बेँशीशहर । व्यावसायिक होम स्टे शुरू भएको ५ वर्षमै लमजुङको काउलेपानी अन्य ग्रामीण पर्यटकीय गाउँका लागि सिकाइ हवसमेत बनेको छ । घुम्न वा होम स्टेको अनुभव लिन आउने पाहुनासँगै पछिल्ला वर्षमा होम स्टे व्यवस्थापनबारे सिक्न पनि धेरै ठाउँबाट पर्यटन व्यवसायी काउलेपानी धाउन थालेका छन् ।
निकै व्यवस्थित बनेको काउलेपानी होम स्टेमा महिला समूहले पाहुनाको स्वागत सत्कार, बिदाइ गर्छन् भने युवाहरूले गाउँमा आएका पाहुनाको अन्य व्यवस्थापन गर्छन् । गाउँमा आएका पाहुनालाई मनोरञ्जन दिन यहाँको युवा क्लब सक्रिय छ । काउलेपानीको व्यवसायिक होम स्टेले विदेशिन लागेका युवालाई गाउँमै मनग्य आम्दानी गर्न सक्ने गरी स्थापित गरेको होम स्टे व्यवस्थापक कविन्द्र गुरुङले बताए ।
सन् २०१४ मा भिटोफले काउलेपानीलाई नेपालभरकै उत्कृष्ट होम स्टे घोषणा गरेपछि यहाँ आउने पाहुनाको संख्या बढेको हो । हाल विभिन्न गाउँबाट समेत होम स्टे व्यवस्थापनको तालीम लिन पर्यटन व्यवसायी आउने गरेको होम स्टे विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । यहाँका होम स्टे सञ्चालकले गाउँमा आएकालाई मात्र नभई विभिन्न स्थानमा गएर समेत सिकाउने गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।