नेपालमा ट्रान्सफर्मर निर्माण गर्ने एक मात्र कम्पनी नेपाल इकरात इञ्जिनीयरिङ कम्पनी प्रालि आजदेखि २१औं वर्षमा प्रवेश गरेको छ । सन् १९९२ मा नेपालमै पहिलोपटक ३ सय १५ केभीएको ट्रान्सफर्मर निर्माण गरेर आफ्नो व्यावसायिक यात्रा शुरू गरेको नीकले हालसम्म १८ हजारभन्दा बढी युनिट ट्रान्सफर्मर विक्री गरिसकेको छ । २१ वर्षसम्मको यो यात्रा क्रममा भएका विभिन्न सामाजिक उतारढावबीच पनि कम्पनीले हासिल गरेको ‘ब्राण्डिङ’ सन्तुष्टिको आधार बनेको कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशी बताउँछन् । ‘व्यावसायिक वातावरण त्यति राम्रो नभए पनि ग्राहकबीच नीकका उत्पादनमा जुन विश्वास छ, त्यो सबैभन्दा आनन्दायक लाग्छ,’ उनी भन्छन् । नीकको यो यात्रामा कुनै समयमा पनि अवरोध नआउनु नै कम्पनीको सफलता भएको उनको भनाइ छ । ‘गुणस्तरमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं,’ उनी भन्छन्, ‘गुणस्तर हाम्रो परिचय बनेको छ ।’ उच्च आयातका कारण प्रत्येक वर्ष खर्बौं रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको नेपालजस्तो देशमा प्राविधिक क्षेत्रमा त्यो पनि निर्यातमा निरन्तर लागिपर्दै आएको यो कम्पनीको प्रयास उदाहरणीय मानिन्छ ।
थाइल्याण्डबाट ट्रान्सफर्मर आयात गरेर विक्री शुरू गरेको नीक नेपालका युवा उद्यमी र थाइल्याण्डको इकरात इञ्जिनीयरिङ पब्लिक कम्पनीको सहकार्यमा स्थापना भएको हो । जलविद्युत्मा प्रचुर सम्भावना बोकेको नेपालमा ट्रान्सफर्मरको व्यवसाय राम्रो हुन सक्ने सोचेर त्यतिबेला सहकार्य गरेको जोशी बताउँछन् । नीकले सन् १९९० मा थाइल्याण्डको उक्त पब्लिक कम्पनीसँग सहकार्य गरेर १२ ओटा ट्रान्सफर्मर नेपाल भिœयाएको थियो । त्यतिबेला यस कम्पनीमा नेपालका तर्फबाट कुशकुमार जोशी, अशोक श्रेष्ठ र अजय मुडभरीको समूहले थाइल्याण्डको कम्पनीसँग सहकार्य गरी काम शुरू गरेका थिए । त्यसपछि नेपालमै ट्रान्सफर्मर निर्माण गर्ने उद्देश्यले कम्पनीले सन् १९९१ मा उत्पादन अनुमतिका लागि आवेदन दिएको थियो । कम्पनीले सोही वर्ष निर्माण अनुमति पाए पनि सन् १९९२ देखि औपचारिक निर्माण शुरू गरेको हो ।
वार्षिक ३ हजार युनिट ट्रान्सफर्मर निर्माण क्षमता रहेको यो कम्पनीको हेटौंडामा उत्पादन प्लाण्ट छ । अहिले प्लाण्टबाट वार्षिक २ हजार युनिटसम्म ट्रान्सफर्मर निर्माण हुन्छ । प्लाण्टमा दैनिक १ सय केभीएका सयओटा ट्रान्सफर्मर निर्माण गर्न सक्ने क्षमता छ । हाल १ केभीएदेखि ५ हजार केभीएसम्मको ट्रान्सफर्मर निर्माण गर्दै आएको नीकको १० हजार केभीए क्षमतासम्मका ट्रान्सफर्मर निर्माण गर्न सक्ने क्षमता छ । कम्पनीले आफ्ना ट्रान्सफर्मरमा २ वर्षसम्म कुनै खराबी आएमा सट्टापट्टा गरिदिने व्यवस्था गरेको छ । नीकको बीसौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले १ वर्ष ग्यारेण्टी सुविधालाई २ वर्ष पुर्याएको थियो । २० वर्ष प्रवेशको उपलक्ष्यमा लगानीकर्तालाई शतप्रतिशत बोनस र कर्मचारीलाई १ वर्षमा २० महीनाबराबरको तलब वितरण गरेको कम्पनीले यो वर्ष पनि त्यसलाई निरन्तरता दिने योजनामा रहेको जोशीले बताए । ‘१ वर्षअघिको तुलनामा व्यावसायिक वातावरणमा आशातित सुधार आउन नसके पनि हामी लगानीकर्ता र कर्मचारीको हौसला बढाउने काममा पछि पर्नेछैनौं,’ उनले भने ।
योजनामा पावर ट्रान्सफर्मर
पावर ट्रान्सफर्मर निर्माण गरेर त्यसको व्यावसायिक विस्तार गर्ने कम्पनीको आगामी योजना छ । ‘नेपालमा यदि पावर ट्रान्सफर्मरको माग हुन्छ भने हामी त्यो पनि निर्माण गर्न सक्षम छौं,’ जोशीले भने । यसका लागि आवश्यक जनशक्ति तथा प्रविधि कम्पनीसँग उपलब्ध रहेको उनले बताए । यद्यपि, नेपाली बजारमा धेरै कम मात्र पावर ट्रान्सफर्मरको माग हुने गरेको छ ।
स्टेबिलाइजरमा पनि अब्बल
ट्रान्सफर्मर निर्माणमा गुणस्तरको पर्यायवाचीजस्तै बनेको नीक स्टेबिलाइजरको व्यवसायमा पनि अब्बल बन्दै गएको छ । विद्युतीय भोल्टेज व्यवस्थापन गर्ने यस्ता स्टेबिलाइजरको कम्पनीले विगत ४ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीले व्यक्तिगत तथा संस्थागत दुवै प्रयोजनका लागि आवश्यक स्टेबिलाइजरको निर्माण गर्छ । ‘स्टेबिलाइजरको व्यवसायले पनि हामीलाई थप सन्तुष्टि दिएको छ,’ जोशीले भने । कम्पनीले स्टेबिलाइजर तथा ट्रान्सफर्मरका लागि आवश्यक कच्चापदार्थ जापान, स्वीट्जरल्याण्ड, टर्की, जर्मनी, मलेसिया तथा भारतबाट आयात गर्छ ।
बजारमा पकड
विद्युत् प्राधिकरणले विदेशबाट खरीद गरेको ट्रान्सफर्मरबाहेक नेपालमा प्रयोग भएका ट्रान्सफर्मरमध्ये करीब ७० प्रतिशत नीककै छन् । ठूला व्यावसायिक संस्था तथा उद्योगहरूमा अहिले नीककै ट्रान्सफर्मर बढी देख्न सकिन्छ । सन् १९९८ मा अमेरिकी प्रविधि प्रयोग गरिएको एमोर्फोस ट्रान्सफर्मर उत्पादन गर्न थालेपछि कम्पनीको उत्पादनको बजार हिस्सा क्रमशः बढ्न थालेको हो । जोशी भन्छन्, ‘गुणस्तरमा हामी जुनसुकै ट्रान्सफर्मरसँग प्रतिस्पर्धा गर्न सक्छौं ।’
निर्यात विस्तारको योजना
भूटानमा मात्रै अहिले नीक ब्राण्डका ४ हजार युनिट ट्रान्सफर्मर प्रयोगमा छन् । त्यस्तै भारतका केही स्थानमा पनि कम्पनीको ट्रान्सफर प्रयोग भइरहेको छ । यद्यपि, त्यहाँ व्यावसायिक रूपमा विस्तार भने भइसकेको छैन । कम्पनीले अहिले बङ्गलादेश, खाडी मुलुक तथा केही अफ्रिकी राष्ट्रमा परीक्षण (स्याम्पल)का रूपमा आफ्नो ट्रान्सफर्मर पठाइसकेको छ । त्यहाँबाट माग आउनासाथ निर्यात विस्तार गरिने कम्पनीले बताएको छ ।
प्राथमिकतामा सर्भिस सेण्टर
नीकले सर्भिस सेण्टर सञ्चालनलाई आफ्नो आगामी प्राथमिकताका रूपमा राखेको छ । यसका लागि कम्पनीले भक्तपुरको सल्लाघारीमामा स्थान छनोट गरिसकेको छ । उक्त सर्भिस सेण्टरबाट ग्राहकले ट्रान्सफर्मर मर्मतसम्भारको सुविधा पाउनेछन् । सेण्टरमा मर्मतसम्बन्धी ज्ञान भएका दक्ष जनशक्ति र पर्याप्त उपकरण उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । सल्लाघारीमा निर्माण गरिने उक्त सर्भिस सेण्टरमा दैनिक १ सय केभीएका १ सयओटा ट्रान्सफर्मर मर्मत गर्न सक्ने क्षमता हुनेछ ।
के हो ट्रान्सफर्मर ?
बढी भोल्टेजको विद्युत् प्रवाहलाई कम (स्टेप डाउन) र कम भोल्टेजको विद्युत् प्रवाहलाई बढी (स्टेप अप) बनाउन प्रयोग गरिने विद्युतीय उपकरणकै ट्रान्सफर्मर हो । यसको उपयोग विद्युतीय दुर्घटना कम गर्न प्रयोग गरिन्छ । कम अथवा अत्यधिक विद्युत् प्रवाहबाट हुन सक्ने दुर्घटनाबाट यसले बचाउँछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।