पुस १२, कास्की । पोखरादेखि दुई गन्तव्य मनाङ र बाराको सिमरासम्म सीधा हवाई सेवा सञ्चालन हुने भएको छ । गण्डकी प्रदेशलाई सातै प्रदेशसँग हवाईमार्गबाट जोड्ने नीति अनुरुप पहिलो चरणमा पर्यटकीय क्षेत्र मनाङ र भारतीय सीमा नजिकको सीमरासम्म हवाई सेवा सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल, नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली र स्थानीय तहका जनप्रतिनिधीहरु बीच भएको छलफलमा यही पुस २४ गतेदेखि मनाङको हुम्डे विमानस्थलमा र माघको दोश्रो सातादेखि सिमरामा जहाज सञ्चालन गर्ने भएको छ । शुरुमा दुबै स्थानमा साप्ताहिक रुपमा उडान गर्ने, र क्रमशः यात्रुको चाप वृद्धी भएपछि नियमित उडान सञ्चालन गर्न सकिने मन्त्री लम्सालले बताए ।
दुबै ठाउँका लागि आवश्यक तयारी थालिएको र विमानस्थलको प्राविधिक अवस्थाबारे अध्ययन गर्न तत्कालै प्राविधिक टोली पठाउने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए । उनका अनुसार जहाज उडानका लागि जहाजमा यात्रुहरुको सुनिश्चितता सम्बन्धमा स्थानिय तहले जिम्मा लिनुपर्ने गरी प्राधिकरणले सम्झौता गर्ने छ । प्राधिकारणको सर्त स्वीकार गर्दै सिमराको लागि जितपुर उपमहानगरपालिका र मनाङ जिल्लाका स्थानिय तहहरुले यात्रु सुनिश्चितताको जिम्मा लिन सहमति जनाइसकेका छन् ।
विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र मनाङमा २०७१ बैशाखदेखि हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भर्न नसक्दा पर्यटकहरुका साथै स्थानीय समेत प्रभावित बनेका छन् । अन्नपूर्ण पदमार्ग र तिलिचो तालसमेत रहेको मनाङमा नियमित उडान नहुँदा आन्तरिक तथा बाह्य पर्यटकले कष्ट व्यहोर्नु परेको छ । समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ साल असोजबाट निगमले दुइतर्फीरुपमा पोखरा–मनाङ उडान सञ्चालन गर्दै आएको थियो ।
प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा पोखरालाई सातओटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ । सातै प्रदेशमा सीधा उडान सञ्चालन भएपछि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने केन्द्र सरकारको लक्ष्य पुरा गर्न सहज हुने मन्त्री लम्सालको भनाइ छ । ‘योजना अनुसार नै प्रदेशमा पर्यटनमैत्री पूर्वाधार विकासका कामहरु अगाडि बढिरहेका छन्,’ उनले भने । पोखराबाट सातै प्रदेशका लागि सीधा हवाई सेवा सञ्चालन गर्नको लागि नागरिक उड्डयन प्राधिकरणलाई अन्तरप्रदेश उडान तालिका सार्वजनिक गर्न निर्देशन दिइएको लम्सालले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।