फर्किएला <br> नोकियाको बजार साम्राज्य ?

Share News

विश्वास रेग्मी

सन् १९९५ देखि सन् २००७ सम्म विश्वव्यापी मोबाइल विक्रीको तथ्याङ्कमा नोकियाको एकछत्र बजार देख्न सकिन्छ । त्यति मात्र कहाँ हो र सन् २००७ मै विश्वमा सबैभन्दा बढी विक्री भएका मोबाइलको सूचीमा ११औं स्थानसम्म नोकियाकै विभिन्न ब्राण्ड थिए । १२औं स्थानमा मात्र सामसुङको एसजीएच ई२५० मोडल पर्न सफल भएको थियो ।


गत भदौ १८ गते सफ्टेवयरको ‘बादशाह’ माइक्रोसफ्ट कर्पोरेशनले नोकिया इन्कर्पोरेशनअन्तर्गतको मोबाइल विभाग खरीद गर्ने घोषणा गर्‍यो । यो घोषणा त्यस्तो परिस्थितिमा गरिएको थियो, जतिबेला विण्डोज अपरेटिङ सिष्टमका मोबाइल फोनमा गूगलले यू–ट्युब चल्न बन्द गराएको थियो । अमेरिकाको माइक्रोसफ्ट र फिनिस कम्पनी नोकियाबीचको यो सम्झौताले विश्वबजारमा सफ्टवेयर र हार्डवेयरबीच हुन सक्ने ‘मर्जर’को मार्ग पनि खोलिदिएको छ । कुल ७ खर्ब ५६ अर्ब रुपैयाँ (७ दशमलव २ बिलियन डलर)मा गरिएको यो सम्झौताको प्रतिफलका विषयमा भने वादविवाद शुरू हुन थालेको छ ।

सन् १९९५ देखि सन् २००७ सम्म विश्वव्यापी मोबाइल विक्रीको तथ्याङ्कमा नोकियाको एकछत्र बजार देख्न सकिन्छ । त्यति मात्र कहाँ हो र सन् २००७ मै विश्वमा सबैभन्दा बढी विक्री भएका मोबाइलको सूचीमा ११औं स्थानसम्म नोकियाकै विभिन्न ब्राण्ड थिए । १२औं स्थानमा मात्र सामसुङको एसजीएच ई२५० मोडल पर्न सफल भएको थियो । अझै रमाइलो विषय के छ भने विश्वमा अहिलेसम्म सबैभन्दा बढी विक्री भएको मोडल पनि नोकियाकै छ । नोकिया ११०० मोडल  अहिलेसम्म २५ करोड थान विक्री भइसकेको छ । त्यस्तै विश्वका ९५ प्रतिशत डेस्कटपमा माइक्रोसफ्टको अपरेटिङ सिष्टम प्रयोग भएको छ । दुवै ब्राण्डको इतिहास सुनौलो छ । तर, वर्तमान भने दुवैका लागि अप्ठ्यारो बन्न पुगेको छ । सन् २००८ मा जब आइफोन थ्रीजी मोडलले त्यस वर्ष विश्वकै सबैभन्दा बढी विक्री भएको मोबाइलको रेकर्ड बनायो, त्यसपछि नोकियाको मोबाइल बजारमा जुन साम्राज्य थियो, त्यो घट्न थाल्यो । सन् २०१३ सम्म आइपुग्दा त नोकिया स्मार्टफोन बजारको नौलो ब्राण्ड एचटीसीको मोडलभन्दा पनि विक्रीमा पछि परेको छ । यद्यपि, बजारमा धेरै मोडल उपलब्ध गराइरहेका कारण कुल विक्रीमा भने नोकिया तेस्रो स्थानमा छ । विक्रीका हिसाबले अहिले सामसुङ र एप्पल क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । यस्तो अवस्थामा माइक्रोसफ्टसँगको यो सम्झौता नोकिया ब्राण्डलाई पहिलेकै साम्राज्यमा पु¥याउन सहयोगी हुन्छ त ? सूचनाप्रविधिका धेरै विज्ञहरू अहिले यो प्रश्नको सम्भावित उत्तर खोज्नतिर लागिपरेका छन् ।

अपरेटिङ सिष्टममा स्वामित्व
जमाना स्मार्टफोनको छ । यसकै बजारको आकारले ब्राण्डको प्रतिस्पर्धा निर्धारण गर्छ । हुन त स्मार्टफोन बजारमा आउनुअघि पनि मोबाइलको बजार उत्तिकै तीव्र थियो । त्यतिबेला यो धेरैका लागि नौलो पनि थियो । यस्तै परिवेशमा नोकियाले बजारमा छलाङ मार्न सफल भएको थियो । नेपालकै सन्दर्भमा पनि धेरै मानिसले नोकिया ब्राण्डबाटै आफ्नो मोबाइल प्रयोगको यात्रा शुरू गरेका थिए । तर, अहिले स्मार्टफोनको प्रभाव नेपालको ग्रामीण क्षेत्रमा पनि बढ्दो छ । अपरेटिङ सिष्टमको प्रयोग गरिने हुनाले यसको आकर्षण बढी भएको हो । यस्तोमा प्रयोगका लागि सजिलो मानिने एण्ड्रोइड ओएससँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न नै माइक्रोसफ्टका लागि चुनौती बनेको छ । अहिले विश्वमा ९४ प्रतिशत एण्ड्रोइड ओएसको प्रयोग भएका स्मार्टफोन छन् । जब कि विण्डोज ओएस प्रयोग गरिएका स्मार्टफोन भने ४ प्रतिशत मात्र छन् । त्यसमाथि प्रयोगकर्ताहरू विण्डोजको कनेक्टिभिटी तथा एप्लिकेशन इन्ष्टलमा अभागी हुनुपर्ने विषयलाई प्राथमिकतामा राख्न थालेका छन् । माइक्रोसफ्टले नोकिया लुमिया १०२० मा प्रयोग गरेको नयाँ संस्करण ओएसबाट केही मोडलमा तस्वीर खिच्दा समस्या आएकाले प्रयोगकर्तामा त्यसको नराम्रो छाप बसेको छ । अमेरिकी बजारलाई मात्र प्राथमिकतामा राखेर ब्लुटूथको व्यवस्था नभएकाले अन्य ओएस प्रयोग गरिएका मोबाइलसँग डाटा शेयर गर्न यसमा समस्या हुने गर्छ । ग्राहकको भ्रम समाधान गर्नु र बहुउपयोगी अपरेटिङ सिष्टम निर्माण गर्नु माइक्रोसफ्टका लागि ठूलो चुनौती हो ।

प्रतिस्पर्धाको प्रश्न  
कहिलेकाहीँ आफैले शुरू गरेको खेल आफ्नै लागि खतरापूर्ण बन्न सक्छ । अपरेटिङ सिष्टमको दौड चलाएर माइक्रोसफ्टले धेरैलाई बजार विस्तारको ‘आइडिया’ दियो । तर, अन्य केही स्मार्टफोन ब्राण्ड माइक्रोसफ्ट ओएस प्रयोग गर्ने तयारीमा छन् । माइक्रोसफ्ले त्यस्ता ब्राण्डलाई यदि अनुमति दियो भने नोकियाको आगामी बजारलाई ठूलो धक्का पुग्नेछ । आफ्नै ओएससँग आफैले प्रतिस्पर्धा गर्नुपर्नेछ ।

एचटीसी र सामसुङले पछिल्लो समय आफ्नै ओएस ल्याउने घोषणा गरिसकेका छन् । यस्तोमा हार्डवेयरका लागि बढी परिचित यी कम्पनी सफ्टवेयरमा पनि आफ्नै किसिमकले अगाडि बढ्न सक्छन् । विण्डोजको नयाँ संस्करणमा धेरै परिवर्तन नहुने र ‘लुक्स’मा पनि विविधता हुन सकेन भने नोकिया ‘सस्तो’ प्रतिस्पर्धामा आउनेछ । यो माइक्रोसफ्टका लागि गम्भीर विषय हो । प्रतिस्पर्धात्मक ओएस निर्माणमा लाग्न सके नोकियाको बजार पुनःस्थापित बन्न सक्ने आधार छ ।

गूगल र एप्पलको मार
गूगलको एण्ड्रोइड प्रयोग गर्ने सामसुङ र छिटोछिटो परिवर्तन ल्याइरहने एप्पल । यी दुई ब्राण्ड माइक्रोसफ्टका अहिलेका बलिया प्रतिस्पर्धी हुन् । सन् २०१० देखि यी दुई ब्राण्डको बजार यसरी उकालो लागेको छ कि झर्ने कुनै आधार देखिँदैन । गुम्दै गएको ‘ब्राण्ड भ्यालू’बीच नोकियाले यी दुई ब्राण्डको हाल कायम रहेको बजारलाई आफ्नो स्वामित्वमा फर्काउन निकै प्रयास गर्नुपर्नेछ ।

आखिर सबैले राम्रो खोज्छन् । हार्डवेयरमा उत्कृष्टता र गतिलो सफ्टवेयर जसले उपलब्ध गराउँछ, बजार उसकै पक्षमा हुन्छ । नोकियामा हाल कार्यरत ३५ हजार कर्मचारीलाई व्यवस्थापन गर्नु नै माइक्रोसफ्टका लागि चुनौती हो । त्यसमाथि कमजोर बन्दै गएको आफ्नो बजार उकास्नु माइक्रोसफ्ट र नोकिया दुवैका लागि अबको परीक्षा घडी हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।