मार्जिन कारोबार सुविधा : ब्रोकरहरूलाई आवेदन दिन बुधवारदेखि खुला

Share News
काठमाडौं । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) हरूले बुधवारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वीकृतिका लागि आवेदन दिनसक्ने भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलवार सूचना जारी गरी त्यस्तो जानकारी दिएको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि बमोजिम योग्य ब्रोकरहरूले आवेदन दिन सक्ने बताए । उनले मार्जिन कारोबार ब्याजदरको पनि विषय भएकाले ब्रोकरहरूको आवेदनपछि आवश्यक भए सम्बद्ध निकायहरूसँग छलफल गरेर स्वीकृति दिने जानकारी दिए । नेप्सेबाट स्वीकृति पाएपछि ब्रोकरले अन्य निकायसँग स्वीकृति माग्नु पर्दैन । नेप्सेले आवेदन माग गरेसँगै ब्रोकरहरू आवेदन दिने तयारीमा जुटेको स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले बताए । आधाभन्दा बढी ब्रोकर मार्जिन कारोबार सुविधा प्रदान गर्न योग्य रहेकाले ती सबैले आवेदन दिने उनको भनाइ छ । उनका अनुसार ब्रोकरहरू मार्जिन कारोबार लागू गर्नका लागि लामो समयदेखि तयारी गरिरहेका छन् । नेपाल धितोपत्र बोर्डले गत कात्तिकमै मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७४ जारी गरेको थियो । मार्जिन कारोबार उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले जारी निर्देशिका बमोजिम कार्यविधि बनाई नेप्सेले गत जेठमै बोर्डको स्वीकृति लिएको थियो । हाल नेपालमा सञ्चालित ५० धितोपत्र दलाल व्यवसायीकै लागि यो सुविधा उपलब्ध गराउने उद्देश्य भए पनि उनीहरूले स्वेच्छाले यो सेवा प्रदान गर्नसक्ने नेप्सेको भनाइ छ । बोर्डले ब्रोकर र लगानीकर्ताको समझदारीमा मार्जिन कारोबारका लागि ब्याजदर निर्धारण गर्न निर्देशन दिएको छ । मार्जिन कारोबार उपलब्ध गराउने ब्रोकरको खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुनुपर्छ । ब्रोकरले मार्जिन कारोबार उपलब्ध गराउदा कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा न्यूनतम वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको शेयरमा मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । धितोपत्र दलाल व्यवसायीले यो सुविधा आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म उपलब्ध गराउन सक्छन् । बोर्डको निर्देशनअनुसार सबै धितोपत्र दलाल व्यवसायीले सूचीकृत संस्थाको शेयरको १ सय ८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये कमको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रूपमा लिनुपर्नेछ । यस सम्बन्धमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग ४० प्रतिशत मार्जिन लिनुपर्ने प्रावधान छ । शेयरमा निहित जोखिमलाई ध्यानमा राखी दलाल व्यवसायीले ४० प्रतिशतभन्दा बढी मार्जिन माग गर्नसक्ने पनि बोर्डले व्यवस्था गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।