स्मार्ट शुज इण्डष्ट्रिज प्रालिले २० मोडलका नयाँ जुत्ता बजारमा ल्याएको छ । कम्पनीले दशैंतिहारलाई लक्षित गरी नयाँ मोडलका जुत्ता बजारमा ल्याएको हो । उक्त मोडलका जुत्ता नेपालका १ सयभन्दा बढी डिलरबाट विक्रीवितरण भइरहेको कम्पनीका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै, कम्पनीले आफ्ना हरेक मोडलको खरीदमा रू.५५ देखि ५ हजार ५ सय ५५ सम्मको हात खाली नजाने स्क्र्याच कुपन पनि उपलब्ध गराउने दाबी गरेको छ ।
कम्पनीले प्रत्येक मोडलको खरीदमा विशेष छूटसमेत प्रदान गर्ने श्रेष्ठले बताए । ‘दशैंतिहारलाई लक्षित गरी यस्तो योजना ल्याएका हौं,’ उनले भने, ‘प्रत्येक जुत्ताको खरीदमा १ वर्षसम्मको वारेण्टी दिन्छौं ।’ २०६७ सालमा स्थापना भएको कम्पनीले लेदरका जुत्ताचप्पल उत्पादन गर्दै आएको छ । कम्पनीले हाल प्रत्येक उमेरसमूहका लागि हुने जेन्स जुत्ताचप्पल उत्पादन गरिरहेको छ । कम्पनीले निकट भविष्यमै लेडिज जुत्ताचप्पलसमेत उत्पादन गर्ने बताएको छ । ‘हामी जतिसक्दो चाँडो लेडिज जुत्ताचप्पल उत्पादनको तयारीमा छौं,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘बजारमा स्मार्ट शुजको माग बढिरहेकाले लेडिज जुत्ताचप्पल पनि उत्पादन गर्ने योजना बनाएका हौं ।’
कम्पनीले हाल दैनिक १ सय ५० जोर जुत्ताचप्पल उत्पादन गर्दै आएको छ । १ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको कम्पनीमा हाल ५० जना कार्यरत छन् । कम्पनीले काठमाडौं पुरानो बसपार्कस्थित सिटी मार्केट, काठमाडौं मल, जडीबुटी र बुटवलमा आफ्नै शोरूम सञ्चालन गरेको छ । मासिक १० हजारदेखि १२ हजार जोरसम्म जुत्ताचप्पल विक्रीवितरण हुने गरेको कम्पनीको दाबी छ । कम्पनीद्वारा उत्पादित जुत्ताको मूल्य १ हजार ४ सय ९५ देखि ३ हजार ९ सय ९५ रुपैयाँसम्म र चप्पलको १ हजार १ सय ९५ रुपैयाँ पर्ने बताइएको छ । कम्पनीले निकट भविष्यमै काठमाडौंको चावहिल र उपत्यकाबाहिर इटहरीमा पनि शाखा विस्तार गर्ने योजना बनाएको छ । यसैगरी अष्ट्रेलियामा बसोवास गर्ने नेपालीलाई लक्षित गरी कम्पनीले जुत्ता निर्यात गर्ने जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।