अण्डामा ठगिँदै उपभोक्ता : ७ रुपैयाँमा खरीद गरी १५ मा विक्री

Share News
काठमाडौं । खुद्रा व्यापारीले ७ रुपैयाँमा खरीद गरेको अण्डा १५ रुपैयाँसम्ममा विक्री गरिरहेका छन् । कृषकले पाएको मूल्य र उपभोक्ताको खरीद मूल्य हेर्दा यो अवस्था देखिएको हो । भरतपुर–२१ का कुखुरापालक नारायण चालिसेले आफूहरूले १ हजार ४ सय ७० रुपैयाँमा एक कार्टुन (२ सय १० ओटा) अण्डा विक्री गरिरहेको बताए । यस हिसाबले उनलाई प्रतिगोटा ७ रुपैयाँ प्राप्त हुन्छ । सोही अण्डा काठमाडौंमा १२ देखि १५ रुपैयाँमा विक्री हुँदै आएको छ । त्यस्तै, भक्तपुरका कुखुरापालक लक्ष्मण कोजूले पनि प्रतिगोटा ९ रुपैयाँमा अण्डा बजारमा पठाउँदै आएका छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष त्रिलोचन कँडेल भन्छन्, ‘हामीले उपभोक्ता नठगिऊन् भनेर नै अण्डाको खुद्रा र थोक मूल्य निर्धारण गर्दै आएका छौं ।’ उनका अनुसार अण्डाको थोक मूल्य प्रतिकार्टुन १ हजार ६ सय ४५ रुपैयाँ निर्धारण गर्दा पनि व्यापारीले अण्डाबाट धेरै नाफा कमाइरहेका छन् । सरकारले बजार अनुगमन नगरेका कारण उपभोक्ता ठगिएको अध्यक्ष कँडेलको भनाइ छ । बागेश्वरी सप्लायर्स बनेपाका अण्डा व्यवसायी ईश्वर श्रेष्ठले अण्डाको मूल्य स्थिर नभएको दाबी गरे । कहिले प्रतिकार्टुन अण्डा १ हजार ६ सय र कहिले १ हजार ७ सय रुपैयाँमा खरीद गर्ने गरेको उनले बताए । ‘हामीले प्रतिकार्टुन ५० रुपैयाँ नाफा लिएर खुद्रा व्यापारीलाई बेच्ने गरेका छौं,’ उनले भने । काठमाडौंको बबरमहलस्थित रानीचुरी किराना पसलले एउटा अण्डा १५ रुपैयाँमा विक्री गरिरहेको छ भने रानीचुरीनजिकैको गणेश डिपार्टमेण्टल स्टोरले ११ रुपैयाँमा विक्री गर्दै आएको छ । मुलुकी अपराध संहिता ऐनको दफा १०८ अनुसार बढी मूल्य लिई सामान बेचेमा ५ वर्ष कैद र ५० हजारसम्म जरीवानाको व्यवस्था रहेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले बताए । उपभोक्ताले महँगो मूल्यमा अण्डा बेच्नेविरुद्ध उजुरी गर्नुपर्ने उनको भनाइ छ । उपभोक्ताले प्रहरी कार्यालय वा सीडीओ कार्यालयमा उजुरी गरेमा तत्काल कारबाही हुने र यसमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले पनि सहयोग गर्ने उनले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।