एमभीपी भिडियो सम्प्रेषणमा नयाँ फड्को

Share News

कल्पना गर्नुहोस् त, कुनै एक ठाउँमा बसेर तपाईंले विश्वका फरकफरक स्थानमा रहेका फरक व्यक्तिसँग एकैचोटी भिडियोमार्फत नै कुराकानी गर्न पाउनुभयो भने कस्तो अनुभव होला ? कल्पनाका लागि छोडिएको यो विषय त्यति नयाँ भने होइन । स्काइप र गूगल भिडियोले यसलाई सम्भव बनाएको छ । स्काइपले तीनजना र गूगल भिडियोले पाँचजना व्यक्तिसँग एकैपटक कुराकानी गर्न सक्ने सुविधा ल्याइसकेको छ । तर, एकैपटक १६ जना व्यक्तिसँग कुराकानी गर्न पाउने सुविधा भने धेरैका लागि नयाँ हुन सक्छ । इण्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले नेपालमै पहिलोपटक ल्याएको ‘म्यानेज्ड भिडियो प्रिजेन्स’ (एमभीपी) प्रविधिले भिडियो सम्प्रेषणमा यस्तो अत्याधुनिक प्रविधि भित्र्याएको हो ।

स्काइप प्रयोगकर्ताका लागि एमभीपी प्रविधि अलि सजिलो लाग्न सक्छ । ‘भिडियो कन्भर्जेन्स’को प्रयोग गरिरहेकाहरूलाई पनि यो प्रविधि त्यसको नयाँ किसिमको संस्करण जस्तो लाग्न सक्छ । तर, एमभीपी भिडियो सम्प्रेषण गर्ने यस्ता प्रविधिको तुलनामा गति र भिडियो गुणस्तरको हिसाबले धेरै अगाडि मानिन्छ । तपार्इंले यसलाई आफ्नो टेलिभिजन, स्मार्टफोन अथवा अन्य कुनै भिडियो डिभाइसमा प्रयोग गर्न सक्नुहुन्छ । विण्डोजबाहेक अन्य चल्तीमा रहेका अपरेटिङ सिष्टम प्रयोग भएका स्मार्टफोन डिभाइसमा पनि यो सुविधा प्रयोग गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधीर पराजुली बताउँछन् ।

के हो एमभीपी ?
एक ठाउँको भिडियो अर्को ठाउँमा प्रत्यक्ष सम्पे्रषण गर्ने प्रविधि एमभीपी हो । भिडियो प्रसारणको क्षेत्रमा यसलाई अत्यन्त आधुनिक मानिएको छ । जस्तो, तपाईंले आफ्नो भिडियो डिभाइस (टेलिभिजन, ल्यापटप, कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट)मा बोलेका अथवा प्रस्तुत गर्ने सबै गतिविधि यसले ‘लाइभ’ अर्को डिभाइसमा पठाउँछ । लाइभ प्रसारणका लागि भने इण्टरनेटको पहुँच हुनुपर्छ । इण्टरनेटको ब्याण्डविथ जति बढी छ, त्यति नै गुणस्तरको भिडियो यसले सम्प्रेषण गर्छ । डिभाइसअनुसार भिडियो पठाउने यसको अर्को विशेषता हो । जस्तो स्मार्टफोनमा जस्तो किसिमको भिडियो सपोर्ट हुन्छ, यसले त्यस्तै किसिमको भिडियो उपलब्ध गराउँछ । तर, गुणस्तर भने ब्याण्डविथले निर्धारण गरेको हुन्छ । थ्रीजी इण्टरनेट चल्ने स्मार्टफोनमा समेत एमभीपी प्रविधि प्रयोगमा ल्याउन सकिन्छ । सुबिसुले अहिले एकैपटक १६ जना व्यक्तिसँग कुराकानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । जस्तो, तपाईंले टेलिभिजनमा एमभीपी प्रयोग गर्नुभएको छ भने तपाईंले फरक स्थानमा रहेका १६ व्यक्तिसँग एकैपटक कुराकानी गर्न सक्नुहुन्छ । त्यति मात्र होइन, सम्पर्कमा रहेका ती सबै १६ जना व्यक्तिले एक–आपसमा कुराकानी पनि गर्न सक्छन् । कुनै व्यक्ति इण्टरनेटको पहुँचमा छैन भने यसमा समय ‘सेट’ गर्न सकिने सुविधा पनि छ । सेट भएको सोही समयअनुसार नै प्रापकले फुर्सदको समयमा पनि सो भिडियो हेर्न सक्छन् । स्काइप अथवा गूगल भिडियोमा जस्तो यसमा ब्याण्डविथ कम भए पनि भिडियो अड्किने, नबुझिनेजस्ता समस्या हुँदैन ।

कसरी प्रयोग गर्ने ?
एमभीपी सञ्चालनका लागि भिडियो डिभाइसको आवश्यकता पर्छ । टेलिभिजनमा तपाईंले यो सुविधा प्रयोग गर्ने हो भने त्यसका लागि छुट्टै क्यामेरा र अडियो प्लेयर पनि राख्नुपर्छ । क्यामेरा र अडियो प्लेयरको क्षमताअनुसार नै तस्वीर र आवाजको गुणस्तर पनि निर्धारण हुन्छ । यदि तपाईंले एमभीपी सेवा प्रयोगमा ल्याउने हो भने त्यसका लागि सबैभन्दा पहिले कम्पनीमा दर्ता गर्नुपर्ने हुन्छ । दर्ताबापत अहिलेलाई २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको कम्पनीका विक्री विभागका उपाध्यक्ष सन्तोष पुरीले जानकारी दिए । दर्ताबापत कम्पनीले तपार्इंलाई पासवर्ड उपलब्ध गराउँछ । सोही पासवर्डमार्फत तपाईंले विभिन्न डिभाइसमा कनेक्ट गर्न सक्नुहुन्छ । तपाईंले अन्य जुन डिभाइसका लागि एमभीपी सुविधा शुरू गर्न लाग्नुभएको हो, सोहीअनुरूप प्रतिमहिना बढीमा ६ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

फाइदै फाइदा
ठूला व्यावसायिक तथा वित्तीय संस्थाले आफ्ना शाखा कार्यालयमा तुरुन्त कुनै प्रस्तुति दिनुपर्‍यो भने यो उपयोगी प्रविधि बन्न सक्छ । जस्तो, काठमाडौंमा केन्द्रीय कार्यालय भएको बैङ्कको विराटनगरमा शाखा छ र त्यहाँका कर्मचारीलाई तालीम दिनुपर्‍यो भने यसको प्रयोग गर्न सक्छ । यसका लागि केन्द्रीय कार्यालयको प्रमुखले जुनसुकै भिडियो डिभाइसको प्रयोग गरेर विराटनगरस्थित कार्यालयमा ठूलो स्क्रिनसहितको टेलिभिजन राखेर पनि भिडियो सम्प्रेषण गर्न सकिन्छ । एमभीपीले संस्थाको सञ्चालन खर्च (अपरेटिङ कष्ट)मा धेरै कटौती ल्याउने पराजुलीको भनाइ छ । स्लाइड प्रिजेण्टेशन (लिखित प्रस्तुति) पनि दिन सकिने भएकोले शाखा कार्यालयहरूमा पनि यसलाई एकैसाथ सम्प्रेषण गर्न सकिने उनले बताए । ‘यो प्रविधिले कर्मचारीलाई भ्रमणबापत दिनुपर्ने खर्च, सभाहल व्यवस्थापनजस्ता शीर्षकमा हुने खर्चसमेत घटाउँछ,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।