गतवर्षको अगष्ट महीनासम्म फेसबूकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर ८ करोड ३० लाख मानिसले ‘फेक आईडी’(गलत परिचय) बनाएर फेसबूक प्रयोग गरेका थिए । यो सङ्ख्या त्यतिबेलाको कुल फेसबूक प्रयोगकर्ताको ८ दशमलव ७ प्रतिशत थियो । अहिले विश्वभर करीब १ अर्ब १५ करोड मानिसले फेसबूक प्रयोग गर्छन् । फेक प्रयोगकर्ताको तथ्याङ्क सार्वजनिक गर्ने क्रममा त्यसलाई निरुत्साहित गर्ने लक्ष्य राखे पनि यो त्यति धेरै प्रभावकारी बन्न सकेको छैन । त्यसैले, फेसबूकमा फेक आईडी प्रयोग गर्नेको सङ्ख्या घट्ने होइन, बढ्ने क्रममै छ । फेक आईडीको यो प्रभाव नेपालसम्म पनि उत्तिकै देखिन्छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रण शाखामा मात्रै दैनिकजसो इण्टरनेटबाट भएका अपराधको गुनासा आइराख्छन् । त्यसमध्ये सामाजिक सञ्जालमार्फत गरिएका आपराधिक क्रियाकलापको गुनासो अलि बढी रहेको शाखाका प्रमुख लक्ष्मीप्रसाद यादव बताउँछन् । उनका अनुसार नेपालमा जानेरभन्दा पनि रमाइलोका लागि फेक फेसबूक आईडी बनाउने व्यक्तिहरू बढी छन् । यद्यपि नेपालमा कति व्यक्तिले फेक आईडी प्रयोग गरिरहेका छन् भन्ने आधिकारिक तथ्याङ्क छैन ।
फरकफरक आईडी बनाएर फेसबूक चलाउनेहरूलाई केही समय त रमाइलो लाग्छ नै । कतिपयले आफ्नो वास्तविक परिचय देखाउन नचाहने भएकाले पनि यस्तो आईडी बनाउने गर्छन् । विशेषगरी युवापुस्तामा फेक आईडी बनाएर साथीहरूलाई ‘फ्लर्ट’ गर्ने अथवा नयाँ साथी बनाउने चाहनाले गर्दा पनि यस्तो प्रचलन बढेको विज्ञहरू बताउँछन् । हुन पनि सामाजिक सञ्जालको लोकप्रियता युवापुस्तामै बढी छ । यद्यपि, कतिपयले त गलत क्रियाकलापकै प्रवद्र्धन गर्न यस्तो आईडी बनाउने यादवको भनाइ छ । उनी भन्छन्, ‘त्यस्ता मानिसहरू जो अरूलाई दुःख दिएर आत्मसन्तोष मान्छन्, उनीहरूमा गलत आईडी प्रयोग गर्ने प्रचलन छ ।’ नेपालमा फेक फेसबूक आईडीलाई अझै पनि गम्भीर भएर लिएको पाइँदैन । गलत आईडीबाट कुनै कसुर हुन पुगेमा त्यस्ता प्रयोगकर्ताले कानूनी सजाय भोग्नुपर्ने हुन्छ । नेपालमा कम्प्युटर वा अन्य कनेक्टिभिटी डिभाइससँग सम्बन्धित कसुरबारेमा त्यति धेरै जनचेतना हुन नसकेको यादवको बुझाइ छ । उनी भन्छन्, ‘कानूनी प्रावधानकै जानकारी नभएकाले मानिसहरू सामाजिक सञ्जालमा जथाभावी लेख्ने, गलत आईडी बनाउने काम गरिरहेका छन् । तर, यस्तो कसुरका लागि विद्युतीय कारोबार ऐन २०६३ ले कारबाहीको प्रस्ट व्यवस्था गरेको छ ।
के छ कानूनमा ?
विद्युतीय कारोबार ऐन २०६३ अनुसार कम्प्युटर, इण्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा, द्वेष फैलाउने, विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन–प्रदर्शन गर्ने, गर्न लगाउने व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरीवाना अथवा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।
कस्तो छ मुद्दाको प्रक्रिया ?
नेपालमा फेसबूकबाट कुनै गलत काम भएमा त्यसको मुद्दा हाल्ने विषयमा धेरैलाई जानकारी छैन । मुद्दाको प्रक्रियाको जानकारी भएमा फेसबूकबाट हुन सक्ने जोखीमबाट बच्न सकिन्छ । अनि फेक आईडीबाट अपराधीलाई जेलको बाटो देखाउन सकिन्छ । नेपालमा सबैभन्दा पहिले यस्तो मुद्दा नेपाल प्रहरीअन्तर्गतको साइबर सेलमा जानकारी गराउनुपर्छ । साइबर सेलले व्यक्तिगत मुद्दा हेर्छ भने प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरोले संस्थागत मुद्दा हेर्छ । अनुसन्धानबाट प्राप्त जानकारीलाई आवश्यकताअनुसार प्रमाणीकरण नियन्त्रण शाखालाई पनि जानकारी गराइन्छ । शाखाले घटनाको साक्षीका रूपमा प्रस्तुत हुन्छ । यादव भन्छन्, ‘सही प्रयोग गर्ने हो भने सामाजिक सञ्जाल वरदान सावित हुन सक्छ । तर, यसको गलत प्रयोगले कारबाहीको भागीदार पनि बनाउन सक्छ ’ ।
कसरी चिन्ने फेक फेसबूक ?
कहिलेकाहीँ फेक फेसबूकका साथीसँग कुराकानी गर्दा पनि नराम्रो काममा फस्न सकिन्छ । कुनै व्यक्तिले तपाईंलाई नियतवश गलत काममा प्रयोग गर्न पनि फेक फेसबूक बनाएको हुन सक्छ । तर, त्यस्ता व्यक्तिलाई सजिलै पत्ता लगाउन सकिन्छ । यसका यस्ता उपायहरू छन् :
- फेसबूकमा तपाईंलाई ‘फ्रेण्ड रिक्वेष्ट’ आउँदा कुनै सेलिबे्रटी अथवा पहिचान नखुलेको प्रोफाइल तस्वीर प्रयोग भएको छ भने त्यसमा शङ्का गर्नुपर्छ ।
- कहिलेकाहीँ तपाईंको प्रोफाइल हेरेर त्यहाँ तपाईंले भर्नुभएको इण्ट्रेष्ट लिष्टसँग धेरै मेल खाने फेसबूक रिक्वेष्टलाई त्याग्नुहोस् ।
- तपार्इंलाई रिक्वेष्ट पठाउने व्यक्तिको साथीको सङ्ख्या हेर्नुहोस् । कुनै व्यक्ति अपरिचित छ र त्यसमा म्युचुअल फ्रेण्ड कोही पनि छैन भने त्यस्तोलाई एसेप्ट नगर्नुहोस् । कम्तीमा १ सय ३० जना साथी भएका व्यक्तिको फ्रेण्ड रिक्वेष्टलाई स्वीकार्नु राम्रो हुन्छ ।
- कुनै व्यक्तिको प्रोफाइलमा लेखिएका अन्य जानकारीलाई सर्च इञ्जिनमा गएर वास्तविकता बुझ्नुपर्छ । उसले लेखेका प्रोफाइल मेल खाएन भने त्यसबाट सचेत हुनुपर्छ ।
- वास्तविक फेसबूक प्रयोगकर्ताले आफ्नो फेसबूकको एल्बममा साथी अथवा घरपरिवारको फोटो ट्याग गरेका हुन्छन् । जुन व्यक्तिको एल्बममा एक्लैको मात्र तस्वीर छ र ट्याग भएको छैन भने त्यो फेक आईडी हुन सक्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।