काठमाडौं । सरकारको गलत नीतिका कारण शेयरबजार घटेको भन्दै अनशन थालेको शेयर लगानीकर्ता दबाब समूहले सोमवारदेखि आमरण अनशन शुरू गरेको छ । आफ्नो समूहले राखेको माग पूरा नभएसम्म आमरण अनशन जारी रहने समूहले बताएको छ । समूहका तर्फबाट हरि ढकाल र तिलक कोइराला आमरण अनशनमा बसेका छन् ।
समूहले सरकार र पूँजीबजारसम्बद्ध निकायहरूले यसअघि नै गर्ने भनेका कामहरू कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । साथै समूहले सम्बद्ध निकाय गैरजिम्मेवार भएको आरोप पनि लगाएको छ । समूहले अर्थमन्त्रीका साथै पूँजीबजारसम्बद्ध निकायका प्रमुखहरूको बर्खास्तीको मागसमेत गरेको छ । बर्खास्तीपछि मात्र समूहले राखेका १४ बुँदे मागका विषयमा छलफल हुनसक्ने दबाब समूहका संयोजक हरि ढकालले बताए ।
पूँजीबजारका क्षेत्रमा देखिएका समस्या अध्ययन गरी १ हप्ताभित्र प्रतिवेदन बुझाउन सरकारले गत साता नै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिमा गत शुक्रवार दबाब समूहको प्रतिनिधिका रूपमा ३ जनालाई पनि सहभागी गराइएको छ । दबाब समूहले अघि सारेको १४ मध्ये १२ बुँदालाई प्रतिवेदनमा समेट्ने सहमति गरेर उत्तम अर्याल, नयन बास्तोला र तिलक कोइरालालाई समितिमा सहभागी गराइएको हो ।
दबाब समूह र समितिबीचको सहमतिअनुरूप आइतवारसम्ममा प्रतिवेदन बुझाई माग कार्यान्वयनका लागि आधिकारिक निर्देशन दिने भनिए पनि त्यसो नभएपछि दबाब समूहले आमरण अनशन थालेको हो ।
दबाब समूहको माग र अनशनलाई नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, राजपा, नेपाली कांग्रेस बीपी, राप्रपा नेपाल, राप्रपा राष्ट्रवादीका साथै लगानीकर्तासम्बद्ध विभिन्न संघ र संगठनले पनि समर्थन गरेका छन् । आमरण अनशनअघि समूहले मङ्सिर २३ गतेदेखि रिले अनशन गर्दैआएको थियो ।
बन्दको आह्वान गरे पनि बजारमा उछाल
आमरण अनशनको घोषणासँगै दबाब समूहले सोमवारदेखि कारोबारमा सहभागी नहुन लगानीकर्तालाई अपील गरेको थियो । त्यसको असरस्वरूप सोमवार बजार खुलेको आधा घण्टासम्म कारोबारमा सहभागी नभएका लगानीकर्ता त्यसपछि भने उत्साहपूर्वक कारोबारमा सहभागी भएका थिए । फलस्वरूप नेप्से परिसूचक १५ दशमलव १७ अंकले उकालो लाग्यो ।समितिमा दबाब समूहको प्रतिनिधित्व गरिरहेका नेपाल पूँजीबजार संघका महासचिव नयन बास्तोलाले सोमवारको आमरण अनशनका कारण आम लगानीकर्ताको माग सम्बोधन हुने आशमा लगानीकर्ता कारोबारमा सहभागी भएको टिप्पणी गरे । ‘हामीले लगानीकर्तालाई कारोबार नै बन्द गर्न भनेका होइनौं । सम्पूर्ण लगानीकर्ताको हितका लागि दबाब समूहले आफ्नो ज्यान जोखीममा राखेर आमरण अनशन बसिरहेको अवस्थामा कारोबारमा सहभागी नहुन अपील गरेका हौं,’ उनले भने ।सुरक्षा प्रबन्धका लागि आग्रह
शेयर कारोबार गरिरहेका व्यवसायीहरूको कार्यालयमा केही व्यक्तिहरूको समूहले हूलहुज्जत गरी कर्मचारी र कार्यालयको भौतिक सम्पत्तिमा क्षति पुर्याउनुका साथै धम्क्याउने र हातपातसमेत गरेकोमा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालले घोर भर्त्सना गरेको छ । सो संस्थाले सोमवार एक पे्रस विज्ञप्ति प्रकाशित उक्त समूहले कारोबार रोक्न र मंगलवारदेखि कारोबार नगर्न भनेको तथा गरेमा भौतिक कारबाही गर्नेसमेत धम्की दिएको उल्लेख गरेको छ । साथै सो संस्थाले व्यवसायीहरूको मुख्य र शाखा कार्यालयहरूमा शान्तिसुरक्षाको प्रबन्ध मिलाइदिन पनि सरकारसँग आग्रह गरेको छ ।संघका अध्यक्ष भरत रानाभाटले हस्ताक्षर गरेको सो विज्ञप्तिमा अनलाइन प्रविधिमार्फत सम्भावित स्थानहरूमा दोस्रो बजारको पहुँच तथा विस्तार गर्न संघ र सदस्यहरूका तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।