सफ्टवेयरको सोर्सकोड चोरी बढ्यो

Share News

सफ्टवेयरको सोर्सकोड चोरी गरेर त्यसको अनधिकृत प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । ओरिजिनल (सक्कली) सफ्टवेयरको सोर्सकोडमा ह्याकरहरूको सहज पहुँच पुग्न थालेपछि यस किसिमको चोरी बढेको हो । सफ्टवेयर कम्पनीमै कार्यरत इञ्जिनीयरहरू अहिले यस्तो काममा संलग्न हुन थालेको इन्फोडेभलपर्स प्रालिका निर्देशक प्रविन सुवेदीले बताए । ‘पहिले कुनै सफ्टवेयर कम्पनीमा काम गरेर छाडेका कर्मचारीले पुरानो कम्पनीकै सोर्सकोड परिमार्जन गरेर बेच्ने गरेका छन्, ’उनले भने । पुराना कर्मचारीलाई सफ्टवेयरको सोर्सकोड पत्ता लगाउन सजिलो हुने र त्यसको कलर, नाम तथा फण्ट परिवर्तन गरेपछि पत्ता नलाग्ने भएकाले सोर्सकोड चोरी बढेको उनको बुझाइ छ ।

कुनै पनि सफ्टवेयरलाई प्रयोगमा ल्याउन त्यसको सोर्सकोड आवश्यक पर्छ । सोर्सकोड सेट गरेपछि मात्र सफ्टवेयर इन्ष्टल हुने गर्छ । यस्ता सोर्सकोड प्रयोग गरेर ह्याकरहरूले ओरिजिनल सफ्टवेयरको पाइरेसी गर्ने सुवेदीको भनाइ छ । सफ्टवेयर बनाउँदा धेरै पैसा लाग्ने भएकाले पनि सोर्स चोरी बढेको प्रहरी उपरिक्षक पीताम्बर अधिकारी बताउँछन् । ह्याकरहरूले सोर्सकोड चोरी गरेर बनाइएको सफ्टवेयर विभिन्न कम्पनी तथा वित्तीय संस्थालाई बेच्ने उनले बताए ।

केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विगत ३ वर्षमा नेपालका १ सय ५० कम्पनीका सफ्टवेयर सोर्सकोड पाइरेसी भएको छ । सफ्टवेयर पाइरेसीको क्रम बढे पनि थोरेलाई मात्र कारबाही भएको उनले जानकारी दिए । अन्य पाइरेसी तथा चोरीको घटनाभन्दा बिल्कुलै फरक भएकाले पत्ता लगाउन समय लाग्छ । ‘यसैले थोरै पाइरेसी गर्नेलाई मात्र कारबाही गरिएको छ । ’सफ्टवेयर सोर्स पाइरेसीबाट कम्पनीलाई आर्थिक रूपमा समेत क्षति पुग्ने उनले बताए ।  ब्युरोका अनुसार १ सय ८० भन्दा बढी सहकारीले नक्कली सफ्टवेयर प्रयोग गरेका छन् । यससँगै कम्प्युटर प्रोग्राम पाइरेसी गर्नेको सङ्ख्यामा पनि वृद्धि भएको उनले जानकारी दिए ।



पाइरेसी गर्ने समूह पक्राउ

इन्फोडेभलपर्स प्रालिले निर्माण गरेको सफ्टवेयरको सोर्स चोरी गर्ने सातजना पक्राउ परेका छन् । प्रालिको सफ्टवेयरको सोर्सलाई परिमार्जन गरी आफ्नो कम्पनीको नाम राखेर विक्री गर्ने सातजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरीका देवेन्द्र खत्री, मोरङका उमेश खत्री, भारतीय नागरिक पालसकुमार घोष, काठमाडौंका प्रमनराज शाक्य, महोत्तरीका मनोज यादव, बनेपाका सुनिलपोटे श्रेष्ठ र भक्तपुरका सरोज सुवाल रहेका छन् । उनीहरूले ‘कमन’ तथा ‘फिनसफ्ट’को नामबाट नेपालका विभिन्न वित्तीय संस्थामा विक्री गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन २०६३ तथा प्रतिलिपि अधिकार ऐन २०५९ बमोजिम आवश्यक कारबाहीका लागि महानगरीय प्रहरीपरिसर हनुमानढोका पठाइएको बताइएको छ । यस्ता गैरकानूनी कामबाट स्वदेशमा रहेका सफ्टवेयर कम्पनीको अस्तित्व नै सङ्कटमा पर्ने भन्दै कारबाहीका लागि पठाइएको ब्युरोले बताएको छ । पाइरेसी तथा विक्रीवितरण गर्नेमध्ये चारजना एसीएम इन्फोटेक नेपालसँग सम्बद्ध छन् । त्यस्तै अन्य व्यक्तिहरू नेटलिङ्क आइटी सोलुशन प्रालि र कलेज अफ आईटी संसार रहेका छन् । यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ दफा ४४ अनुरूप ३ वर्ष कैद सजाय वा २ लाख रुपैयाँ अथवा दुवै हुन सक्ने व्यवस्था छ । यसबाट कम्पनीको  ६५ लाख रुपैयाँ आर्थिक क्षति भएको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।