नेपाल पर्वतारोहण शिक्षाको हब

Share News

लाक्पाफुटी शेर्पा नेपालको पर्वतारोहण शिक्षाका जानकार मानिन्छिन् । उनी नेपाललाई पर्वतारोहण शिक्षाका लागि हब बनाउनैपर्ने धारणा राख्छिन् । नेपाल माउण्टेन एकेडेमीका पूर्वकार्यकारी निर्देशकसमेत रहेकी उनी पर्वतारोहण शिक्षामा पहल, लगानी र अवसर देखाउन तल्लीन छिन् ।

सोलुखुम्बुको चौंरीखर्क–४, मुसेगाउँ जन्मेकी लाक्पाफुटी पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्ने समूहकी ‘डेपुटी लीडर’ थिइन् । नेपाल माउण्टेन एकेडेमीको कार्यकारी निर्देशकको रूपमा उनले करीब ८ वर्ष काम गरिन् । सो अवधिमा ११ जना मन्त्री परिवर्तन भएको र नेपाल माउण्टेन विश्वविद्यालयलाई सम्बन्धन दिलाउन कर्मचारीतन्त्रका कारण करीब डेढ वर्ष लागेको तीतो अनुभव उनीसँग छ, जब कि उक्त काम २ महीनामा सकिनुपर्ने थियो ।

‘कुनै काम गरेबापत पैसा लिनु मात्र भ्रष्टाचार होइन,’ लाक्पाफुटी भन्छिन्, पद ओगटेर वा अधिकार समातेर राख्नु तथा आफ्नो जिम्मेवारी पूरा नगर्नु पनि ठूलो भ्रष्टाचार हो’ । एकेडेमीलाई सम्बन्धन दिलाउन कुनै बेला राजनीतिक दबाब भनेर टार्ने गरेको त कुनै बेला कर्मचारीले काम नै नगरेको उनले सुनाइन् । काम गर्ने मान्छेलाई काम गर्न नदिँदा नेपाल पछि परेको बुझाइ उनको छ ।

एकेडेमीको अवस्था विश्वमा कहीँ पनि हिमाल आरोहणसम्बन्धी पढाइ हुँदैन, जुन नेपालमा मात्र पढाइ हुनेगरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको छ । विभिन्न देशले आफ्नो देशको विश्वविद्यालयको सम्बन्धन दिन लागेका थिए । ‘तर, हामीले त्यसलाई स्वीकार नगरी आफ्नै देशको विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्‍यौं,’ लाक्पाफुटीले भनिन्, ‘अहिले व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा पर्यटन तथा पर्वतारोहण सम्बन्धी चारवर्षे कोर्स पढाइ भइरहेको छ ।’ उनका अनुसार पढाइसँगै हरेक सेमेष्टरमा अभ्यास तालीम पनि हुने गर्छ । अभ्यास ६ हजारदेखि ७ हजार मिटर उचाइका हिमालमा गरिन्छ ।

देशले नै विश्वविद्यालय स्तरको गुणस्तरीय शिक्षा दिन सके पर्वतारोहण सम्बन्धी पढ्ने विद्यार्थी विद्यार्थी नेपालमा आउने अपेक्षा लाक्पाफुटीको गरिन् । त्यसले नेपाल पर्वतारोहण सम्बन्धी शैक्षिक हबको रूपमा चिनिन सक्ने उनको विश्वास छ । त्यसैले, यसप्रति नेपाल सरकारले यो एकेडेमीको थप विकास र प्रवद्र्धनका लागि सहयोग गर्नुपर्छ । सबै प्रदेशमा पर्वतारोहण सम्बन्धी पढाइ हुने वातावरण बनाउनुपर्छ । उक्त एकेडेमीमा अहिले ३० जनाको कोटामा १ सयभन्दा बढी विद्यार्थी भर्नाका लागि आएका छन् । यसमा धेरै विदेशीले पनि चासो लिएका छन् । त्यसैले, यसमा विदेशीलाई पनि आकर्षित गर्न सकिन्छ ।

पढाइका क्षेत्रहरू पर्वतारोहण विश्वविद्यालयमा पढ्दा त्यसको भविष्य खोजी हुनु स्वाभाविकै हो । पर्वतारोहण पढ्दा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटन मन्त्रालय अन्तर्गतका निकायमा जागीर पाउन सजिलो हुन्छ । यसैगरी पर्वतारोही हुन, ट्रेकिङ गर्ने क्षेत्रमा लाग्न र एजेन्सी चलाउन पनि सकिन्छ ।

लगानी र सम्भावना हिमाल नजिकै अग्ला सुविधासम्पन्न होटल, टावर बनाएर पनि मनग्गे फाइदा लिन सकिन्छ । त्यस्तै, निजीक्षेत्रबाट उद्धार, सुरक्षा तथा विश्वास दिलाउने सेवा, डाक्टरको व्यवस्था र हिमाल आरोहणका सामग्री नेपालमै उत्पादन गर्न पनि सकिन्छ । यस्ता सामग्री र सेवाको विकास नेपालमै गर्न सके यसका लागि विदेशिने पैसा नेपालमै रहन्छ । अहिले अक्सिजन रशियाबाट आउने गर्छ । अन्य सामान पनि विभिन्न देशबाट आयात भइरहेको छ । त्यसमा लगानीको सम्भावना प्रबल छ ।

सन्दर्भः विश्व पर्वत दिवस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।