रेमिट्यान्स : प्रभुको बम्पर उपहार, सेण्ट्रो कार

Share News

प्रभु मनी ट्रान्सफरले दशैं, तिहार र छठको अवसरमा बम्पर उपहारस्वरूप सेण्ट्रो कार दिने योजना सार्वजनिक गरेको छ । ‘प्रभुको पास लिऊँ, दशैं, तिहार, छठ खुशियालीसाथ मनाऊँ’ योजनामा एकजना ग्राहकलाई बम्पर उपहारस्वरूप कार दिने कम्पनीका बजार निर्देशक दक्ष पौडेलले बताए । छठको भोलिपल्ट उपहार विजेताको नाम घोषणा गर्ने उनले जानकारी दिए ।

भदौ २३ बाट सञ्चालनमा ल्याइएको उपाहार योजना कार्यक्रम कात्तिक २३ गतेसम्म चल्नेछ । यसमा कम्पनीले आफ्ना ग्राहकमध्ये प्रत्येक दिन दुईजनालाई रू. ५ सयबराबरको प्रिपेड मोबाइलको रिचार्ज कार्ड उपलब्ध गराउँदै आएको छ । यस्तो रिचार्ज कार्ड अहिलेसम्म ४४ जनाले प्राप्त गरिसकेका छन् । त्यस्तै, काठमाडौं–पोखरा हवाई टिकट प्रत्येक हप्ता एकजनालाई दिने पनि पौडेलले बताए । यस्तो उपहार तीनजनाले पाइसकेका छन् । त्यसैगरी प्रत्येक २१ दिनमा एक केजी चाँदी उपहार दिने योजना पनि सञ्चालनमा छ । उक्त उपहार पहिलोपटक जनकपुरकी कुसुमदेवीले पाएकी छिन् । यस्ता उपहार योजनाले कम्पनीको व्यवसायमा समेत सुधार भएको छ । अन्य समयको तुलनामा अहिले ९ प्रतिशतले व्यवसायमा वृद्धि भएको पौडेलले जानकारी दिए ।

युटिलिटी पेमेण्ट
प्रभु म्यानेजमेण्टले प्रभु गू्रपअन्तर्गत देशभरका शाखाबाट टेलिकम र डीटीएचको बिल भुक्तानी गर्ने सुविधा ल्याउने भएको छ । कम्पनीले नेपाल टेलिकम र एनसेलको रिचार्ज कार्ड तथा डीटीएच र टेलिकमका अन्य सुविधाबापतको भुक्तानीका लागि यस्तो सेवा सञ्चालन गर्न लागेको हो । यो योजनाले रेमिट्यान्सको रकमबाट सीधै विद्युत्, खानेपानीलगायतको बिल भुक्तानी गर्न सकिनेछ । यस्तो सेवा सञ्चालनका लागि प्राविधिक तयारी भइरहेको कम्पनीले बताएको छ । त्यस्तै ‘हेलो पैसा’सँगको सहकार्यमा डिजिटल माध्यमबाट रकम पठाउन मिल्ने सुविधा पनि सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले बताएको छ । हाल यस्तो सेवा बैङ्क तथा वित्तीय संस्थाले सञ्चालन गरिरहेका छन् । यसै योजनालाई प्रभु रेमिट्यान्सले सुविधा थप गरेर ल्याउने तयारी गरिरहेको बताएको छ ।

यो योजनामा कुनै पनि सामान हेलो पैसाबाट खरीद गर्ने व्यवस्था गरिने कम्पनीले बताएको छ । ग्राहकले आफूलाई आवश्यक परेको सामान घरबाट मोबाइलको प्रयोग गरेर खरीद गर्न सक्ने छन् ।

२९ हजार सहकारीबाट रेमिट्यान्स सेवा दिने तयारी
प्रभु मनी ट्रान्सफरले केही समयपछि २९ हजार सहकारीबाट रेमिट्यान्सको सेवा दिने तयारी गरिरहेको छ । अधिकांश व्यक्ति गाउँबाट विदेश जाने भएकाले कम्पनीले यस्तो सेवा गाउँसम्म पुर्‍याउन यस्तो योजना ल्याएको हो । अझ, दशैंतिहारजस्ता चाडपर्वमा सहकारीबाट दिने सेवा गाउँमा झनै प्रभावकारी हुन्छ । प्रत्येक गाविसमा सहकारी हुने भएकाले ग्राहकहरूले सजिलै सेवा लिन सक्छन् । अहिले कम्पनीले १ हजार २ सयभन्दा बढी सहकारीबाट सेवा दिँदै आएको छ । यसका बैङ्क तथा वित्तीय संस्था गरी ३ हजार ५ सयभन्दा बढी एजेण्ट छन् । संसारभरबाट रेमिट्यान्स पठाउन सकिने व्यवस्था गरिएको कम्पनीले बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।