धनगढी । कैलाली उद्योग वाणिज्य संघको सदस्यका लागि ३ हजार २ सय व्यवसायीको आवेदन परेको छ । गत वैशाख २२ गते तोकिएको संघको नयाँ कार्यसमितिको निर्वाचन नक्कली सदस्यता हावी भएको विषयमा उच्च अदालत दिपायलमा मुद्दा दायर भएकाले स्थगित गरिएको थियो । संघको विधानअनुसार नयाँ सदस्यताका लागि १० दिनको समयसीमा तोकिएको सो अवधिसम्ममा ३ हजार २ सय उद्योगी व्यवसायीको आवेदन परेकामा ३ सय ९९ आवेदन मात्र अस्वीकृत भएको संघले बताएको छ ।
नयाँ कार्यसमिति चयनलगत्तै सुदूरपश्चिम महोत्सवको आयोजनाको तयारी अघि बढाइने संघका कोषाध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । वाणिज्य संघको सदस्य हुन घरेलु तथा साना उद्योग कार्यालय वा वाणिज्य कार्यालयमा दर्ता भएको, प्यान भ्याटमा दर्ता भएको र कर चुक्ता भएको कागजपत्र पेश गर्नुपर्ने मापदण्ड रहेको छ । छानबिनपछि सदस्य बन्न योग्यलाई कागजात रुजु गर्न सम्बन्धित कार्यालयमा पठाइसकेकाले सदस्यताको प्रमाणपत्र दिने कार्य अन्तिम चरणमा पुगेको कोषाध्यक्ष कुँवरले बताए ।
संघको साधारणसभा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा गर्न गठित छानबिन समितिले आवश्यक कागजात पेश नगर्ने आवेदकलाई संघको सदस्य हुनबाट अस्वीकृत गरेको छानबिन समितिकी सदस्यसचिव गोमा अधिकारीले बताइन् । उच्च अदालत दिपायलले निर्वाचन रोक्न आदेश दिनुअघि जारी गरिएको निर्वाचन नामावलीमा ५ हजार ९ सय ९० जना सदस्य रहेकोमा आवेदन आधा मात्रै परेको हो । गठित छानबिन समितिले सदस्य बन्नका लागि तयार पारेको नामावली सम्बन्धित कार्यालयमा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छानबिन समितिका संयोजक विकास लम्सालले बताए । सदस्यता विवादकै कारण हरेक वर्षको मंसीर २२ देखि पुस २ गतेसम्म आयोजना गर्ने भनिएको सुदूरपश्चिम महोत्सव यस पटकका लागि स्थगित गरिएको थियो ।
अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन प्रक्रिया अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय कैलालीलाई निर्देशन दिइएकोमा सोहीअनुसार गठन गरिएको छानविन समितिले आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । आन्तरिक राजस्व कार्यालयमा व्यवसायीका कागजात रुजु भए संघका सदस्यहरूको नामावलीसहितको प्रतिवेदन तयार पारेर बुझाइने छानविन समितिका संयोजक लम्सालले जानकारी गराए ।
यसअघि आगामी नेतृत्वका लागि चुनावी मैदानमा होमिएका दुई प्यानलका पदाधिकारीसहित सहमतिका लागि अघि बढेपछि पुस १५ भित्रै नयाँ कार्यसमिति चयन हुने गरी काम भइरहेको संघका कोषाध्यक्ष कुँवरले बताए । ‘हामी ९ महीनादेखि निर्वाचनमा छौं, सबै व्यवसायीलाई हटाउने गरी आगामी नेतृत्व तयार पारिएको छ,’ उनले भने, ‘नयाँ कार्यसमिति चयनसँगै महोत्सव आयोजनाका लागि तयारी अघि बढाइनेछ ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।