पोखराबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफ्ट लन्चिङ

Share News
कास्की । पर्यटकीय नगरी पोखरामा नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन गरिएको छ । शनिवार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्षको औपचारिक उद्घाटन गरेका हुन् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष शुरू भएको हो । मुलुकमा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र आर्थिक समृद्धि हासिल गर्ने योजनामा सरकार रहेको छ । सोही योजना अनुसार पर्यटक प्रवद्र्धन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा पोखरामा सफ्ट लन्चिङ गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले समृद्धिको आधार पर्यटनलाई मानेर आफ्ना गतिविधि अगाडि बढाइरहेको बताए । उनले पर्यटकको बसाइ बढाउन गण्डकी प्रदेशले २३२ ओटा होम स्टे सञ्चालनमा ल्याइसकेको जानकारी दिए । मुख्यमन्त्री गुरुङले पर्यटनले नै देश विकास गर्ने भन्दै गण्डकी प्रदेशमा भातरबाट धार्मिक पर्यटक ल्याउन सकिने बताए । उनले भ्रमण वर्ष पोखराको फेवा किनारबाट शुरू गरिनुले पोखरालाई पर्यटनको राजधानीको मान्यता दिएको जिकिर गरे । उनले नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको बताए । ‘यो पोखराका लागि चुनौती र अवसर पनि हो, नेपालमा २० लाख पर्यटक आउँदा पोखराले ८ लाख पर्यटक भिœयाउनु पर्छ,’ उनले भने, ‘प्रदेश सरकारले अहिले यसका लागि २३२ ओटा होम स्टे पनि सञ्चालनमा ल्याएको छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटकको बसाइ लम्ब्याउने गरी आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिए । उनले सडक तथा हवाई यातायातमा सुविधा थप गरिने भन्दै तीनै तहको सरकार मिल्यो भने २० लाख पर्यटक भित्र्याउन कठिन नरहेको बताए । नेपाल भ्रमण वर्ष–२०२० का संयोजक सुरज वैद्यले नेपालमा धेरै भन्दा धेरै पर्यटक ल्याउन काठमाडौं विमान स्थललाई दशैंसम्ममा सुधार गरिने बताए । नेपाल पर्यटन वर्ष–२०११ का संयोजक सुरेन्द्र शाक्यले राजनीतिक अस्थिरताबीच पनि यस अवधिमा ५ लाख पर्यटक भिœयाएको स्मरण गरे । उनले हाल राजनीतिक समस्या समाधान भएकाले लक्ष्य प्राप्ति गर्न सफलता मिल्ने बताए । नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्य सम्पादन समिति सदस्य विप्लव पौडेलले अघिल्लो वर्ष ११ लाख बढी पर्यटक आएकोमा यो संख्या दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन लागेको जानकारी दिए । नेपालमा भित्रिने पर्यटकलाई आवश्यक जानकारी दिन नेपाल र भारतका सीमा नाकासहित सातओटा ठाउँमा ‘नमस्ते सेन्टर’ बनाउने तयारी सरकारले थालेको छ । पोखरासहित काँकडभिट्टा, जनकपुर, विराटनगर, भैरहवालगायत ठाउँमा पर्यटकलाई स्वागतसत्कार गर्न नमस्ते सेन्टर बनाउने काम अगाडि बढेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।