देउराली–जनता फर्मास्युटिकल्स २९औं वर्षमा, 'विदेशी औषधिको निर्वाध आयात स्वदेशी उद्योगका लागि चुनौती'

Share News
माघ १६, काठमाडौं । देशकै अग्रणी औषधि उद्योगका रुपमा रहेको देउराली जनता फर्मास्युटिकल्सले आगामी दिनमा विकासको चरणमा रहेका नशा रोग, मनोचिकित्सा लगायतका औषधि उत्पादन गर्ने भएको छ । हाल उद्योगले ३ सय २० प्रकारका विभिन्न औषधि उत्पादन गर्दै आएकोे छ । उद्योगले औषधिहरूको गुणस्तरको परीक्षण गर्नुका साथै नेपालमा अत्यावश्यक औषधिहरूको विकास र अनुसन्धान गरिरहेको कम्पनीका अध्यक्ष तथा कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए । उद्योगको २८ औ वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष शर्माले नेपालमा औषधिको उत्पादन र विकास गर्न आवश्यक दक्ष जनशक्ति र प्रविधि विकास गर्ने उद्देश्यले कम्पनीले अत्याधुनिक उपकरणयुक्त नयाँ अनुसन्धानशाला निर्माण गरी अघि बढिरहेको बताए । सरकारको नीतिगत अस्पष्टताका कारण स्वदेशी उद्योगले चाहे जति विकास गर्न नसकेको बताउँदै उनले पूराना नीति परिवर्तन गर्न माग गरे । उनले भने, ‘पूराना नीतिहरु यथावत छन, ति ऐनहरु कहिले संशोधन हुन्छन ? यो आम उद्योगीको प्रश्न हो ।’ उनले नेपाली उद्यमीलाई विदेशमा लगानी गर्न दिन पनि सरकारसँग माग गरे । कुल १ अर्ब ६४ करोड रुपैयाँ लगानी भएको यो उद्योगले ५०७ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । हाल ५५ प्रतिशत क्षमतामा सञ्चालनमा रहेको उद्योग आगामी दिनमा पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी योजना बनाइरहेको शर्माले जानकारी दिए । वार्षिकोत्सवको अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर औषधिको क्षेत्रमा अनुसन्धान गर्न सरकार तयार रहेको बताए । उनले नेपाली औषधि उद्योगले ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन गरेर औषधिमा आत्मनिर्भरताको बाटोमा अग्रसर भएकोले स्वदेशी उद्योगको प्रबद्र्धनमा सरकारले सहयोग गर्ने बताए । ‘सुनको सिरानी हालेर नुनको खोजि गर्ने’ अवस्थाबाट बाहिर आउन उद्यमशीलताको विकास आवश्यक रहेको बताउँदै उनले औद्योगिक विकासको लागि आवश्यक नीतिगत सुधार गर्न सरकार तयार रहेको बताए । उनले भने, ‘खासमा के सुधार गर्दा स्वदेशी उद्योगहरुलाई राम्रो हुन्छ त्यसको संरचनागत, नीतिगत कुरा लिएर आउनोस । हामी त्यसमा छलफल गर्न र नीतिगत सुधार गर्न तयार छौं ।’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि तुलानात्मक लाभको क्षेत्र नभएकोले सरकार र निजी क्षेत्र मिलेर अनुसन्धानमा जोड दिनु पर्ने बताए । उनले औद्योगिक विकास सँगसँगै औषधिको गुणस्तर कायम गर्न र प्रतिष्पर्धी बन्न नेपाली उद्योगहरुलाई आग्रह गरे । सरकारले अनुसन्धानका लागि रु.५ करोडको बजेट विनियोजन गर्री बायो इक्युभ्यालेन्स अध्ययन केन्द्र’ सञ्चालन गर्न लागेको पनि ढकालले जानकारी दिए ।औषधिको निर्वाध आयात स्वदेशी उद्योगका लागि चुनौतीनेपालमा निर्वाध विदेशी औषधि आयात हुनु स्वदेशी उद्योगका लागि चुनौती भएको औषधि उद्योगीहरुको गुनासो छ । देशमा अहिले पनि ५५ प्रतिशत औषधि विदेशबाटै आयात हुने गरेको छ । ४५ प्रतिशत मात्रै स्वदेशी उत्पादन प्रयोग हुने गरेको तथ्याङ्क छ । सरकारले नीतिगत सुधार गरे ७० प्रतिशत माग स्वदेशी उद्योगहरुले नै पूरा गर्ने अध्यक्ष शर्माको धारणा छ । उनले नेपाली औषधि उद्योगले उत्पादन गरी आत्मनिर्भर हुन सक्ने करीव २ सय मोलिक्युलका औषधिहरू र हालै सरकारले मूल्य नियन्त्रण गरेका औषधिहरू बिदेशबाट आयातमा रोक लगाउन माग गरे ।उनले अहिले नेपाली औषधि उद्योगहरुमा २० अर्ब रुपैयाँभन्दा बढिको लगानी भएको र २५ हजार बढिलाई प्र्रत्यक्ष रोजगारी दिएको जानकारी दिए । बार्षिकोत्सव समारोहमा २० देखि २५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।