फोहोर व्यवस्थापनमा असफल भरतपुर महानगर

Share News
चितवन (अस) । भरतपुर महानगरपालिकाले ल्याण्डफिल्ड साइट बनाउन नसक्दा फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ । व्यवस्थापन गर्ने नयाँ प्रविधि, जनशक्ति अभाव तथा फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइटको व्यवस्था महानगरले गर्न सकेको छैन । एउटै ठेकेदारलाई वर्षौंसम्म ठेक्का दिनु र विना वर्गीकरण फोहोर उठाउनु पनि समस्या हुन् । महानगरपालिकाका वातावरण शाखाका अधिकृत विराट घिमिरे नयाँ प्रविधि र जनशक्ति अभावका कारण फोहोर व्यवस्थापनमा जटिलता थपिएको बताउँछन् । ‘नियमित फोहोर उठाउने र सफाइ गर्न जनशक्ति माग गर्छौं, तर यस्तो काम गर्न कोही मान्दैनन्,’ उनले भने, ‘हामीसंँग यसलाई व्यवस्थापन गर्ने प्रविधि पनि छैन ।’ उनका अनुसार वातावरण सन्तुलन र सरसफाइको लागि महानगरपालिकाले पर्याप्त बजेट नछुटाउँदा पनि समस्या आएको छ । ‘महानगर वातावरणलाई स्वच्छ राख्नुभन्दा पनि पूर्वाधारमा केन्द्रित भयो, यसमा ध्यान दिइएन,’ उनले भने । २९ वडा भएको महानगरपालिकामा फोहोर व्यवस्थापन र सचेतना कार्यक्रमलाई निरन्तरता दिए पनि प्रभावकारी नभएको उनले बताए । मेडिकल हवको रूपमा परिचित महानगरमा अस्पतालजन्य फोहोरले झनै समस्या थपिएको उनले बताए । हाल महानगरले दैनिक ४५ मेट्रिक टन फोहोर संकलन गर्ने गरेको छ । डम्पिङ साइट नहुँदा नारायणी नदी किनारमा फोहोर विसर्जन हुँदै आएको छ । नारायणगढबाट करीब २ किलोमिटर पूर्व जलदेवी सामुदायिक वनको १० बिघा क्षेत्रफलमा ल्याण्डफिल्ड साइट बनाउने भनिए पनि कामले गति लिन सकेको छैन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।