सिक्न सक्नुहुन्छ । थोक अथवा अधिकृत विक्रेता तपाईंको सम्पर्कमा छ भने त्यहाँबाट सस्तोमा सामान खरीद गरेर अनलाइन पसल पनि खोल्न सक्नुहुन्छ । ई–वे डटकम, इण्डिबजार डटकमलगायत साइटहरू यसका लागि प्रयोग गर्न सकिन्छ ।
अनलाइन जब
ओडेस्क डटकम, एलियन्स डटकमजस्ता केही कम्पनीले अनलाइनमा उनीहरूको काम गरेबापत तलब दिने गर्छन् । कामका आधारमा उनीहरूले तपाईंलाई कण्ट्र्याक्टर, फ्रिलान्सरजस्ता पद पनि दिएर राख्छन् । इण्टरनेटमा काम गरेको घण्टाका आधारमा तपाईंले तलब पाउनुहुन्छ ।
अनलाइन अध्यापन
यदि तपाईं कुनै विषयमा राम्रो दख्खल राख्नुहुन्छ भने अनलाइनमार्फत अध्यापन गर्न सक्नुहुन्छ । ट्युशन डटनेट वा ट्युटरभिष्टाजस्ता वेबसाइट लगइन गरेर तपाईंले आफ्नो विषयमा अध्यापन गर्न सक्नुहुन्छ । यस्ता वेबसाइटमा आफूले पढाउन चाहेको विषय, अनुभव, उपलब्ध समय र पैसाको विवरण दिएपश्चात् यसको सदस्य हुन पाइन्छ । वेबसाइटले त्यसलाई अनुगमन गरेर स्वीकृति दिएपछि तपार्इंको प्रोफाइल विद्यार्थीका लागि साइटमा राखिन्छ । यसपछि इच्छुक विद्यार्थीले ट्युशनका लागि तपाईंसँग सम्पर्क गर्छन् । च्याटको प्रयोग गरी तपाईं आफ्नो घरैमा बसी विश्वभरका विद्यार्थीलाई पढाउन सक्नुहुन्छ ।
शुरुआती अवस्थामा अनुमानित मासिक आम्दानी
पुस्तक प्रकाशन रू. १५ हजार
एप्लिकेशन निर्माण तथा विक्री रू. ५० हजार
अनलाइन फोटो विक्री रू. १० हजार
सेकेण्डह्याण्ड सामानको विक्री रू. ५० हजार
अनलाइन पसल रू. २५ हजार
अनलाइन जब रू. ३० हजार
ई–ट्युटोरिङ रू. १० हजार
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।