पर्वतका कुराः पर्वतीय जोखीम न्यूनीकरण आवश्यक

Share News

हिन्दूकुश हिमालय क्षेत्रले यसका र उपत्यकाभित्र बसोवास गर्ने मानिस तथा जीवजन्तुका लागि मात्र जीवन प्रदान गर्दैन, यसका तल्लो तटीय भेगमा बसोवास गर्ने समुदाय सिँचाइ, सरसफाइ तथा उद्योगका लागि ऊर्जा प्रदान गर्ने अनगिन्ती नदीबाट जीवन निर्वाह गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनले हरेक वर्ष डिसेम्बर ११ लाई विश्व पर्वत दिवसको रूपमा मनाउँदै आएको छ । यस वर्षको विश्व पर्वत दिवसको नारा ‘पर्वतका कुराहरू’ छ । पर्वतीय जोखीम न्यूनीकरणका लागि यस वर्ष विश्वभर विभिन्न गतिविधि गरिँदै छ ।

अग्ला अग्ला पर्वत र यसले प्राकृतिक जीवनमा राखेको आफ्नो महत्वपूर्ण योगदानको कदर विश्व पर्वत दिवस मनाउने गरिन्छ । विश्वको कुल भूभागको ४ प्रतिशत हिस्सा पर्वत छ । यही ४ प्रतिशत भूभागमा मात्रै विश्वका १२ प्रतिशत मानवको बसोवास छ । खासमा पर्वत मानव जीवनको मात्र होइन, समग्र पर्यावरणको आधार हो । यस्तै, पहाड पानीको भण्डार हो । यहीको पानीले नै खानेपानी र सिँचाइको व्यवस्था भइरहेको हुन्छ । भूमिगत पानीको आधार पनि पहाडबाट बग्ने पानी नै हुन्छ ।

पहाड जडीबुटी, फलफूलको भण्डार हो । यस अर्थमा यसले नेपाल जस्तो मुलुकका लागि यसको महिमा अपार छ । यो प्रकृतिको वरदान हो । नेपालको अर्थतन्त्रको प्रमुख आधारको रूपमा कृषि, पर्यटन र जलविद्युत्लाई लिइँदै आएको छ । यी सबैको केन्द्रमा पर्वत नै पर्छ । त्यसैले, यसको जगेर्ना र संवद्र्धन गरी अर्थोपार्जन गर्नुपर्दछ । सुन्दर तथा दुर्लभ प्राणीजीवन, पर्वत जल, जीवन र वनस्पतिको भण्डारको रूपमा रहेको छ पर्वत ।

विश्वका ७०५ मानिसको खानेपानीको आधार पर्वत विश्वको कुल जनसंख्याको ७० प्रतिशत मानिसले विभिन्न तरीकाबाट यिनै पर्वतका अनेक गर्भ भएर निस्कने पिउने पानी उपभोग गर्छन् । विश्वभरि करीब १ अर्ब मानिस यिनै पर्वतमा आश्रित छन् । उनीहरू खाना, इन्धन र रोजगारका लागि पर्वतमा भर पर्छन् । विस्तारै यी पर्वत जलवायु परिवर्तनको चपेटा, भूक्षय, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग जस्ता कारण जोखीममा पर्दै छन् । नेपालको देशको ४३ प्रतिशत भू–भाग पहाडले भरिएका छन्, जसको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ओगटेको छ ।

जलवायु परिवर्तन चुनौतीपूर्ण अहिले जलवायु परिवर्तनका कारण सेताम्मे देखिने हिमश्रृंखला निरन्तर कालापत्थर बन्दै गएका छन् । हिउँ झर्नुपर्ने ठाउँमा निरन्तर वर्षा भइरहेको छ । त्यस्ता स्थानमा विभिन्न नौला वनस्पति देखिन थालिएका छन् । पर्वतीय क्षेत्रमा हुने अव्यवस्थित बसोवास तथा पानीका स्रोतमा भइरहेका अनेक विकास निर्माणका कार्यले प्राकृतिक सन्तुलनमा नराम्ररी असर पारिरहेको छ ।

भूकम्पका कारण पर्वत कमजोर २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण धेरै पर्वतीय संरचना चिरा परेका छन्, भास्सिएका छन् । निरन्तर आइरहने ठूला साना पहिरोले त्यस्ता क्षेत्रमा आश्रित जीवनमा जोखीम बढाएको छ । सुरक्षित बासस्थान तथा बस्ती स्थानान्तरण अहिलेको प्रमुख चुनौती र आवश्यकता बनेको छ ।

पर्वतीय क्षेत्रमा अनेक कारणले पर्यावणीय प्रदूषण बढ्दै गएको छ । साथै, जल तथा भूक्षयका खतरा निरन्तर भयावह बन्दै छ । यस्तो अवस्थामा वैज्ञानिक तथा व्यवस्थित विकास तथा वैज्ञानिक पर्यटनको व्यवस्थापनबाट ठूलो मानवीय तथा प्राकृतिक दुर्घटनाबाट बच्न सकिन्छ । त्यसैले, पर्वतीय पर्यावरणका सवालमा सबै एकजुट भएर अघि बढ्न तथा यससम्बन्धी काम गर्न जरुरी छ । विशेषगरी हिमालजस्ता परिवर्तनशील पर्वत श्रृंखलामा पर्यावरण संवद्र्धन कार्यले निरन्तरता पाउनुपर्छ ।

आठओटा उच्च पर्वत नेपालमा विश्वले मान्यता दिएको १४ ओटा हिमाल (पर्वत)मध्ये नेपाल ८ ओटा छ । नेपालमा हिमरेखा भन्दा माथिका करीब १७ सयओटा हिमाल छन् भने नेपाल सरकारले पटकपटक गरेर करीब ४ सय हाराहारीका ५ हजार ५ सय ५० मिटर अग्ला हिमाल पर्वतारोहणका लागि खुला गरेको छ । त्यसमा छुकुङरीदेखि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा लगायत हिमाल छन् । त्यसमध्ये नेपाल सरकारले ३३ ओटा हिमाललाई ट्रेकिङ पीकको रूपमा मान्यता दिएर नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिटबापत शुल्क उठाउने लगायत जिम्मेवारी दिएको छ । पर्वतारोहणका लागि खुला गरिएका बाँकी हिमाल नेपाल सरकारको मातहतमा छ । हुन त नेपालका लागि हिमाल विभिन्न हिसाबले वरदान नै सावित भएको छ । त्यसमा पनि हालसम्म मान्यता पाएको विश्वका ८ हजार मिटरभन्दा माथिका (अग्ला १४ ओटा हिम शिखरमध्ये) ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा, ८ हजार ५ सय ८६ मिटर कञ्चनजंघा, ८ हजार ५ सय १६ मिटर ल्होत्चे, ८ हजार ४ सय ६३ मिटर मकालु, ८ हजार २ सय १ मिटर चोओ–यु, ८ हजार १ सय ६७ मिटर धवलागिरि, ८ हजार १ सय ६३ मिटर मनास्लु, ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण लगायत आठओटा हिमाल नेपालमै छन् ।

त्यसैले, सकेसम्म नेपाल आउने हरेक विदेशी पर्यटकलाई सम्भव नभए तापनि धेरैभन्दा धेरै पर्यटकलाई नेपालको कुनै न कुनैै ट्रैकिङ पीक वा हिमाल आरोहणमा प्रोत्साहित गर्नुपर्छ । यसो गर्न सके नेपाल र नेपालीको आम्दानी बढ्न सक्छ ।

हिन्दूकुश हिमालय र पर्वत अफगानिस्तानदेखि म्यान्मा (आठओटा देश)सम्म फैलिएको हिन्दू कुश हिमालय र पर्वतले मध्य तथा दक्षिणी एशियामा बसोवास गर्ने २ अर्ब १ करोड मानिसलाई विभिन्न वातावरणीय स्रोत तथा सेवा उपलब्ध गराउँछन् । ऐतिहासिक रूपमा, पृथ्वीको बाहिरी सतहबाट माथि उठेपछि हिन्दूकुश हिमालय क्षेत्रका मानिस मात्र नभएर विभिन्न प्रजातिका बोटबिरुवा तथा जनावरका लागि छिट्टै महत्वपूर्ण वासस्थान बन्यो, जहाँ ती मानिस, जनावर र बोटबिरुवा प्रचुर मात्रामा उपलब्ध खाद्य, जल तथा वासस्थानको कारण विकसित भए ।

हिन्दूकुश हिमालय क्षेत्रले यसका र उपत्यकाभित्र बसोवास गर्ने मानिस तथा जीवजन्तुका लागि मात्र जीवन प्रदान गर्दैन, यसका तल्लो तटीय भेगमा बसोवास गर्ने समुदाय सिँचाइ, सरसफाइ तथा उद्योगका लागि ऊर्जा प्रदान गर्ने अनगिन्ती नदीबाट जीवन निर्वाह गरिरहेका छन् । यी नदीहरू हिन्दूकुश हिमालय क्षेत्रका चुचुरामा रहेका हिउँ र बरफका विशाल भण्डारबाट बन्छन् ।

तर आज, हिन्दू कुश हिमालय क्षेत्रमा विभिन्न प्रकारका दबाब परेका छन्, जसले महत्वपूर्ण पारिस्थितिक प्रणाली र यी स्रोतमा निर्भर रहने करोडौं मानिसको स्वास्थ्य तथा जीवनयापनमा खतरा उत्पन्न गरेको छ । यी चापहरू चक्रीय र आकस्मिक हुन्छन्, जसले हिन्दूकुश हिमालय क्षेत्रमा ठूलो चुनौती ल्याएको छ । जलवायु परिवर्तनको असरले मौसमी विपद् बढिरहेको छ । म्यान्मा, बंगलादेश, नेपाल र भारतमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनकै उपज हो ।

पर्वतमा समस्या र बसाइसराइ जलवायु परिवर्तनले हिन्दूकुश हिमालय क्षेत्रको मौसम र बालीनाली तालिकामा पनि अवरोध ल्याइरहेको छ, जसले गर्दा रोगहरू फैलने र कृषि उत्पादनलाई अनुमान गर्न नसकिने बनाउने गर्दछ । यसको फलस्वरूप, उपभोक्ताले मूल्यमा उतारचढावको मार खप्नुपर्ने हुन्छ र कृषिलाई अझ कठिन व्यवसाय बनाइ दिएको छ, जसले गर्दा नेपालीहरू कृषि पेशाबाट पलायन हुन थालेका छन् । यसले परनिर्भरता बढाएको छ, जब कि नेपाल आफैमा अथाह भण्डार हो ।

हिन्दूकुश हिमालय क्षेत्रमा खाद्य असुरक्षाको उच्च दर ल्याउन यी सबै कारण जिम्मेवार छन् । यसै सन्दर्भमा पर्वतीय क्षेत्रमा बसोवास गर्ने परिवार एकातर्फ शहरी केन्द्रमा बृहत्तर जीवनयापनको लोभ र अर्कोतर्फ विपत्ति तथा गरीबीको कारण उक्त स्थान छोड्नुपर्ने बाध्यतामा छन् । परिणामस्वरूप, शहरी केन्द्र र अन्तरराष्ट्रिय गन्तव्यमा हुने बसाइसराइले स्थानीय स्तरमा जनशक्तिको अभाव हुन थालेको छ भने शहर बढ्दो जनघनत्वका कारण दबाबमा छ ।

हिन्दूकुश पर्वतको संरक्षणमा इसिमोड अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का कार्यक्रम संयोजक डा. मन्दिरा श्रेष्ठका अनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनले चुनौती थपिरहेको छ । यसैले इसिमोडले पर्वतमा विपद् जोखीम न्यूनीकरण तथा पर्वतका जनताको जीवनस्तर सुधारका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

‘बृहत् हिमालय क्षेत्रका जनसमुदायले भूमण्डलीय परिवर्तनमा सहनशील तरीकाले उन्नत जीवनको आनन्द लिन सकून् भन्ने इसिमोडको सोच हो,’ श्रेष्ठले भनिन्, ‘यसका लक्ष्य हिन्दुकुश हिमालयका बासिन्दालाई समान रूपले जीवनयापनको सुविधा दिने, दक्षता बढाउने र पर्वतीय विकास गर्ने हो ।’

इसिमोडले हिन्दूकुश हिमालय क्षेत्रसँग आधारित अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यान्मा, नेपाल र पाकिस्तानमा पानी, वातावरणीय सेवा र जीविकोपार्जनका क्षेत्रमा कार्य गर्दै आएको छ । उनका अनुसार इसिमोडले जल र जमीनको उपयोग गर्ने, आपत्विपद् घटाउने र मानव स्वास्थ्य तथा वातावरण संरक्षणको काम गर्दै आएको छ । यस्तै, संस्थाले विपद् व्यवस्थापनका लागि बाढीको प्रारम्भिक चेतावनी दिने प्रणालीको स्थापना पनि गर्दछ ।

वातावरण परिवर्तनले पर्वतीय क्षेत्रको गरीबी झन् बढाइदिएको छ । यो भयावह अवस्थाबाट पर राख्न इसिमोडले एकीकृत जलाधार व्यवस्थापन, चरणभूमि, सामुदायिक पशुपालन र वन उपयोगको व्यवस्थापनसम्बन्धी काम गर्दै आएको छ । संस्थाले असुरक्षित समुदायको क्षमता अभिवृद्धिका लागि विभिन्न देशका सरकार तथा साझेदारसँग सहकार्य गर्दै आएको छ । पर्वतीय समुदायले विभिन्न रणनीति अपनाएर उनीहरूको आर्थिक अवस्था र जीवनयापन सुदृढीकरण गर्न सकून् भन्ने ध्येयले पर्वतीय कृषिको रूपमा रहेका मौरीपालन र अलैंचीखेतीमा पनि सहयोग गरिरहेको छ । संस्थाले झोल मल (जैविक मल), पोलिहाउस, र वर्षाको पानी संकलन गर्ने प्रविधि जस्ता कम लागतमा उपलब्ध हुने प्रविधिमार्फत थोरै जमीन तथा पानीबाट धेरै बाली उब्जाउन समेत मद्दत गर्दै आएको छ ।

सन्दर्भः विश्व पर्वत दिवस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।