एक दशक अघिसम्म निम्न तथा मध्यमवर्गीय नेपालीको घरमा टेलिभिजन हुनु पनि प्रतिष्ठाको विषय हुन्थ्यो । कम्प्युटर त विरलै देख्न पाइन्थ्यो । तैपनि सूचनाप्रविधिलाई नजिकबाट नियाल्ने मानिसहरूले कम्प्युटरको महत्व बुझिसकेका थिए । सोहीकारण पाटन निवासी समीर श्रेष्ठ उक्त समयमा इण्टरनेट सेवा लिन भर्खरै खुलेको इण्टरनेट क्याफे धाउने गर्दथे । आयातनिर्यातको व्यवसाय गर्ने उनी विदेशी ग्राहकसँग सम्पर्क स्थापित गर्न इण्टरनेट सेवा लिनुपरेको बताउँछन् । उनी भन्छन्, ‘भर्खरै नेपालमा इण्टरनेट सेवा भित्रिएको थियो । गति पनि उस्तै स्लो (विस्तारै चल्ने) थियो ।’ उक्त समयमा सेवा पनि अहिलेको तुलनामा अत्यधिक महँगो थियो । प्रतिमिनेट २ रुपैयाँ शुल्क बुझाएर इण्टरनेट सेवा लिएको अहिले कथाजस्तै भएको छ ।
त्यस्तै इखालखु बस्ने सुजन जोशी पनि विद्यार्थी जीवनमा आमासँग पैसा माग्दै साइबरमा च्याटिङमा व्यस्त रहन्थे । उतिबेला इण्टरनेटसँग खासै अभ्यस्त नभइसके पनि सर्फिङका माध्यमबाट विदेशमा रहेका आफन्तजनसँग च्याट गर्न तथा ई–मेल आदानप्रदान गर्न यसको प्रयोग उनी गर्दथे । यो बानीले कक्षामा अध्ययनका लागि आवश्यक अतिरिक्त सहयोगी सामग्री बटुल्नसमेत सहयोग पुगेको उनी बताउँछन् । उनी भन्छन्, ‘त्यो समयमा इण्टरनेट क्याफेको सुविधाको प्रयोग गरेबापत प्रतिघण्टा १ सय २० रुपैयाँ शुल्क लाग्थ्यो ।’
उक्त समयमा आफ्नै घरमा इण्टरनेट सेवा लिनु झन् महँगो थियो । क्याफेमा पनि कम गतिको इण्टरनेट सेवा प्रदान गर्न आफूहरू बाध्य रहेको सञ्चालकहरूको भनाइ छ । काठमाडौंमा दरबार साइबर क्याफे सञ्चालन गर्दै आएका रशेश दुलाल उक्त समयमा तीव्र गतिको इण्टरनेट सुविधा उपलब्ध गराउने चाहना भए पनि सेवाप्रदायक कम्पनीले कम गतिको इण्टरनेट सेवा दिएको बताउँछन् । डायलअप इण्टरनेट कनेक्शनको जमानामा एउटै लाइनबाट धेरै कम्प्युटरमा इण्टरनेट सुविधा पुर्याउँदा गति ढिलो भएको हो । तर, अहिले समय धेरै परिवर्तन भइसकेको छ । डायलअप कनेक्शनलाई तीव्र गतिको क्षमता भएको एडीएसएल, वाइफाईलगायत सेवाले करीब विस्थापित गरिसकेको छ ।
मोबाइलको सुलभताका कारण मानिसको हातहातमा इण्टरनेट सुविधा पुगिसकेको छ । त्यसैगरी, घरघरमा इण्टरनेट सेवा पुर्याउन इण्टरनेट सेवाप्रदायक (आईएसपी) कम्पनीहरू प्रतिस्पर्धा गर्न लागेका छन् । कम मूल्यमा बढी सुविधा दिन कम्पनीहरू इच्छुक देखिन्छन् । प्रयोगकर्तालाई कम मूल्यमा उत्कृष्ट सेवा दिने राम्रो अवसर छ । नेपालको प्रविधि क्षेत्रमा आएको यो विकासलाई सकारात्मक रूपमा लिन सकिन्छ । तथापि, अन्तरराष्ट्रिय बजारको तुलनामा नेपालीहरू अझै पनि इण्टरनेट सुविधाका लागि चर्को मूल्य तिर्न बाध्य रहेको आईएसपी कम्पनी सञ्चालकहरू बताउँछन् ।
विस्थापनको क्रममा साइबर क्याफे
परिवर्तित सयमसँगै अहिले इण्टरनेट सेवा सहज तथा सुलभ भइसकेको छ । सोहीकारण प्रविधिको साधारण ज्ञान भएका मानिस पनि सजिलै सुविधाको उपभोग गर्दै आएका छन् । तर, यही कारण व्यवसायका रूपमा सञ्चालित साइबर क्याफेहरू भने धमाधम बन्द हुने स्थितिमा पुगेका छन् । त्यसैगरी केही क्याफे नेटवर्किङका माध्यमबाट खेल्न मिल्ने गेम जोनका रूपमा परिवर्तन भएका छन् ।
पाटनमा केही वर्ष अघिसम्म सञ्चालनमा रहेको पाटन साइबर क्याफे अहिले गेमिङ जोन भइसकेको छ । क्याफेमा ग्राहकको अभाव भएपछि क्याफेलाई गेमिङ जोनमा परिवर्तन गर्नुपरेको सञ्चालक सञ्जीव महर्जनले बताए । त्यस्तै भक्तपुरको झि साइबर क्याफे पनि अहिले विदेशी पर्यटककै भरमा सञ्चालन भइरहेको छ । नगण्य सङ्ख्यामा आउने विदेशी ग्राहकले मात्र नपुगेर उनले मोबाइल रिचार्ज कार्डको पनि व्यवसाय शुरू गरेका छन् । व्यवसायले आशातित सफलता पाउन नसकेपछि क्याफे विक्री गर्ने सोच रहेको सञ्चालक सावन्त गिरि बताउँछन् ।
१ सय २० रुपैयाँ प्रतिघण्टा सेवाशुल्क लिने गरेको क्याफेमा अहिले २५ रुपैयाँ प्रतिघण्टा शुल्क रहेको छ । सेवाशुल्कमा अत्यधिक कटौती गर्दा पनि व्यवसाय चलाउन कठिन भएको उनको अनुभव छ । पर्यटकीय क्षेत्रमा खुलेकाबाहेक अन्य स्थानका क्याफे सञ्चालन गर्न झन् समस्या छ । त्यस्ता क्याफेमा नेपाल घुम्न आएका पर्यटकले नै भरिने हुनाले व्यवसायमा खासै असर नभएको पोखराका साइबर सञ्चालक सौरभ कुँवरले बताए । तथापि ‘फ्रि वाइफाई जोन’ले भने १५ देखि २५ प्रतिशतसम्म व्यापारमा असर परेको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।