सनराइज फूटवेयर प्रालिले चाडपर्वको अवसर पारी १५ नयाँ मोडलका जुत्ता बजारमा ल्याएको छ । उपभोक्ताको रुचि र क्रयक्षमता मूल्याङ्कन गरी नयाँ मोडलका जुत्ता तयार गरिएको कम्पनीका प्रबन्ध निर्देशक नवराज गौतमले बताए । ग्राहककै रुचि र सुझावअनुसार जुत्ता तयार गरेकाले नयाँ उत्पादनले चाँडै नै बजार लिनेमा कम्पनी विश्वस्त रहेको छ । सनराइज फूटवेयरले विगत ६ वर्षदेखि ‘टाकुरा’ ब्राण्डका जुत्ताचप्पल उत्पादन गर्दै आएको छ । कम्पनीले स्पोर्टी, पार्टी, क्याजुअल, स्कूल जुत्ता तथा चप्पलको उत्पादन गर्छ । ‘यीमध्ये पनि हाम्रो कम्पनी स्पोर्ट शुज उत्पादनमा अगाडि छ,’ प्रबन्ध निर्देशक गौतमले भने । उनका अनुसार टाकुरा ब्राण्डका स्पोर्ट शुज युवाहरूको पहिलो रोजाइ बन्ने गरेको छ । ‘तर, कम्पनीको उद्देश्य भने बालबालिकादेखि वृद्धवृद्धासम्मको रोजाइमा टाकुरा जुत्ता होस् भन्ने हो,’ गौतमले भने ।
सुलभ मूल्य र खोजेअनुसारको ‘लुक्स’ तथा ‘डिजाइन’मा उपलब्ध हुनु टाकुरा ब्राण्डका जुत्ताको विशेषता रहेको कम्पनीले बताएको छ । यस कम्पनीको उत्पादन कारखाना कोटेश्वरमा छ भने प्रमुख विक्री ‘शोरूम’ बानेश्वर चोकमा छ । ‘हामी उपत्यकाभरि यहीँबाट सामान पठाउने गर्छौं,’ गौतमले भने । उपत्यकाबाहिर भने कम्पनीले मागअनुसार डेलिभरी गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन जमलस्थित राष्ट्रिय नाचघर भवनमा पनि उपलब्ध गराएको छ । ‘टाकुरा’ जुत्ता गाउँको तुलनामा शहरमा लोकप्रिय रहेको गौतमको भनाइ छ । कम्पनीले उच्चवर्गको रुचि र मागअनुसार जुत्ता उत्पादन गर्न लागिपरेको बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।