संविधानसभा दोस्रो निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ४ बाट प्रत्यक्षमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका गगन थापाको फेसबूक वालमा प्रत्येक आधा घण्टाको फरकमा निर्वाचनसँग सम्बन्धित नयाँ स्टाटस अथवा तस्वीर फेरिइरहन्छ । उनी कहिले भोट माग्नका लागि घरदैलो कार्यक्रममा जाँदाको तस्वीर अपलोड गर्छन् त कहिले निर्वाचनमा आफ्नो एजेण्डासहितको स्टाटस । आइतवार पनि उनको फेसबूक वाल कपन क्षेत्रमा भोट माग्न जाँदाको तस्वीरले भरिएको देखिन्थ्यो । गुल्मी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका नेकपा एमालेका गोकर्ण विष्ट पनि कार्यकर्तासँगको भेटघाटको तस्वीर सकेसम्म छिट्टै फेसबूकमा अपलोड गरिरहन्छन् । उनको फेसबूकको कभर फोटो पनि अहिले प्रायः चुनावी प्रचारसँग सम्बन्धित छन् । निर्वाचन आयोगले निर्वाचनलाई केन्द्रित गर्दै आमसभा, जुलुस आदि प्रचारका लागि उम्मेदवारलाई सकेसम्म एक्लै नहिँड्न अनुरोध गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सामाजिक सञ्जालमा देखिन थालेको छ । त्यसैले, चुनाव नजिकिँदै गर्दा विभिन्न सामाजिक सञ्जालमा नेता कार्यकर्ताको चुनावी अभियान गगन थापा र गोकर्ण विष्टकै हाराहारीमा बढिरहेको देख्न सकिन्छ ।
सामाजिक सञ्जाललाई मतदातासम्म सन्देश पुर्याउने उपयुक्त माध्यम मान्छन् विष्ट । त्यस्ता सञ्जालहरूमा प्रस्तुत गरिएका विचार र तस्वीरमा आउने प्रतिक्रियाबाट आम मतदाताको मनोविज्ञान बुझ्न सहयोग पुर्याएको उनको भनाइ छ । उनी भन्छन्, ‘सामाजिक सञ्जालले उम्मेदवारलाई विचार प्रवाह गर्न र मतदातालाई आफ्नो सही प्रतिनिधि छनोट गर्न थप सहयोग पुर्याएको छ ।’ हुन पनि निर्वाचनको माहोल बढेसँगै फेसबूक प्रयोग गर्ने समय अलि बढेको उनी स्वीकार्छन् । ट्वीटरमा अलि बढी रुचि राख्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि निर्वाचन नजिकिएसँगै फेसबूकमा छाउन थालेका छन् । सङ्घीयता तथा राज्य पुनःसंरचनालगायत विषयमा आफ्ना विचार उनले यस्ता सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका भेटिन्छन् । उनको वाल तस्वीरले भन्दा पनि विचारले बढी भरिएका हुन्छन् । उनकै पार्टीका काठमाडौं क्षेत्र नं ६ का उम्मेदवार हिमाल शर्मा पनि फेसबूकमार्फत कार्यकर्ताको मन जित्ने प्रयास गरिरहेका भेटिन्छन् । उनले सकेसम्म आफ्नो पोष्टमा आउने सुझावको प्रतिक्रिया दिने प्रयास पनि गरेको पाइन्छ ।
करीब २० लाखभन्दा बढी फेसबूक प्रयोगकर्ता रहेको नेपालमा यस्ता सामाजिक सञ्जाललाई माध्यम बनाएर चुनावी प्रचारको काम दैनिक बढ्न थालेको छ । प्रविधिमा आममानिसको पहुँच बढेको र यसअघिका प्रचारका केही शैलीमा बन्देज लगाइएकोले पनि सामाजिक सञ्जालको सहयोग लिनुपरेको उम्मेदवारहरू बताउँछन् । यस्तो सूचीमा नेपाली काङ्गे्रसका रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, रामशरण महत, विमलेन्द्र निधि, एमाओवादीका वर्षमान पुन, अग्नि सापकोटा, देवेन्द्र पौडेल, नेकपा एमालेका माधवकुमार नेपाल, केपी आली, प्रदीप ज्ञवाली र ईश्वर पोखरेल पनि छन् । विशेषगरी प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरूले सामाजिक सञ्जालमा आफ्नो चहलपहल बढाएको पाइन्छ । मधेशवादी दलका केही उम्मेदवारहरू पनि यस्तो कार्यमा अघि देखिन्छन् ।
उम्मेदवार मात्र होइन, कार्यकर्ताले पनि चुनावी प्रचारका लागि सामाजिक सञ्जालको गजबले उपयोग गरिरहेका छन् । कार्यकर्ताले आफ्ना मनपर्ने उम्मेदवारलाई जिताउन उनीहरूले अपलोड गरेको फोटो शेयर गर्ने तथा स्टाटस पनि त्यही किसिमले लेख्ने गरेको पाइन्छ । त्यस्तै, उम्मेदवार र पार्टीको नै फेसबूक पेज बनाएर उनीहरूको समर्थन गर्ने तथा भोट माग्ने काममा कार्यकर्ता अग्रसर देखिन्छन् । दलहरूले निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र घोषणा गरिरहँदा कार्यकर्ताले फेसबूकमा त्यसका महत्वपूर्ण बुँदालाई आफ्नो स्टाटस बनाउने काम गरिरहेका छन् । आकर्षक फेसबूक पेज तथा नारा बनाएर पनि उनीहरूले उम्मेदवारका लागि भोट मागिरहेका भेटिन्छन् । नेपाली काङ्ग्रेसले प्रत्यक्षमा उठेका आफ्ना सम्पूर्ण उम्मेदवारको फेसबूक एकाउण्ट बनाइदिने घोषणा गरेको छ । त्यस्तै, आधिकारिक नै नभए पनि विभिन्न पार्टीहरूको नाममा पेज बनाएको फेसबूकमा देख्न सकिन्छ । सामाजिक सञ्जालले कार्यकर्तालाई उम्मेदवारको निर्वाचन एजेण्डा बुझ्न सहयोग गरेको त छ नै त्यसमाथि उपयुक्त उम्मेदवारको चयन गर्नसमेत सहयोग पुगेको देखिन्छ ।
केही स्वतन्त्र उम्मेदवारले समेत फेसबूकलाई चुनावी प्रचारको राम्रो माध्यमका रूपमा प्रयोग गरिरहेका छन् । आफ्नो निश्चित कार्यकर्ता नभएका त्यस्ता उम्मेदवारले आकर्षक योजना अघि सार्दै फेसबूकमा चुनावी अभियान तीव्र पारेका छन् । काठमाडौं क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका उद्यमी सन्तोष प्रधान, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई झापड हानेर चर्चामा आएका पदम कुँवरको नाममा समेत फेसबूक पेज बनेका छन् । कार्यकर्ता नभएको अवस्थामा फेसबूक प्रयोगकर्ताहरूमाझ आफ्नो धारणा प्रस्तुत गर्न उनीहरूका लागि यो उपयुक्त ‘प्लेटफर्म’ पनि भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।