पोखरा महानगरपालिका : भत्काइयो सार्वजनिक जमीनका तीन घर

Share News
कास्की । पोखरा महानगरपालिकाले मापदण्ड विपरीत सार्वजनिक जग्गा मिचेर बनाइएका भवनहरू डोजर लगाएर भत्काएको छ । महानगरपालिकाले वडा नं. ४ बाट निर्वाचित वडासदस्य विष्णुमाया परियार सहित अन्य दुई जनाको घर भत्काएको छ । विष्णुमाया परिवारले फिर्केखोलाको मापदण्ड मिचेर सार्वजनिक जमीनमा घर बनाएकी थिइन् । उक्त घरमा भर्खरैमात्र पहिलो ढलान गरिएको थियोे । जग राख्दादेखि नै गैरकानूनी काम नगर्न आग्रह गर्दै पत्राचार गर्दा समेत अटेर गरी स्थायी संरचना बनाएकोले परियारको घर भत्काइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले बताए । परियारले नेपाल स्काउटको नाममा रहेको जमीन समेत मिचेर संरचना बनाएको भन्दै वडा कार्यालय, महानगर तथा अख्तियारमा समेत उजुरी परेको छ । ‘पटक/पटक मापदण्ड नमिच्न भन्यौं । पत्राचार ग¥यौं, निर्माणस्थलबाट निर्माण सामग्री उठाएर समेत ल्यायौं । तर अटेरी गरेपछि मेयरको निर्देशनमा भत्कायौं,’ नेपालीले भने । वडा सदस्य परियारले भने आफूले वडाध्यक्ष र मेयरसँग मौखिक सहमति गरेरमात्रै घर बनाएको दाबी गरिन् । ‘मेयर साबसँग कुरा गरेरै मात्रै घर बनाएको हुँ,’ उनले भनिन्, ‘अहिले आएर जबरजस्त डोजर प्रयोग गरी घर भत्काए ।’ पुरानो घरमा फिर्के खोलाको बाढी पस्ने भएकाले माथि घर सारेको उनले दाबी गरिन् । उनले फिर्केको मापदण्ड मिचेर सयौंले घर बनाएको बताउँदै आफूले घर बनाएको जग्गा २०४८ सालदेखि नै भोगचलन गर्दै आएको बताइन् । उनले महानगर प्रमुख तथा वडाध्यक्षसँग सल्लाह गरेर रू. १५ लाख ऋण लिएर पक्की घर बनाउन थालेको पनि स्पष्ट पारिन् । महानगरले सोमवार नै पोखरा–५ स्थित धारापानीमार्गमा भरत लिगलले सार्वजनिक जग्गा मिचेर बनाएको अस्थायी संरचना पनि भत्काएको छ । सोही स्थानमा सार्वजनिक जग्गा मिचेर भौतिक संरचना निर्माण गरिएका अन्य ३ जना स्थानीयलाई घर भत्काउने कागज गराएर छाडिएको छ । त्यस्तै वडा नं ५ कै जमुना क्षेत्रीको सार्वजनिक जमीनमा बनेको तीन कोठाको घर पनि भत्काइएको महानगर प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।