विद्युत् खर्च घटाउने स्मार्ट मिटर

Share News

विद्युत् उत्पादन र वितरणको असन्तुलित प्रवृत्तिले पनि लोडशेडिङको भार थपिँदै गएको जलस्रोत विज्ञहरू बताउँछन् । यस्तोमा स्मार्ट मिटरको प्रयोगले विद्युत् खपतको भार घटाएर सन्तुलित विद्युत् प्रवाह गर्न सहयोग पुर्‍याउने उनीहरूको भनाइ छ ।

हिउँद नजिकिँदै छ । योसँगै लोडशेडिङको समय तालिका बढ्दै जाने विषयले आम नेपालीलाइ पिरोल्न शुरू गर्छ । हुन पनि आधा दिनभन्दा बढी समय लोडशेडिङको मार खेप्नुपर्दा स्वाभाविक रूपमा समस्या हुने गर्छ । यसको प्रत्यक्ष असर उद्योगहरूमा अझ बढी हुन्छ । कतिपय उद्योगले लोडशेडिङका कारण धेरै समय आफ्नो उत्पादन बन्द गर्नुपर्ने अवस्था आएको समाचार पनि सामान्य बन्छ त्यतिबेला । विद्युत् उत्पादन र वितरणको असन्तुलित प्रवृत्तिले पनि लोडशेडिङको भार थपिँदै गएको जलस्रोत विज्ञहरू बताउँछन् । यस्तोमा स्मार्ट मिटरको प्रयोगले विद्युत् खपतको भार घटाएर सन्तुलित विद्युत् प्रवाह गर्न सहयोग पुर्‍याउने उनीहरूको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान)का अध्यक्ष डा. सुवर्णदास श्रेष्ठ पनि स्मार्ट मिटरको व्यावहारिक प्रयोग गर्नसके हिउँदमा लोडशेडिङ घटाउन सकिने तर्क गर्छन् । लोडशेडिङ घटाउन मात्र नभई, यसको मुख्य प्रयोजन भने प्रयोगकर्ताको विद्युत् खर्च घटाउनमै केन्द्रित हुने उनको भनाइ छ ।  

स्मार्ट मिटर र नेपालमा सम्भावना
विद्युत् खपतबापतको समान शुल्क (ट्यारिफ)का कारण तत्काल नेपालमा स्मार्ट मिटर प्रयोगमा आउने सम्भावना धेरै कम रहेको इप्पानका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘यद्यपि, यसलाई प्रयोगमा ल्याउने वातावरण भने बनाउन सकिन्छ,’ उनी भन्छन् । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत्को ट्यारिफ फरक बनाउनुपर्ने उनको भनाइ छ । अहिले विश्वका धेरै राष्ट्रहरू पिक आवर र नर्मल आवरको ट्यारिफ फरक बनाउने प्रक्रियामा छन् । ‘यस्तोमा ट्यारिफलाई फरकफरक बनाउन कुनै समस्या हुँदैन,’ उनी भन्छन् । फरक ट्यारिफले प्रयोगकर्ताको विद्युतीय खर्च घटे पनि यसले लोडशेडिङको अहिलेको अवस्थामा त्यति फरक नपार्ने तर्क छ, नेपाल विद्युत् प्राधिरकणका प्रवक्ता शेरसिंह भाटको । उनका अनुसार नेपालमा विद्युत् प्रयोगको आमप्रवृत्तिमा त्यति धेरै परिवर्तन नआउने भएकोले ट्यारिफको फरक मूल्याङ्कन र स्मार्ट मिटरको प्रयोगले लोडशेडिङ घटाउन सहयोग पुग्दैन । त्यसमाथि स्मार्ट मिटरको प्रयोग गर्न हाल जडान गरिएका करीब २५ लाख मिटर हटाउनुपर्ने भएकोले यो तत्कालका लागि सम्भव नहुने उनको बुझाइ छ ।

नेपालमा अत्यधिक लोडशेडिङ हुने समयमा स्मार्ट मिटरको प्रयोगले तात्विक फरक नपार्ने प्राधिरकणको बुझाइ छ । लोडशेडिङको समयमा विद्युत् उपलब्ध हुने समयमा मात्र प्रयोगकर्ताले विद्युत् प्रयोग गर्ने हुनाले बढी प्रयोग गर्न नपाउने भएकोले पनि स्मार्ट मिटरको तत्काल आवश्यकता नरहेको भाटले बताए । तर, ट्यारिफको फरक मूल्याङ्कन गर्ने हो भने स्मार्ट मिटर उपयोगी हुने श्रेष्ठको तर्क छ । ‘पिक आवरमा राइस कुकरको प्रयोग गर्दा विद्युत्को बिल बढी उठ्छ भन्ने थाहा पाएपछि प्रयोगकर्ताले नर्मल आवरमै त्यो काम गर्न सक्छन्,’ उनले भने, ‘त्यसका लागि त पहिले पिक आवर र नर्मल आवरको शुल्क फरक गर्नुपर्छ ।’ वर्षात्को समयमा अत्यधिक विद्युत् उत्पादन (सरप्लस) हुने अवस्थामा त्यस्तो विद्युत् हिउँदमा प्रयोग गर्न पनि स्मार्ट मिटर सहयोगी हुने उनले बताए । पिक आवरमा विद्युत् प्रयोगको भार घट्न सकेमा पनि त्यस्तो विद्युत् उद्योगले अत्यधिक प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

अन्तरराष्ट्रिय अभ्यास   
विश्वका अधिकांश विकसित राष्ट्रहरूले स्मार्ट मिटरको प्रयोगलाई अहिले तीव्रता दिइरहेका छन् । विद्युतीय बिलका लागि उपभोक्तासम्म जानुपर्ने बाध्यता पनि स्मार्ट मिरटको प्रयोगले हटाइदिने भएकोले अत्यधिक जनसङ्ख्या भएका राष्ट्रहरूले पनि यसको प्रयोगको योजना बनाइरहेका छन् । अष्ट्रेलिया, अमेरिका, क्यानडा, इटली, जापान, नेदरल्याण्ड, न्यूजिल्याण्ड, बेलायत, स्पेनजस्ता विकसित देशमा स्मार्ट मिटर प्रयोग भइरहेका छन् । बेलायत सरकारले त सन् २०२० सम्म त्यहाँका सम्पूर्ण घरमा स्मार्ट मिटरको जडान गर्ने कार्यक्रम अघि सारेको छ । यसका लागि त्यहाँको सरकारले बजेटसमेत छुट्टयाइसकेको छ । छिमेकी राष्ट्र भारतमा पनि केही समयभित्रै यस्ता मिटर प्रयोगमा ल्याइने योजना बनाइएको छ ।



के हो स्मार्ट मिटर ?
स्मार्ट मिटर आधुनिक प्रविधिको प्रयोग गरिएको विद्युतीय मिटर हो । यसले घरघरमा जडान गरिने सामान्य विद्युत् मिटरको तुलनामा बहुउपयोगी सूचना उपलब्ध गराउँछ । यसमा प्रयोग गरिने सफ्टवेयरको आधारमा नै त्यस्ता सूचनाहरू उपलब्ध हुन्छन् । अत्यधिक विद्युत् प्रवाह हुने समय (पिक आवर) र सामान्य समय (नर्मल आवर)मा खपत भएको विद्युत् युनिट र त्यसको मूल्य, विद्युत् उत्पादक कम्पनीलाई प्रयोगकर्ताले उपयोग गरेको विद्युत्को जानकारी उपलब्ध गराउने यसका मुख्य विशेषता हुन् । स्मार्ट मिटर आफैले भने विद्युत् खर्च कम गराउने होइन । यसले विभिन्न समयमा भएको विद्युत् खर्चको जानकारी उपलब्ध गराएर प्रयोगकर्तालाई व्यवस्थित रूपमा विद्युत् प्रयोग गर्न सहयोग पुर्‍याउँछ । सामान्य मिटरको ठाउँमा यस्तो स्मार्ट मिटरको प्रयोग हुने गर्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।