टीकापुर घटना : रेशम चौधरीसहित ११ जनालाई जन्मकैद, चौधरीको सांसद पद के हुन्छ ? (फैसलाको पूर्णपाठ)

Share News

फागुन २२, काठमाडौं । टीकापुर घटनामा दोषी ठहर गर्दै प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । मधेसी–थारु आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक झडपमा एसएसपीसहित ८ जना प्रहरी र १ जना नाबालकको हत्या भएको थियो ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सो घटनामा दोषी ठहर भएकामध्ये ११ जनालाई जन्मकैदको फैसला गरेको हो । जन्मकैद फैसला हुनेमा रेशमलालसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, बीरबहादुर चौधरी, सीताराम चौधरी, प्रदीप चौधरी, श्रवण चौधरी र गंगाराम चौधरी रहेका छन् ।

रेशम चौधरीको सांसद पद के हुन्छ ? सो घटनाका मुख्य अभियुक्त मानिएका रेशमलाल चौधरीविरुद्ध २०७४ साल फागुन १४ गते अनुसन्धान थालिएको र सोही दिनदेखि थुनामा राखिएको थियो । चौधरीविरुद्ध जन्म कैदको फैसला भएपछि अब उनी २०९४ साल फागुन १३ गतेसम्म कैदमा बस्नु पर्ने भएको छ ।

उनले निर्धारित समयसम्म पुनरावेदन गरी उनीविरुद्धको फैसला उल्टिएमा भने सोही बमोजिम हुनेछ । सर्वोच्च अदालतबाट प्रतिपादित यस अघिका नजिरले माथिल्लो अदालतले अन्तिम फैसला गरेपछि मात्र शुरुको फैसला कार्यान्वयनमा आउने स्पष्ट पारेका छन् ।

यही कारणबाट उनको सांसद पद भने उनीविरुद्ध लागेको आरोपको अन्तिम फैसलाले शुरु फैसलालाई सदर गरेपछि मात्र गुम्ने भएको छ । यदि माथिल्लो अदालतले शुरुको फैसलालाई उल्ट्याइदियो भने उनको सांसद पद गुम्ने अवस्था हुँदैन ।

नेपालको संविधानको धारा ८७ को उपधारा (१) को खण्ड (ग) मा संघीय संसदको सदस्य हुनको लागि नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको व्यक्ति हुनु पर्ने स्पष्ट गरेको छ । यसैगरी धारा ८९ मा सांसद पद गुम्ने अवस्था पनि उल्लेख गरेको छ । सो धाराको खण्ड (ख) मा धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा भन्ने उल्लेख गरिएको छ ।

अधिवक्ता किशोर खतिवडाले संविधानका ती प्रावधानहरु अदालतको अन्तिम फैसला भएपछि मात्र लागू हुने उल्लेख गरे । अन्तिम फैसला भनेको ‘पुनरावेदन सुन्ने अदालतले शुरु फैसलाको बारेमा बोलेमा’ भन्ने हुन्छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।