फेवाताल बढाउन अतिक्रमित संरचनामा महानगरले डोजर चलायो

Share News
माघ १४, कास्की । अतिक्रमणका कारण संकटमा पर्दै गएको पोखराको फेवातालबाट अतिक्रमित संरचना, फोहोर र माटो हटाउने अभियान शुरु भएको छ । पोखरा महानगरपालिकाले सोमवारदेखि खहरेस्थित तालमा जमेको माटो र फोहोर हटाउन थालेको हो । फेवातालको अतिक्रमण हटाउने योजना अनुरुप तालको आकार बढाउने गरी महानगरपालिकाले डोजर लगाएको छ । महानगरले सो क्षेत्रको करीब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको बताएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अतिक्रमण हटाउने अभियानको शुरु गरेका हुन् । उनले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त पहलमा फेवा संरक्षण गर्ने बताए । फेवाताल विश्वकै गहना भएकाले यसको संरक्षण गर्नु सरकारको दायित्व रहेको बताउँदै उनले भने, ‘सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन सुरुआत सोमवारदेखि प्रारम्भ गरेका छौं, यसले तालको आकार पनि बढ्छ र ताल संरक्षण पनि हुन्छ ।’ फेवाताल संरक्षण गर्न र अतिक्रमणबाट रोक्न प्रदेश सरकारले एक्सन कमिटी गठन गरिसकेको भन्दै मुख्यमन्त्री गुरुङले कमिटीले सर्वोच्चको निर्णय अनुसार काम थाल्ने बताए । सरकारले गतहप्ता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा सम्बन्धित क्षेत्रका सांसद र सम्बन्धित मन्त्रालयका सचिवहरुलाई समेटेर ११ सदस्यीय कमिटी गठन गरिसकेको छ । अधिवक्ता खगेन्द्र सुवेदीले २०६७ माघ १० गते सर्वोच्चमा दायर गरेको रिटमाथी अध्ययन र बहस गरेर ओम प्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलासले गएको पुसमा फेवाताल अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन आदेश दिएको थियो । अहिले गठन भएको एक्सन कमिटीले ६ महीनाभित्रै सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने छ । सर्वोच्चले ६ महीनाभित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ । यस्तै व्यक्तिको नाममा दर्ता भएको जग्गाको लालपुर्जा पनि एकबर्ष भित्रै खारेज गरी जग्गा तालको क्षेत्राधिकारमा ल्याउन निर्देशन दिइएको छ । महानगरले पहिलो चरणमा खहरे र फिर्के जोडिएको ठाउँबाट माटो निकाल्न लागेको बताएको छ । महानगरका मेयर मानबहादुर जिसीले भने ‘फेवा संरक्षणमा प्रदेश सरकारको पनि चासो गएको छ । हामी समन्वयमा काम गर्छौं ।’ फेवातालबाट निकालिएको माटो हल्लनचोक नजिकै रहेको क्याम्पिङ चौरमा थुपारिने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिएका छन् ।२०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको फेवाताल २०६४ मा आईपुग्दा ४ दशमलव २० वर्गकिलोमिटरमा खुम्चिएको तथ्यांक छ । तालको संरक्षण, विकास र थप ब्यवस्थित गर्नका लागि सरकारले ताल संरक्षण प्राधिकरण गठन गर्दैछ । यसका लागि विधेयक तयार हुँदैछ । वडाध्यक्षको घर नै मादण्डमापोखरा महानगर वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाको घर नै मापदण्ड बिपरित बनेको छ । मापदण्ड बिपरित पोखरा १८ खपौदीमा बनाएको घरमा थापाले होटल तथा रेष्टुरेण्ट ब्यवसाय सञ्चालन गर्दै आएका छन् । महानगरले मापदण्ड बिपरितको संरचना भत्काउने अभियान सुरु गर्दा उनी त्यहाँ उपस्थित भएका थिएनन् । तर, महानगरका अन्य वडाबाट निर्वाचित वडाअध्यहरु भने सो कार्यमा सहभागी भएका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।