प्राधिकरणकै एमआइएस रिपोर्ट हेर्ने हो भने गत जेठसम्म जीएसएम र सीडीएमए मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या १ करोड ८५ लाख ५६ हजार ५ सय २७ पुगेको छ । यो सङ्ख्या अघिल्लो महीना (वैशाख)को तुलनामा ४ लाख १८ हजार ७ सय ५६ ले बढी हुन आउँछ । बढी हुन आउने यो सङ्ख्या मात्र पनि नेपालमा डब्ल्यूएलएल प्रविधिको फिक्स्डलाइन प्रयोग गर्ने ग्राहकको सङ्ख्याको तुलनामा २ लाख २९ हजार १ सय १५ ले बढी हुन पुग्छ ।
एक जमाना थियो, दूरसञ्चारको क्षेत्रमा डायलअपको प्रतिस्पर्धी अरू कुनै पनि माध्यम थिएनन् । सेटमा नम्बर घुमाउँदै फोन लगाउनु त्यतिबेला शानको विषय हुन्थ्यो । तर, अहिले यो प्रविधि इतिहास बनिसकेको छ । पुराना चलचित्रमा मात्र यसको अस्तित्व सुरक्षित देखिन्छ । डायलअपको अस्तित्व नै सङ्कटमा पार्ने गरी त्यसपछि ल्याण्डलाइन र फिकष्ड टेलिफोनीले आमउपभोक्तामा छुट्टै प्रभाव पार्यो । एक दशक अघिसम्म घरमा ल्याण्डलाइन फोन राख्नेलाई सम्भ्रान्तको उपमा दिइन्थ्यो । त्यसपछि आयो मोबाइल फोन । दूरसञ्चारको क्षेत्रमा हालसम्म यत्तिको प्रभावशाली माध्यम अहिलेसम्म अरू कुनै देखिएको छैन ।
प्रविधिमा प्रतिस्थापनको समय धेरैपटक आउँछ । यस्तै प्रतिस्थापनको शिकार बन्दै छ, फिक्स्डलाइन । मोबाइल प्रयोगमा आएको विश्वव्यापी तीव्रताको प्रभाव अहिले फिक्स्डलाइनले नराम्रोसँग बेहोर्दै छ । कम्तीमा नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले यसलाई प्रमाणित गर्छ । प्राधिकरणले सार्वजनिक गर्ने म्यानेजमेण्ट इन्फर्मेशन सिष्टम (एमआईएस)को पछिल्लो ६ महीनाको प्रतिवेदन मूल्याङ्कन गर्ने हो भने फिक्स्डलाइनले व्यावसायिक विस्तार गुमाउँदै गएको देखाउँछ । नेपालमा यस्तो सेवा उपलब्ध गराउँदै आएका नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी), युनाइडेट टेलिकम (यूटीएल) र नेपाल स्याटेलाइट टेलिकम प्रालिको गतवर्ष (२०६९)को पुस महीनादेखि जेठ (२०७०)सम्मको तथ्याङ्कले फिक्स्डलाइनको अबको व्यावसायिक भविष्य भने अनिश्चितजस्तै बनेको देखिन्छ । वायरलेस लुक लुप (डब्ल्यूएलएल) प्रविधिमा आधारित फिक्स्डलाइनको विगत ६ महीनाको उक्त तथ्याङ्क क्रमशः ओरालो लाग्दै गएको छ । यसले पनि प्रमाणित गर्छ कि उपभोक्ताको यसप्रतिको आकर्षण अब विस्तारै घट्दै गएको छ । मोबाइलको प्रयोगमा आएको आश्चर्यजनक वृद्धि नै फिक्स्डलाइनको अस्तित्व सङ्कटमा पर्नुको कारण मान्छन् नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल । उनी भन्छन्, ‘मोबाइल नेटवर्कको देशव्यापी पहुँच र सजिलै स्थानान्तरण गर्न सकिने विशेषताले पनि फिक्स्डलाइन प्रयोगको आकर्षण घटेको छ ।’
नेपालमा समेत स्मार्टफोनको प्रयोगले व्यापकता पाउन थालेपछि त फिक्स्डलाइन एउटा सीमित वर्गको शौखका लागि मात्र प्रयोग गरिने साधन बनेको छ । निश्चित क्षेत्रभित्र कुराकानी गर्न मिल्ने भएकाले पनि होला यसले आफ्नो अस्तित्वका लागि सङ्घर्ष गर्नुपरिरहेको छ । एमआईएस रिपोर्टअनुसार गत पुसमा कुल १ लाख ९२ हजार ५ सय ९५ डब्ल्यूएलएल प्रविधिको फिकष्डलाइनका ग्राहकमध्य यो सङ्ख्या घटेर १ लाख ८९ हजार ६ सय ४१ पुगेको छ । यस अवधिमा नेपाल स्याटेलाइट टेलिकम प्रालिको फिकष्डलाइन प्रयोग गर्ने ग्राहकको सङ्ख्यामा भने कुनै उतारचढाव देखिएको छैन । तथ्याङ्कअनुसार समीक्षा अवधिमा उक्त कम्पनीका फिक्स्डलाइन प्रयोगकर्ताको सङ्ख्या समान अर्थात् २ हजार ९ सय ५० नै कायम छ । त्यस्तै युनाइटेड टेलिकम (यूटीएल)को ग्राहक सङ्ख्या सामान्य बढे पनि त्यति तीव्र वृद्धि भने देखिँदैन । यो कम्पनीका त्यस्ता ग्राहकको सङ्ख्या पनि केही महीना स्थिर नै देखिन्छ । समीक्षा अवधिको पुस र माघ महीनामा समान ७१ हजार ५ सय ९३ प्रयोगकर्ता रहेकोमा फागुन र चैत महिनामा केही बढेर ७१ हजार ६ सय ८६ पुगेको छ । त्यस्तै यूटीएलको वैशाख र जेठमा फिक्स्डलाइन प्रयोगकर्ताको सङ्ख्या समान ७१ हजार ७ सय ९७ पुगेको रिपोर्टमा उल्लेख छ । फिक्स्डलाइनमा धेरै समय अघिदेखि दबदबा राख्दै आएको नेपाल टेलिकमको अवस्था पनि त्यति राम्रो देखिँदैन । रिपोर्टमा समीक्षा अवधिका अघिल्ला ३ महीनामा १ लाख १८ हजार ५२ फिक्स्डलाइन ग्राहक रहेकोमा यो सङ्ख्या क्रमशः घटेको देखाइएको छ । जेठ महीनासम्म आइपुग्दा यो सङ्ख्या ३ हजार १ सय ५८ ले घटेर १ लाख १४ हजार ८ सय ९४ पुगेको छ ।
प्राधिकरणकै एमआइएस रिपोर्ट हेर्ने हो भने गत जेठसम्म जीएसएम र सीडीएमए मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या १ करोड ८५ लाख ५६ हजार ५ सय २७ पुगेको छ । यो सङ्ख्या अघिल्लो महीना (वैशाख)को तुलनामा ४ लाख १८ हजार ७ सय ५६ ले बढी हुन आउँछ । बढी हुन आउने यो सङ्ख्या मात्र पनि नेपालमा डब्ल्यूएलएल प्रविधिको फिक्स्डलाइन प्रयोग गर्ने ग्राहकको सङ्ख्याको तुलनामा २ लाख २९ हजार १ सय १५ ले बढी हुन पुग्छ । विभिन्न टेलिकम कम्पनीले मोबाइल सेवालाई प्राथमिकतामा राखेकाले पनि फिक्स्डलाइनको प्रयोगमा व्यापक कमी आउन थालेको खनालको बुझाइ छ । यसबाहेक मोबाइलमै इण्टरनेट, स्मार्ट एप्लिकेशनको प्रयोग तथा छोटो समयमै आकर्षक विशेषता थप हुँदै जानुले पनि फिक्स्डलाइन क्रमशः इतिहास बन्दै गएको उनको तर्क छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।