दशैंको उपहार ल्यापटप

Share News

गत मङ्गलवार न्यूरोडको ताम्राकार कम्प्लेक्समा भेटिएका चितवनका सचिन अधिकारी विक्रेतासँग डेल ब्राण्डका विभिन्न मोडलका ल्यापटपको मूल्य सोध्दै थिए ।  बहिनी सञ्चितालाई दशैंको उपहार दिन ल्यापटप खरीद गर्न लागेको उनले बताए । उपहार आफैमा महत्वपूर्ण वस्तु हुने र कम्प्युटर साइन्सकी विद्यार्थी सञ्चितालाई त्यसको महत्व हुने भएकाले ल्यापटप किन्न लागेको उनले बताए । ‘पहिलेपहिले कपडा, मोबाइल, क्यामेरालगायत सामग्री उपहार दिन्थेँ,’ उनले भने, ‘अब उसको आवश्यकताअनुसार ल्यापटप खरीद गर्ने सोच बनाएको छु ।’ लमजुङकी सगुन श्रेष्ठ पनि यसपालिको तिहारमा भाइलाई ल्यापटप उपहार दिने सोचमा छिन् । उनले ल्यापटपको मूल्य र विशेषताबारे बजारमा बुझ्दै गरेको बताइन् । ‘म ल्यापटपको ब्राण्डभन्दा पनि त्यसको हार्डवेयर तथा विशेषताबारे जानकारी लिँदै छु,’ उनले भनिन् ।

अधिकारी र श्रेष्ठजस्ता धेरै व्यक्ति अहिले उपहारकै लागि ल्यापटप खरीद गरिरहेका भेटिन्छन् । चाडपर्वमा उपहार मात्र नभई व्यक्तिगत प्रायोजनका लागि ल्यापटप किन्ने उपभोक्ताको पनि घुइँचो देखिन्छ । त्यस्तै, अफर,छूटजस्ता सुविधा पाइने भएका कारण कतिपय ग्राहक सामान खरीद गर्न यही समयको प्रतीक्षामा पनि हुन्छन् ।

यस्तो समयमा ल्यापटप विक्रेताहरूले छूट दिने भएकाले धेरैजना खरीद गर्ने योजनामा बसेका हुन्छन् । बजारमा दशैंको किनमेल शुरू भएसँगै कम्पनीहरूले  ब्राण्ड तथा प्रडक्टको प्रवर्धनका लागि यस्तो छूट योजना शुरू गर्न थालेका छन् । हाल नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्राण्डका ल्यापटप उपलब्ध छन् । त्यसमध्ये डेल, एचपी, सोनी, तोशिबा, एचसीएल, लेनोभो, कम्प्याक, एमएसआई र एप्पल ब्राण्डका ल्यापटप नेपाली बजारमा रुचाइएका ल्यापटप हुन् । त्यस्तै पछिल्लो समय हासी, बेलियो, ड्रासिस, पर्फेक्ट, सिमाको, इन्केचजस्ता नयाँ ल्यापटप तथा नोटबूक नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारमा ३५ हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्मका ल्यापटप उपलब्ध छन् । ल्यापटपको मूल्य यसको विशेषता तथा तथा आकारका आधारमा फरक पर्छ । त्यस्तै नेपालमा नियोटेरिक नेपाल, सीएएस ट्रेडिङ हाउस प्रालि, जिल इण्टरप्राइजेजलगायत एक दर्जनभन्दा बढी कम्पनी ल्यापटपका आधिकारिक विक्रेता छन् । त्यसैगरी देशभर ५ सयभन्दा बढी डिलरमार्फत सेवा दिँदै आएका छन् । 

नेपालमा ल्यापटपको प्रयोग सन् १९९५ देखि हुन थालेको हो । त्यसबेला अहिलेको भन्दा धेरै ठूलो आकारका ल्यापटप प्रयोगमा आउँथे । सन् २००० देखि केही नेपालीको हातमा ल्यापटप देखिन थालेको हो । केही वर्षसम्म लक्जरियस गुड्सका रूपमा लिइएको ल्यापटप अहिले आवश्यक वस्तुका रूपमा परिवर्तन भइसकेको छ ।




कस्तो प्रायोजनका लागि कुन ल्यापटप ?



ल्यापटप कुन प्रायोजनका लागि आवश्यक हो त्यहीअनुसार खरीद गर्नुपर्छ । कार्यालय, व्यक्तिगत, घरायसी, गेमिङ, वेब डिजाइनिङलगायत प्रायोजनका लागि छुट्टाछुट्टै ल्यापटप उपलब्ध भएकाले त्यसमा ध्यान दिनु आवश्यक छ ।


  • घरमा दैनिक प्रयोगका लागि सानो स्क्रिन भएको सस्तो ल्यापटप उपयुक्त हुन्छ ।
  • कार्यालय प्रायोजनका लागि ब्याट्री ब्याकअप धेरै भएको तथा प्रोसेसिङ पावर बढी भएको ल्यापटप उपयोगी हुन्छ ।
  • घर अथवा कार्यालयमा इण्टरनेट चलाउन तथा अन्य काम गर्न कोरटूडुओ आईथ्री प्रोसेसर भएका ल्यापटप खरीद गर्नु राम्रो हुन्छ । गेमिङ सिरिज, मल्टिमिडियाजस्ता विशेष प्रयोजनका लागि ठूलो स्क्रिन भएका ल्यापटप उपयोगी हुन्छन् । त्यसैगरी उच्च क्षमताको र्‍याम, साउण्ड सिष्टम तथा प्रोसेसिङ पावर बढी भएको ल्यापटप उपयोगी हुन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।