कास्की । पोखरा रंगशालाको शिलान्यास भएको छ । ठेक्का सम्झौता भएको २ महीनापछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आइतवार रंगशाला पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।
गत पुसमा राष्ट्रिय खेलकुद परिषद्ले पोखरा फूटबल रंगशाला बनाउन भारतीय कम्पनी ग्रेट स्पोर्ट्स र एमए कन्स्ट्रक्शन जावलाखेलसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार १ अर्ब ३० करोड रुपैयाँमा ४ महीनाभित्र रंगशालाको निर्माण सम्पन्न हुनेछ ।
मन्त्री विश्वकर्माले १३औं दक्षिण एशियाली खेलकुद (साग) पोखरामा सञ्चालन गर्नेगरी सरकारले आवश्यक तयारी थालेको बताए । ‘सरकारले दक्षिण एशियाली खेलकुद (साग) सञ्चालनका लागि आगामी असार मसान्तसम्ममा रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ,’ उनले भने ।
मन्त्री विश्वकर्माले पोखरा रंगशालामा महत्त्वपूर्ण पूर्वाधार विकासको शुरुआत भएको बताए । गण्डकी प्रदेशका सांसद राजीव पहारीले पोखरालाई अन्तरराष्ट्रिय स्पोर्ट्स सिटीको रूपमा विकास गरिनुपर्ने धारणा राखे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले रंगशाला खेलाडीको भविष्य सुनिश्चित गर्ने खालको बनाउनुपर्नेमा जोड दिए ।
रू. १ अर्ब २८ करोड लागतको उक्त रंगशालाको दर्शक क्षमता १८ हजार ५ सयको हुनेछ भने एथलेटिक्सका लागि ८ लेनको सिन्थेटिक ट्र्याक बन्नेछ । रंगशालामा बन्ने पूmटबल मैदान फिफाको मापदण्ड अनुरूप हुनेछ । ४ सय १७ रोपनी क्षेत्रफलको उक्त रंगशालामा आगामी मङ्सिरमा दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला फूटबल आयोजना हुने कार्यतालिका छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।