जोखीम बढाइदिने अनलाइन सेलिबे्रटी

Share News

फ्यान हुनु पनि कहाँ सजिलो छ र ? आफ्ना सेलिबे्रटीलाई मन पर्ने/नपर्ने विषयको जानकारी लिनु, दैनिक जीवनशैली बुझ्नु, नयाँ विषयमा अपडेट भइराख्नु यी सबै काम निरन्तर गर्नुपर्छ एउटा फ्यानले । यी सबै कुरा बुझ्ने राम्रो स्रोत बनेको छ अनलाइन । तर, विश्वमा केही यस्ता सेलिब्रेटी छन्, जसलाई तपार्इं अनलाइनमा सर्च गर्नुभयो भने त्यो तपाईंकै लागि घातक बन्न सक्छ । म्याकाफी एण्टिभाइरसले यसै विषयलाई दृष्टिगत गरी अनलाइन सर्चमा सबैभन्दा खतरा सेलिबे्रटीको सूची हालै प्रकाशन गरेको छ । इण्टरनेट सेक्युरिटीमा काम गर्दै आएको उक्त एण्टिभाइरस कम्पनीले ती सेलीबे्रटीलाई वेबसाइटमा खोज्नुलाई कम्प्युटरमा थप जोखीम भित्र्याउने काम भनेर व्याख्या गरेको छ । तर, यस्तो काम सेलिबे्रटी आफैले भने गर्दैनन् । साइबर अपराधीहरूले सेलीबे्रटीको पेज अथवा वेबसाइट खोलेर प्रयोगकर्तालाई फसाउने गर्छन् । म्याकाफीले सार्वजनिक गरेका ती सेलिबे्रटीको विवरण यस्तो छ :


१. लिली कोलिन्स    
सन् २०१२ मा पिपल म्यागेजिनबाट विश्वकै सबैभन्दा सुन्दर युवतीको उपमा पाएकी लिली कोलिन्स सन् २०१३ को सबैभन्दा खतरनाक अनलाइन सेलिबे्रटीको सूचीमा पहिलो स्थानमा परेकी छिन् । आफ्नो गायन र कलाकारिताबाट एकै वर्षमा धेरै फ्यान बटुल्न सफल कोलिन्सले यसअघि पहिलो स्थानमा रहेकी इमा वाट्सनलाई पछि पारेकी हुन् । म्याकाफीले अनलाइनमा उनको फोटो सर्च गर्दा अथवा वेबपेज खोल्दा कम्प्युटरमा १४ दशमलव ५ प्रतिशतले सुरक्षा समस्या बढ्ने बताएको छ । यसबाट कम्प्युटरमा स्प्याम, भाइरस, स्पाइवेयर र अन्य मालवेयर प्रवेश सम्भावना बढी हुने बताइएको छ ।

२. एभ्रिल ल्याभिग्ने    
क्यानडामा जन्मिएकी एभ्रिल ल्याभिग्ने विश्वमा सबैभन्दा बढी सुनिने गायिकामध्ये पर्छिन् । सुन्दर रूप र उत्कृष्ट गायकीले उनका लाखौं फलोअर बनिसकेका छन् । त्यसैले, अनलाइनमा उनको बारेमा सर्च गर्ने जमात पनि ठूलो हुने नै भयो । तर, अनलाइनमा ल्याभिग्नेको सर्च गर्नु आफ्नो कम्प्युटरमा १२ दशमलव ७ प्रतिशत बढी सुरक्षा जोखीम निम्त्याउनु हो । म्याकाफीले भनेको छ ‘ल्याभिग्नेको पेज सर्च गर्दा भाइरसलाई कम्प्युटरमा छिर्ने बाटो झन् बढी खुला हुन्छ ।’

३. सान्द्रा बुलोक  
‘ए टाइम टू किल’, ‘वाइल यू वेयर स्लिपिङ’जस्ता प्रसिद्ध हलिउड चलचित्रकी नायिक सान्द्रा बुलोकको कला जति सशक्त छ, उनलाई अनलाइनमा खोज्नु पनि त्यस्तै खतरापूर्ण छ । हुन त बुलोकले आफूलाई वेबपेजमा त्यति खतरा बनाएकी होइनन् । तर, साइबर अपराधीले उनको ‘फेक’ वेबपेज बनाएर आमप्रयोगकर्तालाई झन् जोखीम बढाइदिएकी छन् । म्याकाफीको खतराको सूचीमा तेस्रो स्थानमा रहेकी बुलोकको पेजले १० दशमलव ८ प्रतिशत बढी सुरक्षासम्बन्धी सुरक्षा खतरा निम्त्याउने म्याकाफीको अध्ययनले देखाएको छ ।

४. क्याथी ग्रिफिन
आइरिस मूलकी क्याथी ग्रिफिन प्रसिद्ध अभिनेत्री हुन् । रङ्गमञ्चमा उनको विशेष दख्खल छ । तर, अनलाइनको संसारमा भने उनी पनि अभागी सावित भएकी छिन् । साइबर क्राइमको नराम्रो असरमा परिसकेकी ग्रिफिनको पेज अथवा लिङ्कमा प्रवेश गर्नु आफूलाई पनि अनलाइनबाट असुरक्षित बनाउनुजस्तै हो । उनको लिङ्कमा जब तपाईं प्रवेश गर्नुहुन्छ, भाइरसको आक्रमण सामान्य अवस्थामा भन्दा १० दशमलव ६ प्रतिशतले बढ्ने म्याकाफीले बताएको छ ।

५. जो साल्डना   
जब हलिउड फिल्म ‘अवतार’ले विश्वव्यापी प्रसिद्धि कमायो, त्यसपछि फिल्मकी मुख्य नायिका जो साल्डनाको बारेमा अनलाइन सर्च गर्नेको सङ्ख्या धेरै बढ्यो । साल्डनाप्रतिको फ्यानको रुचिलाई ख्याल गर्दै साइबर क्राइममा संलग्न व्यक्तिले उनको नाममा वेबपेज बनाउने तथा तस्वीरहरू शेयर गर्ने काम गरे । उनीहरूकै कारण साल्डनालाई अनलाइन खोज्नु खतरापूर्ण बनेको छ । म्याकाफीले १० दशमलव ५ प्रतिशत अङ्क दिँदै उनलाई यो वर्षकी सबैभन्दा खतरनाक अनलाइन सेलिबे्रटीको सूचीमा पाँचौं स्थानमा राखेको छ ।

६. केटी पेरी
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित साण्टा बार्बरा भन्ने ठाउँमा जन्मिएकी केटी पेरी गीत गाउँदा स्टेजमा गर्ने फरक चरित्रका लागि निकै चर्चित छिन् । केही हलिउड फिल्ममा आफ्नो अभिनयसमेत प्रदर्शन गरिसकेकी पेरी पनि अनलाइनका लागि भने खतरापूर्ण छिन् । जब तपाईं पेरीको वेबसाइट खोल्नुहुन्छ, विभिन्न मालवेयर कम्प्युटरमा प्रवेश गर्ने सम्भावना १० दशमलव ४ प्रतिशतले बढ्छ ।

७. ब्रिट्नी स्पेयर्स   
चर्चित गायिका ब्रिट्नी स्पेयर्सलाई अनलाइन सर्च गर्ने रहर त धेरैको छ । तर, जब सर्च गरिन्छ, त्यसले निम्त्याउने जोखीम भने कम्प्युटरका लागि समस्या बन्न पुग्छ । उनको पेजबाट १० दशमलव १ प्रतिशतभन्दा बढी भाइरस सुरक्षाको समस्या बढ्ने भन्दै कम्पनीले यो वर्ष उनलाई सूचीको सातौं स्थानमा राखेको छ ।

८. जोन ह्याम
सूचीको आठौं स्थानमा रहेका जोन ह्याम कलाकार तथा निर्देशक हुन् । उनी यो सूचीमा पर्ने एक मात्र पुरुष सेलीबे्रटी पनि हुन् । उनको वेबसाइट हेर्दा १० प्रतिशत सुरक्षा समस्या बढ्ने म्याकाफीले बताएको छ ।

९. एड्रियाना लिमा
एड्रियानाको वेबपेज खोल्नुलाई म्याक्फीले ९ दशमलव ९ प्रतिशत अतिरिक्त सुरक्षाको जोखीमका रूपमा मानेको छ । ब्राजिलकी यी मोडलको चर्चा चुलिएसँगै ह्याकरहरूले उनको पेजको जोखीम झन् बढाइदिएका छन् । म्याकाफीको सूचीमा उनी नवौं स्थनमा छिन् ।

१०. इम्मा रोबर्ट्स
सन् २०१२ मा सबैभन्दा खतरापूर्ण मानिएकी इम्मा यो वर्ष सूचीको दशौं स्थानमा परेकी छन् । गायिका, मोडल तथा अभिनेत्री उनको परिचय हो । उनको तस्वीर अथवा लिङ्क सर्च गर्दा भाइरसले अट्याक गर्ने सम्भावना प्रबल रहने म्याकाफीले जानकारी दिएको छ ।   
(एजेन्सीको सहयोगमा)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।