तथ्यमा नेपाल विश्वकै दोस्रो ठूलो जलस्रोतको धनी देश मानिन्छ । तर, लोडशेडिङ यो तथ्यको विपरीत सत्य बनिसकेको छ । प्रत्येक वर्ष हिउँदको समयमा १५ घण्टाभन्दा बढी लोडशेडिङको समस्या बेहोर्नुपर्ने त नेपालीको नियति भइसकेको छ । ऊर्जासङ्कटको यस्तो व्याप्त समस्याको समाधानका रूपमा बेलाबेलामा बायोग्यासको चर्चा हुने गरेको छ ।
घरमा खाना बनाउने इन्धनका रूपमा होस् अथवा ऊर्जाकै रूपमा बायोग्यास नेपालका लागि सजिलो समाधान बन्न सक्छ । बायोग्यास इन्धनका रूपमा मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्त उपयोगी प्रविधि मान्छन् वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक समीर थापा । खेर जाने जैविक फोहोरलाई गलाएर यस्तो ग्यास उत्पादन गरिन्छ । थापा भन्छन्, ‘जलवायुको प्रभाव तथा दाउराको खपत कम गर्न यो उत्तम विकल्प हो । ’उनले भनेजस्तै बायोग्यासले मानव जीवनमा ल्याउने प्रभाव धेरै विशाल छ । नेपालजस्तो लोडशेडिङ भइरहने देशमा त यो एउटा वरदान सावित हुन सक्छ ।
२०४७ सालमा कृषियन्त्र कम्पनी स्थापना गरेसँगै नेपालमा बायोग्यासको चर्चा बढेको हो । कम्पनीले यससम्बन्धी मापदण्ड गोबर ग्यास कम्पनी (जीजीसी, २०४७) ल्याएपछि यस क्षेत्रमा परिणामात्मक पहल शुरू भएको थियो । अहिले पनि ग्रामीण इलाकामा २, ४, ६ र ८ घनमिटर क्षमताका घरायसी बायोग्यास प्लाण्ट निर्माण गर्दा त्यतिबेलाकै मापदण्ड लागू हुन्छ । नेपालमा हालसम्म ३ लाखओटा यस्ता प्लाण्टहरूको निर्माण भइसकेको थापाको भनाइ छ । ‘अहिले वार्षिक २० हजार ओटा घरायसी बायोग्यास प्लाण्टको निर्माण भइरहेको छ, ’थापा भन्छन् ।
नेपालमा २ वर्ष अघिसम्म ६ घनमिटर क्षमताका घरायसी बायोग्यास प्लाण्टको बढी निर्माण हुन्थ्यो । तर, गाईवस्तुको सङ्ख्या पनि कम हुँदै जाँदा अहिले ४ घनमिटर क्षमताका प्लाण्टको निर्माण बढी हुने थापाको भनाइ छ । सरकारले ग्रामीण क्षेत्रमा बायोग्यास निर्माणलाई प्रोत्साहन गर्न अहिले लघुवित्त संस्थामार्फत कर्जाको समेत व्यवस्था गरेको छ । बायोग्यास कर्जा कोषको गठन गरी त्यसले ३ सयओटा लद्युवित्त संस्थालाई कर्जाको अनुमति दिइसकेको छ । बढीमा १४ प्रतिशत ब्याजमा तीनवर्षे किस्तामा यस्ता वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउँछन् ।
कसरी बनाउने बायोग्यास ?
बायोग्यास प्लाण्ट बनाउने बेलामा सम्झौता गरिएको कम्पनीले गुणस्तरीय सामग्रीको प्रयोग गरेको छ कि छैन ध्यान दिनुपर्छ । गोबर ग्यास प्लाण्ट स्थापना गरिसकेपछि शुरूमा कति गोबर राख्ने, दैनिक कति राख्ने र पानीको मात्रा कति राख्ने भन्ने विषय निश्चित गर्नुपर्छ । बायोग्यास निर्माण गर्ने घरधनीलाई सरकारले बायोग्यासधनी पुस्तिका दिने गरेको छ । यस पुस्तिकामा यसको प्रयोगबारे विस्तृत जानकारी दिइएको छ । सन् २०१२ देखि सन् २०१७ सम्ममा १ लाख ३० हजार घरमा बायोग्यास प्लाण्टको स्थापना गर्ने सरकारको लक्ष्य छ । काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०६९/७० बाट शहरी घरेलु सामुदायिक बायोग्यास प्लाण्टको स्थापना कार्य शुरू गरिएको थापाले जानकारी दिए ।
सन् २०११ मा गरिएको एउटा अध्ययनले नेपालमा १२ लाख घरायसी बायोग्यास प्लाण्टको निर्माण गर्न सकिने देखाएको थापाले बताए । हालसम्म यसको २५ प्रतिशत प्लाण्ट निर्माण मात्र हुन सकेको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बायोग्यास उत्पादनका विभिन्न प्रविधिको विकास गरेको छ । यस्ता प्रविधिहरूमा घरायसी, शहरी, घरेलु, संस्थागत, सामुदायिक, व्यावसायिक प्रकृतिका बायोग्यास उत्पादन रहेका छन् । घरका भान्सा तथा घरवरपर उत्पन्न हुने कुहिने जैविक पदार्थको प्रयोग गरी बायोग्यास उत्पादन गर्न सकिन्छ । त्यस्तै, गाईभैंसीको गोबर तथा मानिसको मलमूत्रबाट पनि बायोग्यास उत्पादन गर्न सकिन्छ ।
के हो बायोग्यास प्रविधि ?
सड्ने र गल्ने जैविक पदार्थलाई कुहाउँदा मिथानोजेनिक ब्याक्टेरियाको सहायताले बायोग्यासको उत्पादन हुने गर्छ । तापको सहायताले गरिने कार्यमा यसको प्रयोग गर्न सकिन्छ । ग्यास इञ्जिनमा ग्यासलाई विद्युतीय शक्तिमा परिणत गर्न पनि यसको प्रयोग गर्न सकिन्छ । साथै, बायोग्यासलाई दबाब दिई प्राकृतिक ग्यासका रूपमा गाडीलाई चलाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।