गाउँदेखि शहरसम्म दशैंतिहारको चटारो शुरू भइसकेको छ । कोही घर रङ्ग्याउने काममा व्यस्त छन् त कोही आवश्यकताका सामान खरीद गर्न । व्यस्तता जस्तोसुकै होस्, विस्तारै यी चाडपर्व भने प्रविधिमय बन्दै गएका छन् । आफन्तलाई दशैंको निम्तो दिन, विदेशमा रहेका आफन्तसँग चाडपर्वमा कुराकानी गर्न ग्याजेट (कनेक्टिभिटी डिभाइस)को प्रयोग बढ्दो छ । अझ व्यावसायिक हिसाबले चाडपर्वको अवसरमा विशेष छूटका योजना सार्वजनिक हुने भएकाले ग्याजेट खरीदको चहलपहल पनि बढ्न थालेको छ ।
दशैंको चहलपहलले अहिले स्मार्टफोन, ल्यापटप र क्यामेराको विक्री बढ्न थालेको विक्रेताहरूको भनाइ छ । ब्राण्डेड तथा ननब्राण्डेड दुवै किसिमका स्मार्टफोन विक्रेताले दशैंका लागि छूटका योजना सार्वजनिक गर्दै छन् । बार फोनकै मूल्यमा स्मार्टफोन उपलब्ध हुने भएकाले गाउँसम्म पनि यसको प्रभाव बढ्दै गएको छ । कम मूल्यमा क्यामेरा, इण्टरनेट, गेम, एप्लिकेशनजस्ता सुविधाले पनि दशैंमा धेरै मानिसले स्मार्टफोन खरीद गर्ने योजना बनाइरहेका हुन्छन् । अहिले नेपाली बजारमा ५ हजारदेखि ७२ हजार रुपैयाँसम्मका स्मार्टफोनको विक्री भइरहेका छन् ।
ल्यापटपका नेपालस्थित आधिकारिक विक्रेताले दशैंको अवसरमा छूटका योजना सार्वजनिक गरेसँगै यसको खरीद गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । प्रायः सबै कम्पनीले दशैंकै मुखमा नयाँ ल्यापटप सार्वजनिक गर्ने र त्यसमा पनि छूट दिने भएकाले ग्राहकहरूमा छुट्टै रौनक थपिरहेको हुन्छ । अहिले नेपाली बजारमा विश्वप्रसिद्ध डेल, एचपी, एसर, सोनी, तोशिबा, फुजित्सुलगायत ब्राण्डका ल्यापटप उपलब्ध छन् । विक्रेताहरूले ल्यापटपको खरीदमा नगद छूट तथा उपहार योजना सञ्चालन गरी ग्राहक आकर्षित गरिरहेका छन् । धेरैजसो ल्यापटपमा विक्रेताहरूले ५ देखि १० प्रतिशतसम्म नगद छूट उपलब्ध गराइरहेका छन् । त्यस्तै कतिपयले ल्यापटपको खरीदमा पेनड्राइभ, ल्यापटप ब्याग, एण्टिभाइरसको उपहार योजना सञ्चालनमा ल्याएका छन् ।
क्यामेरा पनि मानिसका लागि अत्यावश्यक वस्तुका रूपमा परिचित हुँदै गएको छ । दशैंमा यसको उपायोगिता झन् बढेर गएको छ । घुमघाम तथा दशैंका महत्वपूर्ण क्षणहरू कैद गर्न धेरै मानिसले यही समय क्यामेरा खरीद गर्ने योजना बनाइरहेका हुन्छन् । क्यामेरामा पनि विक्रेताहरूले नगद छूट र उपहार योजना सञ्चालनमा ल्याएका छन् । त्यस्तै नोटबूक, ट्याब्लेटजस्ता विभिन्न ग्याजेटमा पनि दशैं योजना सार्वजनिक भइरहेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।