काठमाडौं । सरकारले नेपालबाट सबैभन्दा बढी निर्यात हुने पाँच देशका लागि छुट्टै निर्यात रणनीति तयार गर्ने भएको छ । एउटै राष्ट्रिय रणनीतिले ती देशसँग व्यापारिक कारोबार गर्न समस्या देखिएकाले ती देशका लागि नयाँ रणनीति तय गर्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । नेपालबाट सबैभन्दा बढी सामान निर्यात हुने देशहरूमा भारत, अमेरिका, टर्की, जर्मनी र बेलायत छन् ।
स्वदेशी वस्तुको निर्यात वृद्धि गर्न मन्त्रालयले नेपाली वस्तुको बढी निर्यात हुने पाँच देशका लागि छुट्टै रणनीति तयार गर्न लागेको मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । उनले भने, ‘एउटै राष्ट्रिय नीति अनुरूप सबै मुलुकसँग व्यापारको डिलिङ गर्दा समस्या देखिएकाले नयाँ रणनीति तयार गर्न लागिएको हो ।’ नेपालमा आयात दिन प्रतिदिन बढ्दै गएको तर निर्यात सोही अनुरूप बढ्न नसकेको अवस्थामा यस्तो रणनीतिले निर्यात बढाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । उनका अनुसार सोही अनुरूप निर्यातयोग्य वस्तुको पहिचान गरेर निर्यात हुने देशका लागि छुट्टाछुट्टै निर्यात रणनीति तयार गर्न लागिएको हो । मन्त्रालयले करीब २ महीनाभित्रै नयाँ रणनीति तयार गर्ने सचिव घिमिरेले बताए । उनका अनुसार यो रणनीतिले विदेशी मुलुकहरूसँग नेपालले गर्ने व्यापारमा मार्गचित्रको काम गर्ने छ ।
पछिल्लो समय मुलुकमा आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न सकेको छैन । २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण, औद्योगिकीकरण तथा विकास निर्माणका कारण पनि आयात बढेको मन्त्रालयको धारणा छ । नेपालमा सबैभन्दा बढी इन्धन, आइरन–स्टील, मेशिनरी सामान, यातायातका साधन बढी आयात हुने गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ । पछिल्लो ५ महीनामा नेपालको व्यापारघाटा रू. ५ खर्ब ६९ अर्ब पुगेको छ । बढ्दो व्यापारघाटा कम गर्न निर्यातयोग्य वस्तुको उत्पादन र यसको परिमाण बढाउन आवश्यक रहेको घिमिरेले बताए ।
विकास निर्माणका लागि आवश्यक सामान आयात राम्रै भए पनि विलासिताका वस्तु आयात हुनु देशको अर्थतन्त्रका लागि राम्रो नहुने अर्थविद् डा. पोषराज पाण्डेले बताए । उनले भने, ‘आयात कम गर्न अनुत्पादक वस्तुको आयात घटाउँदै तुलनात्मक लाभको क्षेत्रमा निर्यात बढाउन आवश्यक छ ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।