हालसम्म १ सय २० ओटा स्टलको तयारी गरिएकोमा यी सबै बूकिङ भइसकेको क्यानले जानकारी दिएको छ । उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने मेला प्रत्येक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा धेरै कम्पनी विशेष छूटसहित नयाँ योजना सार्वजनिक गर्ने योजनामा छन् भने कतिपयले पुराना योजनालाई प्याकेजमा उपलब्ध गराउने योजना बनाएका छन् ।
आगामी भदौ १९ गतेदेखि सफट्वेयरको कुम्भमेला ‘क्यान सफ्टेक २०१३’ आयोजना हुँदै छ । सुबिसु केबलनेट प्रालिको मुख्य प्रायोजनमा आयोजना हुन लागेको यो मेला विगतको तुलनामा अलिकति फरक र विस्तारका साथ सञ्चालन गर्न लागिएको छ । विगतमा काठमाडौं त्रिपुरेश्वरस्थित डीईसीसी भवनमा आयोजना गरिएको यो सफ्टेक अहिले फराकिलो क्षेत्र खोज्दै भृकुटीमण्डपमा हुने भएको छ । आयोजक कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान)का अध्यक्ष विनोद ढकाल यो सफ्टेक मेलालाई विस्तृत परिमार्जनसहितको प्रस्तुति भन्न रुचाउँछन् । उनी भन्छन्, ‘सफ्टवेयर तथा यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई व्यावसायिक मार्ग पहिचान गर्न मेलाले महत्वपूर्ण सहयोग गर्नेछ ।’ यस्तै धारणा छ सफ्टेक मेलाका संयोजक तथा क्यानका तृतीय उपाध्यक्ष विश्वराम बलामीको पनि । ‘सफ्टवेयर कम्पनीलाई मेलाले राम्रो ‘एक्सपोज’ दिनेछ,’ उनी भन्छन् ।
हालसम्म १ सय २० ओटा स्टलको तयारी गरिएकोमा यी सबै बूकिङ भइसकेको क्यानले जानकारी दिएको छ । उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने मेला प्रत्येक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ । मेलामा धेरै कम्पनी विशेष छूटसहित नयाँ योजना सार्वजनिक गर्ने योजनामा छन् भने कतिपयले पुराना योजनालाई प्याकेजमा उपलब्ध गराउने योजना बनाएका छन् । कस्ता छन् त मेलाका आकर्षण ? यहाँ त्यस्ता केही विशेष आकर्षणको चर्चा गरिएको छ ।
तीन महीना ‘फ्री’ इण्टरनेट
सफ्टेकको प्रमुख प्रायोजक सुबिसु केबलनेटले मेलाको अवसरमा ३ महीना ‘फ्री’ इण्टरनेट सुविधाको घोषणा गरेको छ । यसका लागि ग्राहकले १२ महीनाको प्याकेज लिनुपर्नेछ । १२ हजार रुपैयाँको उक्त प्याकेजको खरीदमा ग्राहकले अतिरिक्त ३ महीनाको इण्टरनेट निःशुल्क पाउनेछन् । अर्थात् १२ महीनाको इण्टरनेट प्याकेज खरीदमा १५ महीनासम्म इण्टरनेट प्रयोग गर्न सकिनेछ । यो प्याकेजको खरीदमा ग्राहकले ३ हजार रुपैयाँको केबल मोडेम र एउटा पेनड्राइभ निःशुल्क पाउनेछन् । न्यूनतम २ सय ५६ केबीपीएस ब्याण्डविथ प्राप्त गर्न सकिने यो योजना सफ्टेक अवधिभरका लागि मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।
घरमै स्कूल
प्रविधिमार्फत विद्यालयमा विषयगत ‘कण्टेण्ट’ प्रदान गर्दै आएको मिदास एजुकेशनले यो सुविधा अब घरका प्रयोगकर्तालाई पनि उपलब्ध गराउने भएको छ । सफ्टेक मेलामार्फत सार्वजनिक गर्न लागिएको ई–क्लाश ‘होम एडिशन’मा यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । रू. १ हजारबराबरको उक्त होम एडिशनको खरीदमा ग्राहकले ३ सयबराबरको भौचर प्राप्त गर्नेछन् । सोही भौचरमार्फचत विषय छनोट गरी कम्पनीको वेबसाइटबाट कण्टेण्ट डाउनलोड गर्न सकिन्छ । यसको अवधि ४५ दिनको हुनेछ । समयावधि बढाउन भने रिचार्ज कार्ड अथवा बैङ्क एकाउण्टको प्रयोग गर्न सकिन्छ ।
शरीरको शक्ति सफ्टवेयरमा
भनिन्छ, मानिसभित्र मात्र होइन, बाहिर पनि उत्तिकै ऊर्जा प्रवाह भइरहेको हुन्छ । तर, यो भनाइले अब वास्तविकताको रूप लिने भएको छ । औरा रेकी नामक संस्थाले सफ्टेकमा सार्वजनिक गर्न लागेको ‘औरा रेकी’ नामको सफ्टवेयरमार्फत यस्तो ऊर्जाको पहिचान गराइदिने भएको छ । यो सफ्टवेयरले मानव शरीरमा उत्पन्न हुने ऊर्जाको अवस्थाबारे जानकारी दिनेछ । विभिन्न र्मार्फत मानव ऊर्जालाई पहिचान दिने भएकाले यसले मानिसको स्वास्थ्य स्थितिबारे राम्रो जानकारी पाउन सकिने संस्थाको भनाइ छ ।
पुस्तकालय व्यवस्थापन गर्ने सफ्टवेयर
धेरै पुस्तकहरूको बीचमा कुनै एउटा पुस्तक तुरुन्त पत्ता लगाउनु अत्यन्त झन्झटिलो काम हो । अझ विद्यालय तथा कलेजहरूमा विद्यार्थीहरूको भीडभाडमा यो काम त टाउको दुखाइ नै बन्छ । पुस्तकालयमा पुस्तक व्यवस्थापनको यस्तै समस्या समाधान गर्न इरासफ्ट सोलुशन प्रालिले मुमोलस सफ्टवेयर सफ्टेकमा प्रदर्शन गर्दै छ । यो सफ्टवेयरले फरक स्थानमा राखिएका पुस्तक तत्काल पत्ता लगाउन सहयोग गर्छ । त्यस्तै, पुस्तकको सम्पूर्ण डाटा पनि यसमा राख्न सकिन्छ । यो सफ्टवेयरले १० मिनेटमा १ सयदेखि १ सय ५० सम्मको की–बोर्ड र माउसविना नै ट्राञ्जेक्शन गर्ने क्षमता राख्छ ।
कम्प्युटरको अक्षर पढ्ने सफ्टवेयर
ब्राइट स्टार सोसाइटीले दृष्टिविहीनलाई लक्षित गरी ‘जज’ सफ्टवेयरलाई सफ्टेकमा आधिकारिक रूपमा सार्वजनिक गर्दै छ । यो सफ्टवेयरलाई कम्प्युटरमा इन्ष्टल गरेपछि त्यसले कम्प्युटरमा लेखिएको शब्द पढिदिनेछ । यसबाट दृष्टिविहीनले सजिलै कम्प्युटरका शब्द थाहा पाउन सक्नेछन् । त्यस्तै सोही संस्थाले दृष्टिवाचक सफ्टवेयर पनि सार्वजनिक गर्दै छ । यसले नेपालीमा लेखिएका शब्दलाई पढ्न सहयोग गर्नेछ ।
सफ्टेकका अवसरमा नेपाल टेलिकमले पनि आफ्नो नयाँ योजना ई–भीडीओलाई विशेष छूटसहित उपलब्ध गराउने बताएको छ । त्यस्तै ब्रेनडिजिट सोलुशनले वेबसाइट तथा ई–कमर्श साइट बनाउने योजनालाई छूटसहित प्रदान गर्ने जानकारी दिएको छ । के आर बी सफ्टवेयरले साना तथा मझौला उद्योगका लागि ९ हजार ९ सय ९९ रुपैयाँमा सफ्टवेयर उपलब्ध गराउने घोषणा गरेको छ । द नेक्ष्ट लेभलले प्रत्येक स्मार्टफोनको खरीदमा २० प्रतिशतसम्म छूट दिने बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।