काठमाडौं । नेपालमा ‘साहसिक पर्यटन’ विषयमा विश्वमै पहिलो स्नातकोत्तर तहको अध्यापन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपाल माउन्टेनीयरिङ एकेडेमीले आगामी शैक्षिक सत्र २०७६/७७ देखि उक्त विषयमा स्नातकोत्तर अध्यापन शुरू गर्न लागेको हो ।
पर्यटन र साहसिक पर्यटन क्षेत्रमा दक्ष व्यावसायिक शैक्षिक जनशक्ति उत्पादन गर्न यो कोर्स शुरू गर्न लागिएको एकेडेमीले जानकारी दिएको छ । उक्त एकेडेमी पर्यटन मन्त्रालय अन्तर्गतको प्रतिष्ठान हो । पाठ्यक्रम स्वीकृत भएर कक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको एकेडेमीकी अध्यक्ष लाक्पाफुटी शेर्पाले आर्थिक अभियानलाई जानकारी दिइन् ।
‘पर्वतारोहण लगायत साहसिक पर्यटनले नै नेपाल विश्वभर चिनिएको हो । तर, हामीले अहिलेसम्म पर्यटन मजदूर मात्र उत्पादन गरिरहेका थियौं,’ शेर्पाले भनिन्, ‘अब भने साहसिक पर्यटनको शैक्षिक जनशक्ति नै तयार पार्दै छौं ।’ यो संसारकै लागि मौलिक विषय भएकाले एकेडेमीले गिनिज बुक अफ बल्र्ड रेकर्डका लागि समेत प्रस्ताव गर्ने तयारी गरिरहेको उनले बताइन् ।
एकेडेमीले २ वर्षअघिदेखि ‘ब्याचलर्स इन माउन्टेनीयरिङ स्टडिज’को कक्षा सञ्चालन गरिरहेको छ, जसमा ३० जनाको कोटा छ । दुईवर्षे कोर्समा हाल ४५ जना अध्ययनरत छन् । ती सबै नेपाली विद्यार्थी हुन् । स्नातकोत्तर तहमा पनि ३० जनाको कोटा तय भएको छ । विदेशी विद्यार्थीले पनि स्नातक र स्नातकोत्तर दुवै कोर्स अध्ययनका लागि रुचि देखाएको उनले जानकारी दिइन् । ‘भिसा र परीक्षा प्रणाली लगायत समस्याले विदेशीलाई लिन सकिएको छैन । तर, हाम्रो उद्देश्य विदेशी विद्यार्थीले पनि पढ्न पाऊन् भन्ने हो,’ शेपार्ल भनिन् ।
व्यवस्थापन संकाय अन्तर्गत रहने स्नातकोत्तर कोर्स पनि २ वर्षको छ । यसमा साहसिक पर्यटन सञ्चालन तथा व्यवस्थापन, साहसिक पर्यटन र जोखिमको आनन्द, साहसिक पर्यटनमा स्वास्थ्य र सुरक्षा, पर्वतारोहण व्यवस्थापन, पर्यटन संकट तथा विपत्ति व्यवस्थापन, विश्वव्यापी पर्वत तथा पर्वतारोहण सम्बन्धी अध्यापन हुने एकेडेमीका प्रशासकीय अधिकृत उत्तमबाबु भट्टराईले जानकारी दिए ।
यस्तै, समकालीन पर्यटन विकास, ई–टुरिजम, नेपालका संरक्षित क्षेत्रका व्यवस्थापन, सांस्कृतिक सम्पदा सहितका विभिन्न विषय पाठ्यक्रममा राखिएको उनले बताए । ‘ब्याचलर्स इन माउन्टेनीयरिङ स्टडिज’का लागि नेपालीलाई ६ लाख, सार्क मुलुकका विद्यार्थीलाई ८ लाख र अन्य विदेशी विद्यार्थीका लागि १४ लाख रुपैयाँ शुल्क तोकिएको छ । नेपाली विद्यार्थीका लागि सरकारले सहुलियत पनि दिने गरेको छ । स्नातकोत्तरका लागि भने शुल्क तय हुन बाँकी रहेको र यस विषयमा त्रिभुवन विश्वविद्यालयले गृहकार्य गरिरहेको अध्यक्ष शेर्पाले जानकारी दिइन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।